Comments Add Comment

पर्यटनमन्त्रीको प्लान: नयाँ विमान किन्ने, दोस्रो विमानस्थल छिटो बनाउने

Ananda pokhrel (3)
१२ मंसिर, काठमाडौं । पर्यटनमन्त्री आनन्द पोखरेलले मुलुकमा हवाइ सेवा विस्तारमा जोड दिने बताएका छन् । उनले नयाँ विमानहरु किन्ने, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको स्तरोन्नित गर्ने र निजगढमा दोस्रो अन्तरराष्ट्रिय विमानस्थल चाँडो बनाउने योजना अघि सारेका छन् ।

‘बन्द हडतालका बेला अहिले हवाई सेवा राम्रो भइदिएको भए यात्रुहरुले यति धेरै दुःख पाउँदैनथे’ मन्त्री पोखरेलले भने- ‘हवाइ सेवालाई प्रभावकारी बनाउन सकिएमा नाकाबन्दीले समेत ठूलो असर पार्न सक्दैन ।’

विमान उडाउन सबैभन्दा पहिला विमानस्थल चाहिने बताउँदै मन्त्री पोखरेलले विमानस्थल पूर्वाधार विकासमा जोड दिने बताए । यससँगै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि)मा जहाजको संख्या बढाउने उनको योजना छ ।

नेवानिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानका लागि ४/४ वटा विमान थप्ने मन्त्री पोखरेलले अनलाइनखबरसँग बताए

नेवानिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानका लागि ४/४ वटा विमान थप्ने मन्त्री पोखरेलले अनलाइनखबरसँग बताए। अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा वाइड बडी र दुईवटा न्यारो बडी जहाज थपिनेछ । नेवानिले पनि यस प्रकृयालाई अगाडि बढाइसकेको छ ।

सरकारी स्वामित्वको राष्ट्रिय ध्वजावाहक जहाजहरु प्रशस्त हुनुपर्ने मन्त्री पोखरेलको अडान छ । ‘अहिले संकटका बेलामा नेवानिको जहाजले हवाइ इन्धन बोकेर आन्तरिक उडान धानिरहेको छ’ उनले भने- ‘यदि नेवानिको ठाउँमा कुनै निजी कम्पनी भइदिएको भए यस्तो सहयोग गर्दैनथे ।’

मन्त्री पोखरेलले विमानस्थल पूर्वाधारमा सबैभन्दा पहिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधारमा जोड दिने बताएका छन् । त्रिभुवन विमानस्थलमा सामान्य कुराको समेत सुधार गर्नुपर्ने देखिएको बताउँदै उनले पर्यटकले तारिफ गर्नेगरी सुधार गर्ने दाबी गरे ।

‘विमानबाट झरेदखि ट्याक्सी चढ्ने बेलासम्म पर्यटकले सहज महशुस गर्ने अवस्था छैन’ मन्त्री पोखरेलले भने- ‘त्यहाँको ब्युटी समेत परिवर्तन गरी अन्तर्राष्ट्रिय विमानस्थलजस्तो देखिने बनाउनु छ ।’

टर्मिनल भवनको लिफ्टमा होस् वा लगेज लिने ठाउँमा होस् निकै भीडभाड हुनेगर्छ । यसले पर्यटकलाई असहज पैदा गराउँछ । टर्मिनल भवनको लगेज लिने ठाउँमा भीड हटाउने, ट्रली सहज उपलब्ध गराउने, ट्वाइलेट सफा सुग्घर राख्ने र ट्याक्सीलाई व्यवस्थित गराउनेलगायतका सुधारका कामहरु क्रमिक रुपमा गर्ने मन्त्री पोखरेलले दाबी गरे ।

त्रिभुवन विमानस्थलको स्तरोन्नतीका काम पनि चाँडै सिध्याउन सम्बन्धित पक्षसँग पहल गर्ने मन्त्री पोखरेलले बताए । ‘त्रिभुवन विमानस्थल सुधार तथा स्तरोन्नतिका लागि प्रशस्त पैसा छ’ उनले भने- ‘पैसा भएर पनि समयमा काम नसकिनुमा कसको गल्ती छ ?’

त्रिभुवन विमानस्थलको स्तरोन्नतिसहित भैरहवा विमानस्थल, पोखरा विमानस्थल, प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल (एसआइए) निर्माणमा जस्तोसुकै अप्ठेरो आए पनि पन्छाएर अगाडि बढ्ने पोखरेलको भनाई छ ।

निजगढ विमानस्थल ‘सिंगल प्रोजेक्टका’ रुपमा बनाउनुपर्ने बताउँदै मन्त्री पोखरेलले लगानीकर्ता खोज्न आफु तयार रहेको बताए

विमानस्थल बनाउने होस् वा नेवानिमा जहाज थप्ने काम होस्, अप्ठ्यारो आइहाले त्यसलाई पन्छाउन आफुसँग आँट भएको उनले बताए ।
निजगढमा बन्ने दोस्रो अन्तरराष्ट्रिय विमानस्थलमा निर्माण गर्न सकेमा नेपाललाई ट्रान्जिट हब बनाउन सकिने सम्भावना छ । विमानको फोर्स ल्यान्डिङमा पनि सो विमानस्थल उपयोगी हुने मन्त्री पोखरेलले बताए । ‘यो विमानस्थल तराईका लागि आर्थिक समृद्धिको बाटो हो, तराईका जनताले छिटो बन्नुपर्छ भनेर दबाव दिए हुन्थ्यो भन्ने लागिराखेको छ’ उनले भने ।

निजगढ विमानस्थल ‘सिंगल प्रोजेक्टका’ रुपमा बनाउनुपर्ने बताउँदै मन्त्री पोखरेलले लगानीकर्ता खोज्न आफु तयार रहेको बताए । ‘भैरहवा विमानस्थल बनाउने कम्पनीले नै निजगढको पनि मलाई दिनुस भन्न आएको थियो’ उनले भने- ‘मैले समयमै भैरहवा विमानस्थलको काम सिध्याउनुस, त्यसपछि मात्र तपाईलाई निजगढको जिम्मा दिने विषयमा कुरा हुन्छ भनेको छु ।’

प्रस्तावित निजगढ विमानस्थलमा चार किल्ला गाड्ने, डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर) बनाउने, ठेकेदार खोज्ने, वित्तीय व्यवस्था गर्ने र विमानस्थल क्षेत्रका वासिन्दालाई अर्कै ठाउँमा स्थानान्तरण गर्ने काम तत्कालै सम्पन्न गरेर विमानस्थल निर्माण कार्य अगाडि बढाउने मन्त्री पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment