Comments Add Comment

मधेस समस्या समाधानका लागि भारतीय राजदूतले सुझाए तीन विकल्प

Ranjit re (1)

२७ कात्तिक, काठमाडौं । नेपालका लागि भारतीय राजदूत रणजीत रायले मधेस समस्या समाधानका लागि तीन विकल्प सुझाएका छन् । साथै उनले नेपालले भारतसँग कस्तो सम्वन्ध चाहेको हो, त्यसबारे खुला बहसका लागि  आह्वान गरेका छन् ।

एभिन्यूज टीभीलाई दिएको अन्तरवार्तामा भारतीय राजदूत राय निकै खुलेर प्रस्तुत भएका छन् ।  राजदूत रायले मधेस समस्या राजनीतिक भएको पटकपटक दोहोर्याउँदै त्यसलाई राजनीतिकरूपमै समाधान गर्नु पर्ने बताए । साथै उनले यसका लागि तीन विकल्प रहेको समेत बताए।

‘पहिलो विकल्प यस्तै छाडिदिने । ६/८ महिना चल्छ, आन्दोलनकारीहरु आफैं थाक्छन् र पछि हट्छन् ।’ राजदूत रायले भने-दोस्रो, बल प्रयोग गरेर आन्दोलन दबाउने र तेस्रो वार्ता र सम्वादबाट समस्याको समाधान खोज्ने ।’

उनले अघि भने- ‘भारत चाहन्छ कि वार्ता र सम्वाद होस् र त्यसबाट निकास निस्कियोस् ।’ अहिले समाधान गर्न जति सजिलो छ भोलि त्योभन्दा निकै जटिल हुनसक्ने उनको धारणा छ ।

संविधान जारी गर्दाको दुई तिहाइ बढी बहुमत वैधानिक र प्राविधिक रुपमा सहि भएको तर, यसबाट मात्र जाँदा समस्या हुन सक्छ भन्ने आफूहरुलाई लागेको उनले बताए ।

निर्वाचनमा निकै कम सिटमात्र जितेका मधेसबादी दलले आन्दोलन गरिरहेको हुादा उनीहरुले कसरी जनमतको प्रतिनिधित्व गर्छन भन्ने प्रश्नमा राजदूतले भने- ‘मलाई लाग्छ जनता आन्देालित भएका छन् । जे सुकै कारणले होस्, त्यहाँका जनता आन्दोलित छन् । मधेसी मात्र होइन, सबै आन्दोलित छन् । यसको अर्थ समस्या छ, त्यसको समाधान गर्नुपर्छ ।’

समाधान त्यति कठिन नभएको र सबैले छिट्टै समाधान होस् भन्ने चाहेको उनले बताए । राजदूत रायले भने-‘मलाई आशा छ छिट्टै समाधान हुन्छ ।’

सरकार र मधेसी मोर्चाबीच सुरु भएको वार्ताप्रति आफू निकै आशावादी रहेको बेला वीरगञ्ज घटना भएको र यसले केही नकारात्मक भूमिका खेलेको राजदूत रायले बताए ।

आन्दोलनमा भारतको संलग्नता स्वीकार गर्दैनौं 

वीरगञ्जमा भारतीय नागरिक मारिएपछि मधेस आन्दोलनमा भारतीय नागरिकको संलग्नता पुष्टि भएन र भन्ने प्रश्नमा भारतीय राजदूत रायले भने- उनी १९ वर्षका निर्दोष युवक हुन् । उनलाई पछाडिबाट गोली लागेको छ । र, गोली लाग्दैमा आन्दोलनमा संलग्न भयो भन्ने कुरालाई हामी स्वीकार गर्न सक्दैनौं ।’

साथै उनले वीरगञ्जमा के भएको हो भन्नेबारे सरकारसँग जानकारी मागेको बताए ।

नेपाल र भारतबीच खुला सीमाका साथै बहुआयामिक सम्वन्ध रहेको भन्दै उनले अहिले मात्र होइन, राणा शासन, पञ्चायत शासन लगायतविरुद्ध भएको आन्दोलनमा पनि सीमा क्षेत्रका भारतीय नागरिकले आन्दोलनकारीलाई खाना खुवाउने गरेको बताए ।

यहाँ जे गरेपनि विरोध हुन्छ

भारतीय राजदूत रायले पछिल्लो समय नेपालमा बढ्दो भारतविरोधी भावनामा पनि खुलेर कुरा गरेका छन् ।

भूकम्पको बेला भारतले आफ्नै देशमा भूकम्प गएको झै गरेर मन खोलेर सहयोग गर्दा पनि विरोध भएको र अहिले पनि भइरहेको भन्दै उनले भने, कहिले काँही त मलाई लाग्छ यहाँ जे गरेपनि विरोध हुन्छ । यहाँको मानसिकता यस्तो भएको छ ।’

प्रदेशको सीमांकनमा भारतको चासो कोशी र कर्णाली नदीसँग जोडिएको आरोपलाई राजदूतले अस्वीकार गरे । नेपालसँग भारतले ६० भन्दा बढी वर्षदेखि जलस्रोतमा सहकार्य गरिरहेको भन्दै उनले अहिलेसम्म केही हात नलागेको बताए ।

एक पक्षले चाहँदैमा केही नहुने भन्दै उनले भने-‘जलविद्युतको ड्याम त पहाडमा बन्छ । समथरमा बन्दैन । मैले यो बुझेको छैन किन मानिसहरु भारतले कोशी र कर्णाली चाहन्छ भन्छन् ।’

जलस्रोतलाई इमोशनल विषय बनाइएको र राष्ट्रियतासँग समेत जोड्ने गरिएको भन्दै उनले भने- नेपालमा यस्तो मानसिकता बनेको छ की हामी केही गरौं भनेर प्रस्ताव गर्दा भारतले केही चालवाजी त गरिरहेको छैन भन्ने धारणा बनिहाल्छ ।’

जलविद्युतलाई व्यवहारिक रुपमा हेर्नु पर्ने भन्दै उनले भने-‘आजकल पनि राष्ट्रियता र स्वाधिनताको नारा लागेको छ । कहिँ न कहिँ तपाईहरुको राष्ट्रियता जोडिन्छ । मलाई लाग्छ भारतसँग कस्तो सम्वन्ध राख्ने खुला बहस हुन जरुरी छ ।’

भारतीय राजदूत रायले राजनीतिक स्वार्थका लागि यस्तो एजेण्डा उठाउने र त्यो पुरा भएपछि छाड्ने गरेको भन्दै उनले अब दुई पक्षबीच खुला र गम्भीर वार्ता हुनु पर्ने बताए ।

‘अब समय आयो कि नेपाल भारतलाई कुन आखाँले हेर्छ ? दलहरुले कसरी हेर्छन् ? भारत एक अबसर लाग्छ कि थ्रेट’ उनले भने- ‘ हामीवीचका यी सारा मुद्दालार्इ कार्पेट मुनी राख्नु हुँदैन । खुला बहस गर्नुपर्छ ।’

नाकाबन्दी तथा आपूर्ति अवरोध कहिले खुल्छ भन्ने प्रश्नमा भारतीय राजदूत रायले भने-यो तपाईहरुको हातमा छ । जब वीरगञ्ज रक्सौलको अवरोध हट्छ, आफैं खुल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment