Comments Add Comment

भोजपुरका कृषक सतुवा खेतीमा आकर्षित

२२ वैशाख, भोजपुर। सतुवा खेतीबाट राम्रो आम्दानी पाइने थाहा पाएपछि भोजपुरको उत्तरी भेगका कृषक सतुवा खेतीतर्फ आकर्षित भएका छन् ।

satuwaजडीबुटी प्रजातिमा पर्ने सतुवाले पायल्स, मुटुको रोग, हाडजोर्नी, ढाड दुख्नेजस्ता २० प्रकारका रोगको नियन्त्रणमा प्रयोग हुने र महँगो मूल्यमा बिक्री गर्न सकिने थाहा पाएपछि उनीहरुको सतुवाखेतीमा आकर्षण बढेको छ ।

जङ्गलमा पाइने सतुवालाई गाउँघरमा सर्पदंश अर्थात् सर्पको मकै भनेर चिनिने गरेको छ । यसको पातलाई घाँसका रुपमा प्रयोग गर्दै आएका उनीहरुले विस्तारै जरासँगै बोट नै हराउन थालेपछि उनीहरुले सतुवाको बारेमा सोधीखोजी गर्दा अमूल्य जडीबुटी भएको थाहा पाएका थिए ।

जङ्गलको सतुवा लुकिछिपी चोरी निकासी हुन थालेपछि स्थानीयले सामुदायिक वनका समितिमार्फत रोक लगाएर आफ्नो बारीमा सतुवा फैलाउन थालेका छन् । सतुवाको सुकेको गानो प्रतिकेजी गाउँमै रु आठ हजारसम्ममा बिक्री हुँदै आएको छ ।

भोजपुरको उत्तरी गाविस साङपाङ, किमालुङ, बोयालगायतका गाविसमा खेती हुँदै आएको सतुवा बिक्री गर्नेबारे उचित ज्ञान नभएको कारण बिचौलियामार्फत बिक्री गर्दै आएको साङपाङ–६ का प्रेमदोची शेर्पाले बताए ।

केही वर्ष अघिसम्म गाउँका सीमित घरमा मात्रै खेती हुँदै आएको सतुवा अहिले प्रायजसोले खेती गर्न थालेका छन् । औषधि बनाउनका लागि विदेशमा महँगो मूल्यमा निर्यात हुने सतुवा गानो बनाएर र बिरुवाको नर्सरी लगाएर वार्षिक लाखौँको आम्दानी गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment