Comments Add Comment

बिहारमा बीजेपीले हार्दा नेपालका नेताले के सिक्ने ?

modi

अरुण बराल

२२ कात्तिक, काठमाडौं । बिहारको चुनावमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दल भाजपाले सर्मनाक हार व्यहोरेको छ । यो चुनाबी नतिजापछि भारतमा दुईवटा प्रश्न उठेका छन्ः एक- बीजेपीले बिहारमा किन हार्‍यो ? र, दोस्रो- यो हारले अब भारतमा मोदीको यात्रालाई कस्तो असर पार्ला ?

नेपालमा चाँहि सम्भवतः पट्यारलाग्दो नाकाबन्दीका कारणले हुनुपर्छ, बिहारको चुनावी नतिजाले दुईवटा प्रतिक्रिया उत्पन्न गराएको देखिन्छः एक- मोदीको पार्टीले हारेकोमा खुशियाली र दोस्रो- बिहारको चुनाबी परिणामले अब नेपाललाई कस्तो प्रभाव पार्ला भन्ने प्रश्न । के नीतिशकुमारको जीतले नेपाल र नेपालीलाई फाइदा पुर्‍याउला ? यसले नाकाबन्दीमा कुनै सकारात्मक प्रभाव पार्ला ? यस्ता प्रश्न उठेका छन् नेपालमा ।

सर्वप्रथम चर्चा गरौं, बिहारमा बीजेपी हार्नुका कारणबारे । र, यस विषयमा बीबीसी हिन्दी डटकमका बरिष्ठ पत्रकार मुकेश कुमारले गरेको विश्लेषण हेरौं:

भाजपाको ‘विकास र हिन्दुत्वको फर्मूला फेल’

बिहारमा भाजपाको हारका कारणहरुको खोजी सुरु भएको छ । केही मानिसहरु संघका प्रमुख मोहन भागवतले आरक्षणका बारेमा दिएको वयानलाई जिम्मेवार मानरिहेका छन् त कोही यसको कारण जातीय जोड-तोडमा खोजिरहेका छन् ।

त्यसो त भाजपाले यो प्रतिष्ठापूर्ण चुनाव जित्नका लागि सबै फर्मूला अजमायो । उसले गाई र पाकिस्तान जस्ता मुद्दालाई उठाएर साम्प्रदायिक धु्रवीकरणको पनि कोशिस गर्‍यो । तर, केही लागेन ।

यो सही हो कि विहारको चुनावमा मुद्दाको भीड लागेको थियो र भाजपा पनि हर मुद्दालाई भँजाउने कोशिसमा लागिरह्यो ।  तर, सच्चाइ यो हो कि उसको रणनीतिको केन्द्रमा लोकसभा चुनावमा विजय दिलाउने दुई प्रमुख मुद्दा यसपटक पनि केन्द्रभागमा थिए । यी मुद्दा थिए विकास र हिन्दुत्वका । भाजपाले मतदातालाई लोभ्याउनका लागि यी दुई मुद्दालाई जोडतोडले उठायो ।

प्रधानमन्त्रीले एउटा ठूलो प्याकेजको घोषणादेखि लिएर नयाँ विहार बनाउने प्रतिवद्धता व्यक्त गर्दासम्म विकासको आधारमा मतदातालाई आकषिर्त गर्ने कोशिस गरियो । पछिल्लो क्रममा आरक्षणलाई धार्मिक रंग दिने एवं गाई र पाकिस्तानको मुद्दा उठाएर हिन्दुत्वको सहारा लिइयो । तर, दुबै पटाका फुस्स भए ।

खासमा विकासको मामिलामा नीतिशकुमारको रेकर्ड विश्वसनीय थियो । कोही यो मान्न तयरा थिएनन् कि नीतिशकुमारले काम गरेनन् ।
यसले गर्दा उनको सरकारको विरोधमा सत्ताविरोधी लहर पनि देखिएन । यसको विपरीत चुनावी नतिजाले बताउँछ कि उनको पक्षमा लहर थियो ।

यो पनि एउटा वास्तविकता हो कि विकासको मापदण्डमा पछिल्लो डेढ वर्षमा मोदी सरकारको साख गिरेको छ ।  उनले न ‘अच्छे दिन’ ल्याउन पाए, न त महंगीबाट राहत दिन सके । हो, जनतामा जरुर बोझ बढ्यो । थाहै छ कि विकासको दाबीलाई उनले गम्भीरतापूर्वक लिएनन् ।

बिहारमा हिन्दुत्व कार्ड चल्ने बारेमा पहिलेदेखि नै सन्देश थियो । बिहारमा जातिगत राजनीति हमेशा शक्तिशाली रहेको छ । र, यसका लागि हिन्दुत्वको हतियारले त्यहाँ कमै मात्र काम गर्छ ।

फेरि हिन्दुत्वको कार्ड यति खुल्लमखुल्ला चल्यो कि सम्भवतः मतदातालाई यस्तो छलछाम मन परेन । यसको थप प्रभाव यो पर्‍यो कि अल्पसंख्यक समुदाय लालु-नीतिशका साथमा जमेर गोलबन्द भए । लालुको एम-वाई (मुस्लिम-यादव) समीकरण यसमा धेरै मजबुत भयो ।

तथापि भाजपाले जातीय राजनीति साँध्नमा पनि कुनै कसर बाँकी राखेको थिएन ।

राजविलास पासवान र उपेन्द्र कुसवाहा त उसका साथमा पहिल्यै थिए, तर जीतनराम माझी आउनुभन्दा पहिल्यै ऊ अझ आश्वस्त भएको थियो । पप्पु यादव आदिलाई साँधेर उसले लालु यादवको भोट बैंकमा निशाना लगाउने प्रवन्ध गरेको थियो ।

तर, सामाजिक न्यायका आधारमा पिछडिएको जातिमाथिको आफ्नो पकड बनाएका लालु यादव र नितीशकुमारका सामु उसको जोड-तोड असफल भयो ।

भाजपाको रणनीति ध्वस्त हुनुको एउटा ठूलो कारण नीतिश कुमारको नेतृत्व पनि हो । उनको छवि स्वच्छ एवं कामकाजी छ । भाजपाले उनी समक्ष कोही उम्मेद्वार खडा गरेन । मोदीलाई उनको मुकाविलामा उत्रिन निकै भारी पर्‍यो । (बीबीसी हिन्दी अनलाइनबाट)

नेपालको खुशीयाली र केही प्रश्न

बिहारमा मोदीको दलले चुनाव हार्दा नेपालमा यसको सकारात्मक वा नकारात्मक प्रभाव के-कस्तो पर्ला ? यसबारेमा अहिलेसम्म कतैबाट वस्तुगत विश्लेषण भएको छैन । र, विश्लेषण गर्न सहज पनि छैन । तथापि नेपालमा व्याप्त भारतविरोधी जनमतले मोदीलाई ‘खुच्चिङ’ भन्दै खुशी मनाएको सामान्य स्थिति अनुमान गर्न सकिन्छ ।

नेपाल भारत सम्बन्धका बारेमा कमल चलाइरहेका विश्लेषक अरुण सुवेदी भन्छन्- ‘खुशी मनाउनु स्वास्थ्यका लागि राम्रो हो, तर नीतिशकुमारले जित्दैमा नेपालमा तेल आउँदैन, नेपालमा तेल आउने भनेको भारतीय आयल कर्पोरेशनबाट हो, नाकाको अवरोध हटेपछि हो ।’

नेपालका मधेसी दलहरुले बिहारको चुनावी नतिजालाई कसरी हेरेका छन् भन्ने आफूलाई जनाकारी नभएको बताउँदै सुवेदीले अनलाइनखबरसँग भने-‘नेपालका मधेसी दलहरुको सम्बन्ध मोदी र बीजेपीसँग भन्दा बिहारका लालु, नीतिश, यूपीका मुलायमसिंह र कांग्रेस आइसँग नै राम्रो छ । मोदीसँग उनीहरुको विश्वासपूर्ण सम्बन्ध छैन ।’

भारतीय जनता पार्टीको सम्बन्ध विगतमा नेपालका हिन्दुहरु राजावादीसँग अपेक्षाकृत ािकट रहे पनि अहिले कमल थापा र बीजेपी वीचको सम्बन्ध बिग्रिएको सुवेदीको विश्लेषण छ । यो स्थितिमा बिहारमा बिजेपीले हार्दा र नितीश लालु गठबन्धनले जित्दा नेपालमा खुशी हुनुपर्ने वस्तुगत आधार खासै नरहेको उनी बताउँछन् ।

बिहारको चुनाव हारे पनि मोदी र बीजेपीको प्रभाव अरु राज्यहरुमा राम्रो रहेकाले यो खासै ठूलो इस्यु नहुने सुवेदीको तर्क छ । ‘तैपनि बिहारको चुनावले मोदीलाई घाइते बनाएको छ, अब उनी उग्र भए पनि नेपालमा त्यसको असर पर्न सक्छ,’ सुवेदीले अनलाइनखबरसँग भने- ‘अब बीजेपीबाटै मोदीमाथि प्रहार हुन थालेको छ, भारतीय मिडियाले पनि उनीमाथि आक्रमण सुरु गरेका छन् । पश्चिमाहरुले मोदीलाई घेर्ने सम्भावना यसबाट बढेको छ ।’

तर, एउटै व्यक्ति वा पार्टीले सबैतिर जित्नु राम्रो नहुने सुवेदीले बताए । ‘ उनले भने- ‘लोकतन्त्रमा सधैं एउटैले जित्नुपर्छ भन्ने छैन, एउटैले मात्रै जित्यो भने त त्यो तानाशाही भइहाल्छ नि ।’

डा. राजेश भन्छन्ः लालू-नीतिशले नाकाबन्दी चाहेका थिए

Rajesh Ahirajमधेस मामिलामा पीएचडी गरेका पत्रकार डा. राजेश अहिराजको भनाइ पनि लगभग विश्लेषक सुवेदीसँग मिल्दोजुल्दो छ । नेपालका मधेसवादी नेताहरुको सम्बन्ध मोदी र बीजेपीसँग भन्दा लालू र नीतिशकुमारसँगै राम्रो रहेको अहिराजले अनलाइनखबरलाई बताए ।

‘मधेस आन्दोलन नीतिश-लालू गठबन्धनको चाहना थियो, नेपालको बोर्डरमा आन्दोलन चलोस् भन्ने उनीहरुले चाहेका थिए,’ डा. अहिराजले अनलाइनखबरसँग भने- ‘आन्दोलनका बेला बिहारमा नीतिशकुमारको स्थानीय सरकारले मधेसीहरुलाई खान बस्न दियो, सामान आपूर्तिमा अवरोध गरेर आन्दोलनलाई सहयोग पुर्‍यायो ।’

मोदी सरकार र नेपालवीचको सम्बन्ध बिगारेर नीतिश-लालु गठबन्धनले चुनावी फाइदा लिएको अहिराजको दाबी छ । उनी भन्छन्-‘मोदीलाई नेपाल मामिलामा असफल देखाएर उनीहरुले बिहारमा बीजेपीविरुद्ध माहौल बनाउने कार्ड प्रयोग गरे ।’

अहिराजको तर्कअनुसार मोदी सरकार नेपालको नाकामा अवरोध नहोस् भन्ने चाहथ्यो, तर बिहारको नीतिश प्रशासनले आपूर्तिमा अवरोध गरेर त्यसको दोष मोदी सरकारमाथि खन्याउन सफलता पायो । मोदीको पार्टीले विहारमा चुनाव हारेको र नीतिशले जितेकोमा नेपालले खुशी हुनुपर्ने कुनै कारण नरहेको अहिराजले बताए । उनले भने- ‘नीतिशले जित्दैमा हामीले खुशी हुनुपर्ने स्थिति छैन, यो त कुरो नबझेर भइरहेको छ ।’

केही राजनीतिशास्त्रीय शिक्षा

बिहारको चुनावी परिणामले नेपालमा पार्ने अन्तरदेशीय प्रभावबारे विश्लेषण गर्न अलि कठिन भए पनि यो चुनावले पारेको राजनीतिशास्त्रीय प्रभावलाई बुझ्न चाँहि त्यति गाह्रो छैन ।

बिहारका नीतिश कुमार नेपालीहरुका लागि विगतदेखि नै एकजना रोल-मोडल राजनीतिज्ञ हुन् । उनको विकासको मोडेल हेर्न केही वर्ष पहिले डा. बाबुराम भट्टराईसमेत पटनासम्म पुगेका थिए । अब फेरि बिहारमा उनको पुनरोदयले नेपालमा नयाँ शक्तिको कुरा गर्नेहरुलाई पक्कै पनि मलजल गरेको हुनुपर्छ ।

नरेन्द्र मोदीजस्ता भारतमा मात्रै नभएर विश्वराजनीतिमै शक्तिशाली नेताका रुपमा उदाएका व्यक्तिलाई समेत चुपचाप चुनावमा हराउन सक्ने खुबी भएका नीतिशलाई कतिपयले भारतको भावी प्रधानमन्त्रीका रुपमा समेत हेर्ने गरेका छन् ।

भारतमा पुरानो विरासत बोकेको कांग्रेस आइजस्तो राष्ट्रिय पार्टीभन्दा क्षेत्रीय दलहरु प्रभावकारी देखिनुले अब नेपालमा पनि संघीय मोडेलभित्र त्यस्ता क्षेत्रीय पार्टीहरुले राष्ट्रिय पार्टीको विकल्पका रुपमा आफूलाई उभ्याउन सक्छन् भन्ने राजनीतिशास्त्रीय सन्देश बिहारको चुनावले दिएको छ ।

डेढ वर्षअघि भारतीय लोकसभामा सुविधासम्पन्न बहुमतसहित चुनाव जितेपछि नरेन्द्र मोदी कम शक्तिशाली बनेनन् । अमेरिकाको भ्रमणका बेला सिलिकन भ्यालीबाट उनले पाएको चर्चा विश्व राजनीतिमा अतुलनीय थियो । भर्खरै अफि्रकाको भ्रमणबाट पनि मोदीले भारतलाई विश्व राजनीतिमा माथि उठाउने मेहनत गरेकै हुन् । नेपाल र चीनको भ्रमण पनि उनको विश्वराजनीतिको एउटा सिँढी नै थियो ।

तर, भारतलाई विश्वमै मजबुद राष्ट्र बनाउने उनको अभियानमा भारतभित्रैबाट ‘डिस्टर्ब’ सुरु भइसकेको छ । यसैको पछिल्लो उदाहरण बनेको छ बिहारको चुनाव । मोदी जे चाहन्छन्, त्यहाँको ब्यूरोक्रेसीले उनलाई अघि बढ्न दिँदैन । नेपाल मामिलामा पनि उनी यसै गरी फसेका छन् । उनी दिल्लीमा फसे । अब बिहारमा फस्दैछन् ।

यसले राजनीतिमा नयाँ दृष्टान्त के दिएको छ भने हिटलरको सेना जसरी जतिसुकै वेगवान रुपमा दौडन खोजे पनि लोकतन्त्रमा जतिसुकै बलियो र भिजनरी शक्तिले पनि ‘जनता’का सामु हार्नुपर्ने रहेछ । पहिले दिल्लीमा केजरीवालसँग यस्तै भयो, अब बिहारमा यस्तै भयो मोदीका लागि ।

बिहारको यो नतिजालाई नेपालतिर सामान्यीकरण गरेर हेर्ने हो भने एकलौटी बहुमत ल्याउन नसकेका तर आफूलाई मात्रै जनताका असली प्रतिनिधि ठानिरहेका कांग्रेस एमालेलगायतका दलहरुले भोलि कुनै दिन हार्न सक्छन् ? यसबारे अहिल्यैदेखि विचार गर्न र तदनुरुपको व्यवहार गर्न बिहारको चुनावले नेपालका ठूला दलका नेताहरुलाई पाठचाँहि अवश्यै पढाएको छ ।

नेपालमा पनि भोलि कुनै नयाँ क्षेत्रीय दलले केन्द्रीय राजनीतिमाथि हस्तक्षेप गर्न सक्छ भन्ने पाठ बिहारले पढाएको छ । डेढ वर्षअघि नरेन्द्र मोदी भारतमा जति लोकपि्रय थिए, नेपालमा केपी ओली त्योभन्दा कमै लोकपि्रय छन् । र, सरकारमा गएपछि त्यो लोकपि्रयता खस्कँदो छ । यो. राजनीतिशास्त्रको नियमै रहेछ । नत्र लालु र नीतिशको गठबन्धन कसरी सम्भव हुन्थ्यो ? मोदीको प्रभाव किन खस्कन्थ्यो ?

नेपालमा स्वनामधन्य केही राष्ट्रवादीहरुको तर्क के छ जातीय राजनीतिको दिन गयो । तर, जातीय राजनीतिको दिन गएको तर्कका आधारमा अर्को जातिथवाद प्रदर्शन गरिरहेका नेताहरुले के सोच्ने बेला आएको छ भने अल्पसंख्यक एवं पिछडिएको समुदायलाई विश्वासमा नलिने हो भने हार व्यहोर्नुपर्दोरहेछ ।

बिहारमा मानिसको भन्दा गाईको बढी चिन्ता गर्दा बीजेपीको हालत कमजोर भयो । भोट गाईले हाल्ने होइन, मानिसले हो । नेपालमा पनि मधेसी, दलित र जनजातिलाई निरन्तर गाली गरेर आफूलाई राष्ट्रवादी शक्ति देखाउनेहरुले सोच्नुपर्ने भएको छ कि सातवटा प्रदेशमा थारु, मधेसी, मुस्लिम र आदिवासी जनजातिको विश्वास नजित्ने र उनीहरुप्रति सहिष्णु नबन्ने हो भने त्यस्ता दलहरुले भविश्यमा बीजेपीको हालत भोग्नुपर्ने हुन सक्दोरहेछ ।

बिहारमा बीजेपीको हार भनेको हिन्दुवादी साम्प्रदायिकताको समेत हार हो । र, धर्म निरपेक्षता एवं जातीय समावेशी राजनीतिको जीत पनि हो । आरएसएसजस्ता जातीय आरक्षणका विरोधीहरुको हार पनि हो बिहारको चुनाव ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment