Comments Add Comment

भूकम्प प्रभावितलाई पहिलो किस्तामा डेढ लाख दिन प्रमुख दलहरू सहमति नजिक

सदन खोल्न कांग्रेस लचिलो, भोलि सहमतिलार्इ अन्तिम रूप दिइने

Kp-oli

१४ असार, काठमाडौं । भूकम्प पीडितलाई एकमुष्ट २ लाख दिनु पर्ने माग गर्दै सदन अवरुद्ध पारेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केही लचिलो भएको छ । र, भोलि सहमति भएर सदन सुचारु हुने अपेक्षा गरिएको छ ।

मंगलबार दिनभर चार पक्षबीच भएको छलफल सकारात्मक रहेको नेताहरुले बताए । साँझ भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली सन्चो नभएको भन्दै आफ्ना धारणा राखेर बैठकबाट बाहिरिएका थिए ।

छलफलमा कांग्रेसले भूकम्प पीडितलाई दिइने २ लाख एकमुष्ट नभई किस्ताबन्दीमा दिन सहमत देखिएको छ । तर, उसले पहिलो किस्ता डेढ लाख र दोस्रो किस्तामा ५० हजार दिनु पर्ने अडान लिएको छ । ‘यसलाई हामीले सकारात्मक रुपमा लिएका छौं र, भोलि प्रधानमन्त्रीसँग परामर्श गरेर निष्कर्षमा पुग्छौं’ राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले अनलाइनखबरसँग भने ।

उनका अनुसार बजेट व्यवस्थापन सम्भव भए नभएको विषयमा अर्थमन्त्रालयसँग परामर्श गरिनेछ । साथै विश्व बैंकसँग भएको सम्झौतालाई नकारात्मक प्रभाव नपर्ने भएमा मात्र यसबारे सहमति गर्न सक्ने प्रमुख सचेतक गिरीले बताए ।

दलहरुबीच भएको छलफलले अन्तिम रुप पाएमा ५० हजार लिइसकेका १ लाख ७६ हजार भूकम्प प्रभावितले थप १ लाख तत्काल पाउनेछन् । पहिलो किस्ता रकम नपाएकाले डेढ लाख पाउनेछन् भेन दोस्रो किस्ता ५० हजारको हुनेछ ।

यस्तै घर बनाइसकेका भूकम्प प्रभावित परिवारलाई एकमुष्ट दुई लाख रुपैयाँ दिन भने प्रमुख दलहरु सहमत देखिएका छन् ।

भूकम्प पीडितलाई एएकमुष्ट २ लाख दिनु पर्ने लगायतका माग राख्दै कांग्रेसले लगातार संसद अवरुद्ध पार्दै आएको छ । उसले प्रधानमन्त्रीलाई समेत सदनमा बोल्न नदिएपछि प्रमुख चार दलले कार्यदल नै बनाएर सहमतिको प्रयास थालेका थिए ।

मंगलबारको सहमति प्रयास लम्बिएपछि संसद बैठक भने सूचना टाँसेर भोलि बुधबार विहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment