Comments Add Comment

मधेस आन्दोलनमा मृत्यु भएका चारको शवयात्रा सुरु

Saptari-Ma-Sabyatra

एस.के. शान

१२ मंसिर, सप्तरी । मधेस आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका तीन जनासहित चार जनाको शनिबार शव यात्रा निकालिएको छ ।

हजारौंको सहभागितामा निकालिएको शव यात्रा सिरहाको लहानसम्म पुगेको छ । राजविराजमा मृतकहरुको पार्थिव शरीरमाथि मधेसी मोर्चाका नेताहरुले अन्तिम श्रद्वाञ्जली दिएपछि शव यात्रा शुरु भएको थियो ।

संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावनाका अध्यक्ष राजेन्द्र महतो, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका केन्दि्रय सदस्य जयप्रकाश ठाकुर लगायतले श्रद्वाञ्जली अर्पण गरेका छन् ।

श्रद्वाञ्जली अर्पणपछि करिब १० हजारभन्दा बढी सर्वसाधारणको सहभागितामा शव यात्रा सुरु भएको छ । राजविराजबाट शुरु भएको शव यात्रा रुपनी, कल्याणपुर, कदमाहाहुँदै सिरहाको लहानसम्म पुगेर त्यहाँ केहि बेर श्रद्वाञ्जलीका लागि राखिनेछ ।

लहानबाट पुनः निस्केर सप्तरीको कंचनरुप नगरपालिका, भारदह, हनुमाननगर हुँदै राजविराज आएर शव यात्रा टुँगिने मधेशी मोर्चा सप्तरीले जनाएको छ ।

पूर्व पश्चिम राजमार्गमा धर्ना दिने क्रममा गत मंसिर ५ गते प्रहरीले भारदहमा चलाएको गोली लागेर डाढा गाविस ५ का बिरेन राम, रुपनीमा चलाएको गोली लागेर जमुनी मधेपुरा गाविस ९ निवासी नागेश्वर यादवको मृत्यु भएको थियो ।

यस्तै मंसिर ६ गते साँझ प्रहरीले चलाएको गोली लागेर राजविराज १ निवासी आफ्नै छतमा बसिरहेका दिलिप साहको ज्यान गएको थियो भने आन्दोलनका क्रममा भागदौडमा पर्दा करेन्ट लागेर जमुनी मधेपुरा गाविसका शिबशंकर दासको मृत्यु भएको थियो ।

शव यात्रा पश्चात मृतकहरुको शनिबारै अन्तिम संस्कार गरिने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment