Comments Add Comment

छोरीको बिहेमा बाबुरामको भाषणः बू्ढाको कुरा सुन्ने उखान फेरौं

Baburam-bhattrai

१ फागुन, काठमाडौं । नयाँशक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले ‘कुरा सुन्नु बुढा’को भन्ने उखान फेर्नुपर्ने बताएका छन् । साथै उनले विवाहबारे सैद्धान्तिक व्याख्या गर्दै ‘विवाह सफल भए मानिस सुखी बन्छ र असफल भए दार्शनिक बन्छ’ भन्ने भनाइको स्मरण गरेका छन् ।

‘विवाह सफल भयो भने प्रेममय हुन्छ, असफल भयो भने तपाई दार्शनिक बन्नुहुन्छ,’ शनिबार आफ्नी छोरी मानुषीको विवाह समारोहमा भाषण गर्दै डा. भट्टराईले भने- ‘विवाहले जीवनलाई पूर्णता दिन मद्दतै गर्छ, यो प्रकृतिको स्वाशत नियमको हामीले पालना गर्नुपर्छ । महिला र पुरुष एक अर्काविना हामी पूर्ण हुँदैनौं । त्यसैले विवाहले जीवनलाई पूर्णता दिन्छ ।’

भ्यालेन्टाइन डेको अघिल्लो दिन आयोजित विवाह समारोहमा डा. भट्टराईले प्रेम र विवाहको परिभाषा गर्ने प्रयास गरे । उनले भने- ‘प्रेम भनेको मानवताको सर्वोच्च अभिव्यक्ति पनि हो । यो प्रेमको सर्वोच्च अभिव्यक्ति र जीवनलाई पूर्णता दिने अवसर विवाह हो र यसलाई हामीले सम्मान गर्नुपर्छ ।’

हामी रुढीवादी भयौं

डा. भट्टराईले आफ्नो पुस्ताका मानिसहरुलाई रुढीवादी नबन्न र छोराछोरीको इच्छा अनुसार अघि बढ्न सुझाव दिए । ‘खासगरी म मेरा पुस्ताका साथैहरुलाई आग्रह गर्न चाहन्छु, हामी अत्यन्त कन्जरभेटिभ छौं । हामी हाम्रा सन्ततीहरुले हामीले भनेअनुसारै गरिदेओस् भन्ने चाहन्छौं,’ डा. भट्टराईले भने- ‘तर, मचाँहि के मान्यता राख्छु भने प्रत्येक पुस्ता सम्वृद्ध हुनुपर्छ, उन्नत हुनुपर्छ, सचेत हुनुपर्छ । हाम्रो पुस्ता भन्दा हाम्रा छोराछोरीको पुस्ता उन्नत हुनुपर्छ । र, हाम्रा छोराछोरीको पुस्ता भन्दा हाम्रा नाति नातिनाको पुस्ता उन्नत हुनुपर्छ ।’

डा. भट्टराईले छोराछोरी र नातिनातिनाबाट सिक्न आग्रह गर्दै भने- ‘त्यसैले हामीले जानेका छौं भनेर गर्व गर्ने होइन, हामीले हाम्रा छोराछोरीबाट सिक्नुपर्छ । नातिनातिनाबाट सिक्नुपर्छ ।’

‘बू्ढाको कुरा सुन्ने’ उखान उल्ट्याऔं

पुरानो जमानामा बूढाबूढीको कुरा सुन्नु ज्ञानको मुख्य स्रोत भएको भन्दै डा. भट्टराईले अब त्यो पुरानो उखानलाई उल्ट्याउनुपर्ने बताए ।

‘कुनैबेला ज्ञान विज्ञानको विकास भएको थिएन, श्रुतिमा आधारित भएर बूढापाकाहरुले जे भन्थे, त्यही मात्रै ज्ञानको स्रोत हुन्थ्यो । त्यसैले कुरा सुन्नु बुढाको भन्ने उखान भनिन्थ्यो तर, अब त्यसलाई उल्टाउनुपर्छ’ नयाँशक्तिका अभियन्तासमेत रहेका डा. भट्टराईले भने-‘कुरा सुन्नु बुढाको हैन, कुरा सुन्नु युवाको । कुरा सुन्नु नयाँ पिँढीको । हामीले यसो भन्न सक्नुपर्छ ।’

आफ्नी छोरीको विवाह नयाँ तरिकाले ‘स्टेज म्यारिज’का रुपमा भएकोमा आफू गौरवान्वित भएको बताउँदै डा. भट्टराईले भने-‘हिसिलाजी र मेरो विहे पनि यसैगरी भएको थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment