Comments Add Comment

म प्रधानमन्त्री रहुन्जेल कोही नेपाली भोकै मर्दैनन्: ओली

KP Oli

१७ वैशाख, इटहरी । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री रहुन्जेल कोही पनि नेपाली भोकै नमर्ने बताएका छन् ।

धरान नगरको सातौँ नगर अधिवेशन उद्घाटन गर्दै ओलीले कोही नेपालीले त्यस्तो समस्या भोग्नुपरेको भए तत्काल सरकारलाई सूचना दिन आग्रह गरे ।

भूकम्पमा नेपालका विभिन्न जिल्लामा आठ लाख घर तथा नौ हजार सरकारी कार्यालय तथा विद्यालय र ऐतिहासिक धरोहर लगायतको भौतिक संरचना ध्वस्त भएको स्मरण गराउँदै उनले गरिब अशक्त र विपन्न समुदायका लागि सामूहिक घर बनाउने योजना रहेको र ती चाँडै निर्माण गरी आगामी असारभित्र त्यस्ता परिवारलाई ओतमुनि ल्याइसकिने जानकारी दिए ।

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले एमालेले पनि भूकम्प प्रभावितका घर बनाउन विशेष तालिमप्राप्त स्वयम्सेवक परिचालन गर्ने जानकारी दिए । मधेसकेन्द्रित दलमध्ये तमलोपाका अध्यक्ष महन्थ ठाकुरसँग पनि भूकम्प प्रभावित क्षेत्रमा तराईका युवालाई स्वयम्सेवकका रुपमा खटाउन अनुरोध गरिएको जानकारी दिए ।

सरकारले यस वर्ष ल्याउने बजेटमा गरिबी निवारणका लागि आउने कार्यक्रमको खाका देखेर विपक्षीहरु अहिले नै तिलमिलाइसकेको उनको भनाइ थियो ,

प्रधानमन्त्री ओलीले  कोसी राजमार्गको जोगबनी–किमाथाङ्का जोड्ने सडक दुई लेनको हुने र त्यो दुई वर्षभित्र निर्माण गरिसक्ने सरकारको योजना रहेको जानकारी दिँदै धरानको पूर्वपट्टि सेउती खोलाका किनारबाट ‘बाइपास’ भएर त्यो सडक जाने पनि बताए । उनले धरान–चतरा–उदयपुर भएर हेटौँडा जोड्ने सडक पनि निर्माण हुने तथा हेटौँडा–काठमाडौँ जोड्ने सडकसँगै मेचीदेखि पश्चिम कञ्चनपुरसम्मको रेलमार्ग बनाइने बताए ।

प्रधानमन्त्री ओलीले धरानको बहुजातीय सङ्ग्रहालय निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए । साथै जमिन कमी रहेकाले त्यसको व्यवस्थापन गरेर धरानवासीले चाहेअनुरुपको बनाउन सरकार तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन् ।

संविधानमा केही छैन भनेर चित्त नबुझाउने सबैलाई सरकारका तर्फबाट सहमति र छलफलबाट समस्याको समाधान निकाल्न आह्वान भइसकेको बताउँदै प्रधानमन्त्री ओलीले शनिबार त्यही विषयमा छलफल हुने भएकाले सबै असन्तुष्ट दललाई बैठकमा भाग लिन आह्वान गरे ।

उद्घाटन समारोहमा धरान जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति कमाउन सफल खेलाडी राजेशकाजी शाक्य, कवि लक्ष्मी राई, सङ्गीतकार सुरेश गन्धर्व, साहित्यकार पूर्णबहादुर गुरुङ, रङ्गमञ्चकर्मी प्रेम सुब्बा, टेकबहादुर राई र राधा गुरुङलाई सम्मान गरिएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment