Comments Add Comment

‘बिराटनगर नाकाबाट औषधि ल्याउन मधेसी मोर्चाकै असहयोग’

Biratnagar-Jogbani-Naka

९ मंसिर काठमाडौं । चौतफी दबावपछि मधेसी मोर्चाले मंसिर ३ गते काठमाडौंमा बैठक गरेर बिराटनगर नाकाबाट औषधि आउन दिने घोषणा गर्‍यो ।

तर, आज बुधबार दिउँसोसम्म रानी भन्सार नाकाबाट एउटा पनि औषधि बोकेका गाडी नेपाल प्रवेश गर्न सकेका छैनन् ।  मधेसी मोर्चाले घोषणा गरे जस्तो औषधि ल्याउने वातावरण नबनेको औषधि व्यवसायीले बताएका छन् ।

मधेसी मोर्चाले बिराटनगरबाट औषधि ल्याउन दिने घोषणा गरेकै भोलिपल्ट मंसिर ४ गते वीरगञ्जमा आन्दोलनकारीले औषधि बाकेको ना २ ख ८२९२ नम्बरको ट्रकमा पेट्रोल छर्किएर आगो लगाए भने लगातार दुई दिन विराटनगरमा विरामी बोकेको एम्बुलेन्समा तोडफोड भयो ।

असुरक्षाको कारण एम्बुलेन्स समेत चल्न छोडेपछि बिराटनगरबाट औषधि भित्र्याउन सहज र सुरक्षित छैन भन्ने निश्कर्ष निकालिएको नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले बताए ।

उनका अनुसार रि-रुटिङ गरेर गएका बिराटनगर पुगेका ४ वटा औषधिको गाडी सीमा पारी नै रोकिएका छन् । ‘बिरामी बोकेका एम्बुलेन्सलाई त छोडिएको छैन् । औषधि बाकेका ट्रकलाई सहजै छोडिन्छ भनेर कसरी विश्वास गर्नु ?’ अनलाइनखबरसँग कुरा गर्दै अध्यक्ष श्रेष्ठले भने ।

उनले अघि भने-‘निर्णय मात्र गरेर हुँदैन, त्यसअनुरुप वातावरण पनि बन्नुपर्छ । जोगबनीबाट औषधि ल्याउन दिने निर्णय कार्यान्वयन गर्न आन्दोलकारी पक्षबाटै असहयोग भएको छ ।’

औषधिका ट्रक पनि भारतीय जोगबनी भन्सारले हप्ता दिनसम्म रोक्ने गरेको छ । लामो रुट तय गेरेर जोगबनी पुग्ने गाडी पनि समयमै भन्सार पास नहुँदा व्यवसायीहरु समस्यामा परेका छन् ।

तर, मधेसी मोर्चामा आवद्ध सद्भावना पार्टीका महासचिव मनिष सुमन भने निर्णय कार्यान्वयन गर्न मधेसी मोर्चा तयार रहेको बताउँछन् ।

अनलाइनखबरसँग कुरा गर्दै सुमनले भने-हामीले बिराटनगर नाकामा औषधि रोकेका छैनौं । रातको समयमा भिजलान्तेहरु प्रयोग हुन सक्ने भएकाले दिउँसो ल्याउन दिने भनेका छौं ।’ उनले मधेसी मोर्चासँग समन्वय गरे आषौधि ल्याउन सहयोग गर्ने समेत बताए ।

‘औषधि वीरगञ्ज नाकाबाटै भित्रिन देउ’

काठमाडौंसहित देशभर औषधि अभाव भइरहँदा झण्डै साँढे ३ सय ट्रक औषधि भारतीय भूमिमा अलपत्र परेका छन् । अधिकांश औषधि रक्सौलको ट्रान्सर्पोट गोदामा अनलोड भइसकेका छन् ।

मधेसी मोर्चाले बिराटनगरबाट ल्याउन दिन भनेकै दिन भारतले पनि रि-रुटिङमा सहयोग गर्ने बताएको थियो । तर, रक्सौलमा रहेका औषधिहरु पुनः लोड गरेर फेरि जोगवनी ल्याउन पनि समस्या देखिएको छ ।

औषधि व्यवसायी संघका अनुसार पछिल्ला एक सातामामा भैरहवाबाट रि-रुटङ गरिएका ८ ट्रक औषधि नेपाल भित्रिएका छन् । त्यसबाहेक स्थल मार्गबाट औषधि भित्रिन सकेको छैन् ।

भारतले औषधि रि-रुटिङको अनुमति दिएपनि भन्सार पासमा सहयोग गरेको छैन । ‘अनलोड भएका औषधि बोक्न ट्रक खोजेर लैजानुपर्छ । अहिले इन्धन अभाव र असुरक्षाका कारण ट्रक पनि सजिलै भेटिँदैन । त्यसमाथि २० किलोमिटरको जामबाट कसरी रि-रुटिङ गर्ने ?’ श्रेष्ठले भने ।

नागरिकको जीवन-मरणको सवाल भएकाले वीरगञ्जबाट औषधिमात्र भएपनि भित्रिन दिन उनले मधेसी मोर्चासँग आग्रह गरे । ‘९० प्रतिशत औषध वीरगञ्जबाटै भित्रिने हो । त्यसैले धेरै औषधि गोदाम भित्र छन् । त्यसलाई निकालेर अन्य रुटबाट ल्याउन प्राविधिक रुपमा निकै समस्या छ’ श्रेष्ठले भने-‘वीरगञ्जबाट कमसेकम औषधि मात्र ल्याउन दिने निर्णय भएमा नागरिकको स्वास्थ्य रक्षा गर्न सकिन्थ्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment