Comments Add Comment

सत्यनिरुपण आयोगबारे सेनाको चासो, महान्यायाधिवक्तासँग छलफल

सेनाको प्रश्नः व्यक्तिले लुरुलुरु वयान दिने कि संस्थाले ?

१२ जेठ, काठमाडौं । सत्यनिरुपण तथा मेलमिलाप आयोगले द्वन्द्वकालीन घटनाबारे मुद्दा दर्ता गरिरहेका बेला नेपाली सेनाले यसमा चासो देखाएको छ । आयोगले गरिरहेको कामबारे बुधबार सैनिक मुख्यालयले औपचारिक भेला नै आयोजना गरेर महान्ययाधिवक्तासँग छलफल गरेको छ ।

सेनापति राजेन्द्र क्षेत्री
सेनापति राजेन्द्र क्षेत्री

आर्मी अफिसर्स क्लबमा बुधबार आयोजित कार्यक्रममा द्वन्द्वकालीन मुद्दाका विषयमा आउन सक्ने चुनौतिबारे सेनाले आफ्ना बहालवाला एवं पूर्वजर्नेलहरुलाई सचेत गराएको हो ।

सत्य निरुपण तथा मेलमिलाप आयोगले गरिरहेको कामबारे प्रधानसेनापति राजेन्द्र क्षेत्रीले बहालवाला एवं पूर्वरथीहरुलाई जानकारी गराए । छलफलमा पूर्वसेनापतिहरु, रथीहरु, उपरथी र सहायकरथीहरु सहभागी थिए ।

भेलामा रक्षा सचिव महेशप्रसाद दाहालका साथै महान्यायाधिवक्ता हरि फुँयाललाई समेत निम्त्याइएको थियो । महान्यायाधिवक्ताको कार्यालयबाट समसामयिक विषयमा अन्तरक्रिया गरिएको सेनाले जनाएको छ ।

विषेश गरेर द्वन्द्वको समयमा विभिन्न क्षेत्रमा खटिएका तत्कालीन अधिकृतहरुलाई आयोगमा पर्न सक्ने उजुरीबारे सेनाले सचेत गराएको छलफलमा सहभागी एक पूर्वउपरथीले बताए ।

सैनिक प्रवक्ता एवं सहायक रथी ताराबहादुर कार्कीले सत्यनिरुपण तथा मेलमिलाप आयोगले गरिरहेको कामबारे बहालवाला तथा पूर्व रथीवृन्दहरुलाई जानकारी गराइएको बताए । अन्तरक्रियामा सत्य निरुपणका विषयमा छलफल भएको नेपाली सेनाले जारी गरेको वक्तव्यमा समेत उल्लेख छ ।

तर, कार्यक्रममा सहभागी एक जर्नेलका अनुसार बुधबारको अन्तरक्रिया सत्य निरुपण तथा मेलमिलाप आयोगका विषयमा मात्रै केन्दि्रत थिएन । कार्यक्रममा प्रधानसेनापतिले समसामयिक परिस्थिति र सेनाले खेलिरहेको कामका विषयमा बहालवाला एवं पूर्वजर्नेलहरुलाई बि्रफिङ गरेका थिए ।

साथै नेपाली सेनाको कल्याणकारी कोषबारे के कस्तो काम भइरहेको भन्ने विषयमा पनि जानकारी गराइएको थियो । अन्तरक्रिया कार्यक्रममा प्रधान सेनापतिले यसभन्दा पहिले अघि सारेको कार्ययोजनाको प्रगतिका विषयमा पनि छलफल भएको थियो ।

सेनाका जर्नेलहरुले आन्तरिक छलफल गरेर लञ्च खाइसकेपछि महान्यायाधिवक्ता कार्यालयका अधिकारीहरु पुगेका थिए । उनीहरुले सत्य निरुपण तथा मेलमिलाप आयोगले कसरी काम गर्छ, त्यससम्बन्धी कानून प्रावधान के छ र हाल हुनत लागेको संशोधन कस्तो छ भन्नेबारे सेनाका अधिकारीलाई जानकारी दिएका थिए ।

कार्यक्रममा सैन्य अधिकारीले सोधेका विभिन्न प्रश्नहरुको जवाफ महान्ययाधिवक्ता हरि फुँयालले दिएका थिए ।

सेनाको प्रश्नः व्यक्तिले वयान दिने कि संस्थाले ?

सत्य निरुपणबारे बुधबार भएको छलफलमा महान्यायाधिवक्ता फुँयालले द्वन्द्वकालीन घटनाबारे छानविन हुँदा व्यक्तिगतरुपमा भएका घटनामा संस्था नभएर व्यक्ति मात्रै दोषी हुने बताएको एक पूर्वजर्नेलले अनलाइनखबरलाई जानकारी दिए ।

संस्थागत एवं नीतिगत निर्णय भएकोमा संस्था दोषी हुने भए पनि बलात्कार लगायतका कतिपय फौजदारी अपराधका घटनाहरुमा संस्था नभएर व्यक्तिमात्रै जवाफदेही हुने फुँयालको भनाइ उधृत गर्दै सैनिक स्रोतले बतायो ।

कार्यक्रममा सहभागी एक पूर्वजर्नेलले अनलाइनखबरसँग भने- ‘सेना आफैं ब्यारेकबाट निस्केको होइन, दाङ ब्यारेकमा आक्रमण भएपछि सरकारले गरेको निर्णयअनुरुप हामी ब्यारेक बाहिर आएका थियौं । अहिले भटाभट उजुरी गरेर सेनालाई अपमानित गर्नु राम्रो होइन ।’

तर, आयोगले गर्ने छानविनका क्रममा नेपाली सेनाले असहयोग नगर्ने उनले बताए । आयोगमा व्यक्तिगतरुपमा लुरुलुरु वयान दिन जाने कि संस्थागतरुपमा प्रस्तुत हुने भन्ने टुंगो लागिनसकेको उनले बताए । उनले भने-‘वयान दिन जाँदा मैले त्यस्तो गरेकै होइन भन्ने त भइहाल्छ, तर व्यक्तिगतरुपमा लुरुलुरु वयान दिन जाने कि, सेनाको संस्थाले नै डिल गर्ने ? यो प्रश्न छ ।’

रुक्माङगद र छत्रमानको आत्मवृतान्तबारे चर्चा

यसैवीच नेपाली सेनाको कार्यक्रममा पूर्वप्रधानसेनापति रुक्माङगद कटवाल र छत्रमानसिंह गुरुङद्वारा लिखित आत्म वृतान्तका बारेमा पनि चर्चा भयो । त्यस्ता आत्मवृतान्तहरुले सेनाको गोपनीयता खोलेको भन्दै प्रधानसेनापति राजेन्द्र क्षत्रीले असन्तुष्टि जनाएको स्रोतले बतायो ।

कार्यक्रममा प्रधानसेनापति क्षत्रीले आत्मवृतान्त तथा सेनासम्बन्धी अन्य पुस्तक एवं लेख रचनाहरु लेख्दा सेनाको संरचनात्मक एवं गोपनीयतालाई ख्याल गर्न सबैमा आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment