Comments Add Comment

अर्थमन्त्रीसहित बजेट बनाउने ‘कोर टिम’ रातभर मन्त्रालयमा

यी हुन् बजेट निर्माणमा खटिएका प्रमुख हस्ती

badject ka sarathiharu

१४ जेठ, काठमाडौं । बजेट निर्माणमा संलग्न अर्थमन्त्रीसहितको ‘कोर टिम’ शुक्रबार बिहान ६ः४५ बजे अर्थ मन्त्रालयबाट निस्कियो । सिंगै रात बजेटको छलफलमा बिताएर उनीहरु सुत्नलाई बिहान निवास फर्केका हुन् ।

यो आजको मात्रै कुरा होइन । केही दिनयता बजेट निर्माणमा संलग्न उच्चस्तरीय टीम रातभर अर्थमन्त्रालयमा बसेर बजेट निर्माणमा सक्रिय छ । विगतका वर्षहरुमा पनि बजेट भाषणका अन्तिम दिनहरुमा यही शैली अपनाइन्थ्यो ।

शुक्रबार राती १०/११ बजेसम्ममा करका दरहरुसमेत राखेर प्रेसमा छाप्न पठाएपछि मात्रै आर्थिक वर्ष २०७३/०७४ को बजेटले पूर्णरुप लिन्छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार व्यवस्थापिका संसदमा आगामी आर्थिक वर्षको १० खर्ब ३० अर्ब रुपैयाँ हाराहारीको बजेट -आय-व्यय विवरण) पेश गर्नेछन् ।

यस्तो छ, बजेट बनाउने कोर टीम

विष्णु पौडेल

बजेटलाई चलचित्र मान्ने हो भने अर्थमन्त्री त्यसका हिरो हुन् । आगामी बजेटमा हिरोको भूमिकामा विष्णु पौडेल छन् । प्रधानमन्त्री ओलीका विश्वासपात्र भएकाले पौडेलले आफ्नो राजनीतिक जिबनमा पहिलोपटक अर्थमन्त्री बनेर राज्यकोषको ढुकुटीको साँचो हात पारे । उनका लागि यो जति अवसर हो त्यति नै चुनौति पनि हो ।

महिनादिन यता उनी बजेट निर्माण प्रक्रियामा असाध्यै व्यस्त छन् । बजेटसम्बन्धी विभिन्न आन्तरिक छलफल र कार्यक्रमहरुमा उपस्थित हुनु र योजनाहरु तयार गर्नुपर्ने भएकाले अर्थमन्त्रीलाई भ्याइनभ्याई छ । उनी डेढ महिनादेखि लगातारजसो बिहानै मन्त्रालय आइपुग्ने गर्छन् ।

डा. युवराज खतिवडा

यसपालीको बजेटको स्क्रिप्ट राइटिङ निर्देशकको भूमिकामा छन्, राष्ट्रिय योजना उपाध्यक्ष डा. युवराज खतिवडा । यसअघि कहिल्यै अर्थ मन्त्रालय नसम्हालेका र अर्थशास्त्रसमेत नपढेका अर्थमन्त्री भएकाले डा. खतिवडाले छायाँ अर्थमन्त्रीकोरुपमा मुलुकको अर्थतन्त्र हाँकिरहेको बताउने गरिन्छ ।

मौदि्रक नीतिमा विद्यावारीधी गरेका खतिवडाले यसअघि राष्ट्र बैंकको गभर्नर र योजना आयोगकै उपाध्यक्ष भएर अर्थतन्त्रको नाडी छामिसकेका छन् । बजेट निर्माणमा खतिवडाको संलग्नताले कमजोर राजनीतिक नेतृत्वको अभाव बिर्साएको छ । प्रधानमन्त्री केपी ओलीका विश्वासपात्र रहेका खतिवडाले एमालेलाई स्थापित गराउनेगरी बजेट ल्याउने भनेर प्रधानमन्त्रीलाई आश्वस्त पारेका छन् । बजेटको स्रोत समितिको संयोजक योजना आयोगको उपाध्यक्ष नै हुन्छ । उनले १० खर्बभन्दा बढी स्रोत जुटाउन सक्ने भन्दै बजेटको आकार बढाउन आएको राजनीतिक दबाबलाई समर्थन गरेका छन् ।

डा. चिरञ्जीबी नेपाल

बजेट निर्माणको कोर टिममा भएका अर्का व्यक्ति हुन्, राष्ट्र बैंकका गभर्नर डा. नेपाल । गभर्नर स्रोत निर्धारण समितिका सदस्य हुन्छन् । राष्ट्र बैंक नेपाल सरकारको सल्लाहकार पनि हो । सरकारले लिएको वित्तीय नीतिलाई सफल बनाउन राष्ट्र बैंकले सोही अनुरुपको मौदि्रक नीति अबलम्बन गर्नुपर्ने हुन्छ । त्यसैले बजेट निर्माण गर्दा सरकारले गभर्नरसँग पनि सल्लाह र सुझाब लिन्छ ।

यद्यपि उनले मन्त्रालयमै रात भने विताएका छैनन् । सरकारसँगको राजनीतिक विचारधारा फरक भएकाले कतिपय सूचनाहरु भने उनलाई पनि लुकाइन्छ ।

डा.गोविन्द नेपाल

बजेट निर्माण प्रक्रियामा अति नै व्यस्त रहेका अर्का व्यक्ति हुन्, अर्थमन्त्रालयका सल्लाहकार डा. गोविन्द नेपाल । अर्थशास्त्री नेपाललाई भ्याइनभ्याई छ । मन्त्रालयमै रात विताउनेमा उनी पनि पर्छन् । यस अवधिमा उनले अर्थमन्त्रीका विशेष दूतका रुपमा पूर्वअर्थमन्त्रीहरुसँग बजेटका लागि सुझाब लिए । साथै विभिन्न समुहहरुसँग छलफल गरेर त्यहाँबाट आएका विचारहरु अर्थमन्त्रीसमक्ष बि्रफ गर्दै आएका छन् ।

र, ६ कर्मचारी

आगामी आवको बजेट निर्माणमा कर्मचारीतन्त्रको नेतृत्व गर्न पाउने दुई भाग्यमानी व्यक्ति हुन्, अर्थका सचिव लोकदर्शन रेग्मी र राजस्व सचिव राजन खनाल । सम्पूर्ण स्रोतहरुको प्राविधिक व्यवस्थापन गर्ने जिम्मेवारी उनीहरुकै हो ।

अर्थ मन्त्रालयको सबैभन्दा महत्वपूर्ण विभाग हो, बजेट महाशाखा । रामशरण पुडाशैनी त्यसका प्रमुख हुन्, उनलाई २ महिनादेखि भ्याइनभ्याई छ । महाशाखाभित्र विभिन्न क्षेत्र हेर्ने विभागहरु हुन्छन्, त्यसैले मुलुकको सबै क्षेत्रको बजेटको सूचनासँग हुन्छ । उनले नै हो अर्थसचिव र अर्थमन्त्रीलाई सबै योजना तथा कार्यक्रमहरुको बारे ब्रिफिङ गर्ने ।

बजेट निर्माणको कोर टिमभित्र रहेका अर्का व्यक्ति हुन् डा. बैकुण्ठ अर्याल । अर्थशास्त्रमा विद्यावारिधी गरेका अर्यालले यसअघि लामो समय बजेट महाशाखामा रहेर काम गरे । अहिले उनी वैदेशिक सहायता समन्वय महाशाखाका प्रमुख हुन् । बजेतमा के कति र कसरी वैदेशिक स्रोतको परिचालन गर्ने भन्नेमा उनको महत्वपूर्ण भूमिका हुन्छ ।

त्यसैगरी अर्थ मन्त्रालयको राजस्व महाशाखा प्रमुख लक्ष्मण अर्याल र अनुगमन महाशाखाका प्रमुख मुकुन्द पौडेल पनि बजेट निर्माणको कोर टिममा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment