Comments Add Comment

माओवादीको जम्बो केन्द्रीय समिति र नयाँ शक्तिको उदय

Mani-Shresthaअहिले नेपालका दुईवटा शक्तिको बढी चर्चा छः एउटा नेकपा -माओवादी केन्द्र) र अर्को नयाँ शक्ति नेपाल । संयोग भनौं या अवसर, दुईवटै पार्टीको नेतृत्त पूर्वप्रधानमन्त्रीहरुले गरेका छन् । दुबै जनाको इतिहास एउटै छ । जनयुद्धको आडमा र जनमुक्ति सेनाको बलमा उनीहरुले नेपालको प्रधानमन्त्री बन्ने सौभाग्य पाएका हुन् ।

प्रचण्ड जनयुद्धका कमाण्डर थिए भने बाबुराम त्यसका सहयोगी थिए । यो मानेमा कि नेकपा -माओवादी) ले निर्माण गरेको जनमुक्ति सेनाका सर्वाेच्च कमाण्डर प्रचण्ड भएका बेला तत्कालीन माओवादीको सत्ता संयुक्त क्रान्तिकारी जनपरिषद नेपालका अध्यक्ष लालध्वज भनौं या बाबुराम नै थिए ।

आज आएर इतिहासले कोल्टे फेरेको छ । ०५२ साल पाल्गुण १ गतेबाट सुरु भएको जनयुद्धको उपलब्धिको रक्षा या यसको विकास कसरी गर्ने भन्ने विषयमा माओवादी विचार बोक्नेहरुले कुरा गर्ने गरेका छन् । विभिन्न उतार चढावका साथ माओवादी आन्दोलन अगाडि बढिरहेको छ । अहिले पनि माओवादी विचार राख्नेहरु या जनयुद्धमा प्रत्यक्ष सहभागी भएकाहरुको विभिन्न पार्टी निर्माण भएको छ । अनि ती पार्टीहरुका वीचमा एकता पनि हुने गरेको छ ।

माओवादी आन्दोलनलाई नियाल्ने हो भने निकै ठुला उपलव्धी र भुलहरु भएका छन् । माओवादी आन्दोलनले नै गर्दा आज नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य पाएको छ । अनि जनताले आफ्नो अधिकार रक्षाका निम्ति आवाज उठाउन सक्षम भएका छन् ।

कुनै बेला नेकपा माओवादीले जनतालाई प्रशिक्षण गर्दा शरीर सिरिङ्ग भएर आउँथ्यो । तर, आज माओवादीको बोलीमा कुनै प्रकारको जोस, जाँगर र उत्साह छ्रैन । माओवादी आन्दोलनका नाममा धेरै प्रकारमा चलचित्रहरु निर्माण भएका छन् । आज ती दिनलाई सम्झँदा ताजै लाग्छ, तल्ला घरमा वीरवहादुरले माओवादी आन्दोलनमा आफूलाई समाहित गर्दा ज्यान गुमाएको ।

जनमुक्ति सेनामा कमाण्डरको रुपमा चिनिएका नन्दवबहादुर पुन पासाङ नेपाली जनताले मुक्ति नपाउँदै आफूलाई उपराष्ट्रपति बनेका छन् । अनि धेरै नेताहरुले सुविधा पाएका छन् । कुनैबेला जनमुक्ति सेनाको घेराभित्र बस्ने नेता प्रचण्ड आज असुरक्षाको महसुस गर्दै नेपाली सेना र नेपाल प्रहरीको सुरक्षा घेरामा बसेका छन् । अनि आफुलाई जनताको नेता भन्न रुचाउँछन् ।

हिजो जनताको वलिदानलाई नेताहरुले मागी खाने भाँडोका रुपमा प्रयोग गरिरहेका छन् । वास्तवमा आजका माओवादी नेताहरु आदर्शको कुरा मात्रै गरिरहेका छन् । के माओवादी नेताका छोराछोरी तथा नातिनातिनाहरु सरकारी स्कुल मात्रै पढिरहेका छन् त ? यिनै माओवादी नेताहरु देशमा दुईखालको शिक्षा हुनु हुँदैन भन्छन् । यतिसम्म कि माओवादी नेताहरु आफू सरकारी स्कुल पढाउँछन् अनि आफ्ना छोराछोरीहरुलाई निजी विद्यालयमा पढाउँछन् । यस्तो छ माओवादी नेताहरुको प्रवृत्ति । यो प्रवृत्तिले गर्दा आज माओवादी बदनाम भएको छ ।

माओवादी आन्दोलनको कुरा गर्दै जाँदा प्रचण्ड र वावुरामको बारेमा छुट्टै पहिचान छ । त्यसबारे यो लेखमा सबै प्रष्ट्याउन सकिँदैन, माओवादीभित्रको प्रवृत्तिले गर्दा नै आज नयाँ शक्तिको उदय भएको हो । जब माओवादी उत्कर्षमा पुग्दै थियो, त्यसबेलादेखि नै माओवादी नेताहरुमा विलासिताको प्रवृत्ति मौलाउँदै गएको थियो ।
अहिले आएर माओवादी आन्दोलन दुई चिरामा विभाजित भएको एकाथरि माओवादी आन्दोलनबाट नै राज्य सत्ता परिवर्तन हुन सक्छ भनिरहेका छन् । अर्का थरी अब माओवादी आन्दोलनबाट जनताको मुक्ति नहुने विचार राख्दै आर्थिक समृद्धि सम्भव छ हाम्रै पालामा भन्ने नारा लिएर बाबुराम नयाँ शक्तिको निर्माण गरेर अगाडि वढिरहेका छन् ।

अर्कातिर माओवादी आन्दोलनबाट नै यो देशको विकास र आर्थिक समृद्धि सम्भव छ भन्दै प्रचण्डले माओवादी आन्दोलनको नेतृत्व गरिरहेका छन् । यति हुँदाहुँदै पनि माओवादी आन्दोलनमा लागेकाहरुले आफुलाई सुधार्न जरुरी रहेको छ ।

आज नेपालको इतिहास मात्रै होइन, विश्वको इतिहासमा नयाँ इतिहास रच्न सफल भएको छ । यो मानेमा कि माओवादी केन्द्रले भर्खरै मात्र १४ सय ९९ सदस्यीय केन्द्रीय समिति वनाएर विश्वको सवैभन्दा ठूलो केन्दीय समिति भएको कम्युनिष्ट पार्टी गठन गरेको छ । अर्कातिर बाबुराम भट्टराईको नेतृत्वमा काठमाण्डौको खुल्ला मञ्चबाट एक लाखभन्दा माथि कार्यकर्तालाई संस्थापक सदस्य बनाएर विश्वमा नयाँ शैली उपनाएका छन् ।

तर, आज पनि प्रचण्ड लाजिम्पाटका बलियो सुरक्षा घेरामा बसिरहेका बेला तिनै जनयुद्ध लडेका गाउँका पूर्वजनमुक्ति सेनाहरु आफूलाई समाजमा लज्जित भएर बाँच्न विवश छन् । यस्तो अवस्थामा वेपत्ता छानविन आयोगका प्रवक्ता प्रा.डा. विष्णु पाठकले संक्रमणकालीन न्यायले पार पाउनका लागि कम्तिमा दश वर्ष लाग्ने बताइरहेका छन् ।

कुनैबेला पेरुमा भएको आन्दोलनको धेरै वर्ष पछाडि गोञ्जालोको गिरफ्तारीपछि पनि त्यहाँको संक्रमणकाल अझै सकिएको छैन । १५ हजार नागरिक वेपत्ता भएकोमा अहिले २ सय ५० जनाले मात्रै न्याय पाएका छन् । यो हिसाबले कुरा गर्ने हो भने के प्रचण्डले अब दुरदराजमा रहेका पूर्व माओवादी योद्धा तथा जनमुक्ति सेनाका योद्धाहरुलाई समाजमा सम्मानजनक बाँच्ने दिन कहिले दिलाउलान् ?

यतातिर देशमा सबैले समान रुपमा वाँच्न र काम अनुसारको दाम पाउने नाराको साथ लडिएको जनयुद्धका अर्का हस्ती बाबुरामले अहिले यही देशका पूर्वप्रशासकहरुको भिड लिएर नयाँ शक्ति गठन गरेका छन् । बाबुरामले हिजो जसका विरुद्ध लडेका थिए, त्यसलाई साथ लिएर अगाडि बढेका छन् । यो हिसाबले बाबुरामले आफुलाई सधैं जनाखो राख्न जरुरी छ ।

(श्रेष्ठ माओवादी केन्द्र धनकुटाका प्रचार विभाग प्रमुख हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment