News Summary
Generated by OK AI. Editorially reviewed.- गायक प्रकाश सपूतले शाहरुख खानजस्तै लुगा, गेटअप, अनुहारको बान्की र शरीरको चाल मिलाउन खोजेको लेखमा उल्लेख छ।
- ‘बोल माया’देखि ‘गलबन्दी च्यातियो’सम्मका गीतले उनलाई हिट गायक बनाएको र पछि उनले फिल्म तथा राजनीतिमा पनि हात हालेको लेखमा भनिएको छ।
- लेखकले प्रकाशको शाहरुखप्रतिको मोह किशोरवयको बलिउड प्रभाव र ‘बसन्त’ फिल्ममा देखिएको रहरबाट आएको हुनसक्ने अनुमान गरेका छन्।
गायक प्रकाश सपूतलाई नियालेर हेर्नुहोस् त, शाहरुख खान बन्न खोजे–खोजेजस्तो देख्नुहुन्छ । शाहरुखको जस्तो लुगा लगाउन खोज्छन्, शाहरुखकै जस्तो गेटअप बनाउन खोज्छन्। त्यहाँसम्म त ठिकै छ । त्योभन्दा एक कदम अगाडि बढेर शाहरुख खानको जस्तै अनुहारको बान्की र शरीरको चाल पनि मिलाउन खोज्छन् ।
एउटा, दुईवटा मात्र होइन । अधिकांश फोटोमा उनी शाहरुख खान बन्ने यत्नमा देखिन्छन् । किन ?
जबकि नेपाली संगीतमा उनको आफ्नै छुट्टै नाम छ । ‘बोल माया’देखि ‘गलबन्दी च्यातियो’सम्मका गीतहरूले उनलाई ‘हिट गायक’का रूपमा उभ्याएकै हुन् । त्यसपछिका ‘पीर’, ‘कुरा बुझ्नु पर्च’ र ‘बदला बरी लै’जस्ता गीतहरूले प्रकाशलाई प्रतिभाशाली संगीत–सर्जकका रूपमा प्रमाणित गरिदिए। जसै बजारमा यी गीतहरू आए, ठूलै कम्पन पैदा गरिदि ए।
तर, उनलाई यी गीतहरूको ख्यातिले मात्र पुगेन । उनी गायकबाट नायकमा अवतरण गरे। ‘पूर्ण बहादुरको सारङ्गी’देखि ‘परदेशी’सम्मका फिल्ममा अभिनय गर्न पुगे । त्यति मात्र होइन, आफ्नै ब्यानरमा, आफ्नै निर्देशनमा, आफैँ हिरो बनेर उनले एउटा फिल्म बनाए, ‘बसन्त’।
हो, यही फिल्मपछि उनी कता कता विरक्तिएजस्तो भए । त्यसपछि उनले रापिलो राजनीतिमा हात हाले, रास्वपाबाट। अभिनेताबाट नेता हुन पुगेका उनले त्यहाँ पनि राम्रो छाँट देखेनन् ।
त्यसपछि उनी कहाँ जाऊँ, कहाँ भनेजसरी बरालिँदै छन् ।
केही समयका लागि उनले संगीत छाडे, केही समयका लागि उनले सिनेमा छाडे, केही समयका लागि उनले राजनीति छाडे । तर, शाहरुख खान छाडेका छैनन् । उनी अक्सर शाहरुख खानजस्तै देखिने यत्नमा देखिन्छन् । किन ?
यसो हुनुमा उनको किशोरवयको रहरले काम गरेको हुनुपर्छ। जतिबेला उनी भर्खर किशोर उमेरका थिए, त्यसबेला बलिउड अभिनेताहरूको प्रभाव बढी थियो । उनीहरूका पोस्टर भित्तामा टाँस्नेदेखि उनीहरूका फिल्म हेर्न मरिहत्ते गर्ने पुस्तामा प्रकाश पनि हुर्किए । यही क्रममा उनलाई शाहरुख खान बन्ने रहर जाग्यो । यस्तो रहर उनको फिल्म ‘बसन्त’मा पनि कहीँ कतै देख्न पाइन्छ । होइन त ?
प्रतिक्रिया 4