विगत केही महिनाअघि बेलायतस्थित रोयल अल्बर्ट हलमा नेपाली कलाकारहरु ल्याएर भब्य कार्यक्रम भयो । अब नेपाली क्रिकेट टिम पनि बेलायत आएर खेल खेल्दैछ, त्यसैले भूकम्प पीडितको सहयोगार्थ भनिएको थियो । यस्ता धेरै कार्यक्रम विश्वभरि हुने गरेका छन् । कार्यक्रमपछि च्यारिटीको रकम कहाँ जान्छ, के हुन्छ ? बेखर हुनुले परदर्शिताको सवाल खड्किएको छ ।
विविध राष्ट्रिय-अन्तरराष्ट्रिय निकायहरुले अहिलेसम्म पीडितका नाममा च्यारिटी व्यवसाय चलाइरहेका छन् । तिनका वेबसाइटदेखि विज्ञापनमा नेपालका भूकम्प पीडितलाई सहयोग अझै मागिरहेको पाइन्छ । तर, सहयोग रकम पीडितसम्म पुग्ने नपुग्ने कुरा भने संशयपूर्ण रहने गरेको छ ।
नेपाली परिवेशमा सामाजिक सञ्जालसँगै बढेको नाम मात्रको देखावटी च्यारिटी पोलुसनले राज्य संयन्त्रदेखि जनस्तरमा हुने यस्ता कामको कार्यान्वयन खट्किँदै आएको छ ।
समाजमा च्यारिटी, समाजसेवा र सामाजिक व्यवसायिक उत्तरदायित्वका नाममा हुने गरेका केही अनियमितता र विकृतिप्रति चर्चापरिचर्चा गर्नु यो आलेखको उद्देश्य हो । समाजसेवा गर्ने, च्यारिटीका कुरा राम्रा हुन् । तर, पारदर्शिताको प्रश्न महत्वपूर्ण छ ।
भूकम्प पीडितका नाममा आएका सहयोग दलका नेताका घरमा भेटिनु, त्रिपाल सांसदहरुले लुछाचुँडी गर्दै लैजानुदेखि जस्तापाता बेच्ने र पीडितका नाममा आएको कोटामा प्रचण्ड र शक्ति बस्नेत लगायत नेताहरुका परिवारका सदस्य चीन घुम्न गएको खबरबाट हामी कोही अनविज्ञ छैनौँ ।
यी त प्रत्यक्ष मिडियामा आएका समाचार भएकाले हामीले थाहा पायौं, तर मिडियासम्म नपुगेका यस्ता धेरै तथ्यहरु छन्, जसले नेपालको गरिवी, बेरोजगारी, असमानता, युद्ध, शान्ति सबै कुराको च्यारिटी र सहयोगका नाममा ब्यापार चलाएको छ ।
अपारदर्शी च्यारिटी नाम मात्रका कि कामका ?
ब्यापारिक प्रयोजनका कार्यक्रमलार्इ पनि आकर्षण र मार्केटिंगका लागि च्यारिटी भन्दिने परिपाटी हावी छ । तर, काम चाहिँ ब्यापारिक र व्यक्तिगत देखावटी समाज सेवाका लागि गर्ने परिपाटी छ । अझ सामाजिक सञ्जाल फेसबुकमा देखाउनका लागिमात्रै गरिने परिपाटी पनि छ ।
च्यारिटीको दालभात र जाँडले यो महान समाजसेवी शब्द र कर्म दुबै बिटुलो पारेको छ । कार्यक्रम व्यवस्थापन महँगो हुन्छ । खर्च पनि हुन्छ । व्यवस्थापन खर्च र खट्नेको पारिश्रमिक काटेर कार्यक्रमपछि च्यारिटी मिसनमा के काम भयो भन्ने जानकारी पाइन्न ।
के हो र कसरी हुने गर्छ च्यारिटी फ्रड ?
-अबैधानिक चन्दा असुली, नाम एउटा काम अर्कै गर्ने क्रियाकलाप ।
– उठेको रकम अन्तै प्रयोग गरी नक्कली बिल बनाउने र आँखामा छारो हाल्ने ।
– नाम च्यारिटी भनेर सहयोग उठाउने र काम अरु नै गरेर नक्कली बिल र तथ्य बनाई ठग्ने ।
– बैंक खाता, व्यक्तिगत डाटा चोर्ने ।
– च्यारिटी, पीडित मानवहरुका सम्बेदना, विपद, प्रकोप जस्ता पीडाहरु बेचेर व्यक्तिगत स्वार्थ पूरा गर्ने ।
– सानातिना काम गरी च्यारिटी गरें भनेर व्यापारीहरुले ठूला ठूला फोटो र प्रचार गरी मान्छे झुक्याएर ठगी गर्ने ।
– सामाजिक सञ्जालमा देखाउन फोटो मात्रै खिचेर गरिने नाम मात्रको च्यारिटी गर्ने ।
के हो ब्यापारी-व्यवसायीले गर्ने जिम्मेवारी ?
व्यवसाय, पेसाकर्मी र हामी सर्बसाधारण पनि राज्यको ढुकुटीमा कर नतिरी कंगाल पारेर उत्तरदायी सरकारको राग अलाप्ने गरिरहेका छन् । कर छलेर गरिने समाज सेवाको ढोंग हास्यास्पद छ । अर्कोतर्फ सरकारी निकायको निकम्मापन, फर्जी विकास र सहायताबाट गरिने भ्रस्टाचारले जनाविश्वास गुमाएको अवस्था छ ।
व्यवसायीहरुले गर्ने भनिएका र ठूला विज्ञापन प्रचार गरिएका च्यारिटी कामको लेखाजोखा कसले गर्ने ? आज हामीले यो गर्यौं र त्यो गर्यौं भन्ने, तर कागजमा र सामाजिक सञ्जालमा फर्जी समाज सेवाको रिपोर्ट पेस गर्ने र जनता ठगिने परिपाटी जीवित छ ।
पुँजीवादको चरम विकासले मानव मर्म र संवेदनामा प्रहार गरी सबैकुरा पैसा र पुँजीमुखी बनायो । गत वर्ष यस प्रवृतिको विरोध गर्दै अकुपाई वालस्ट्रिट भन्दै विश्वको ठूलो वित्तीय बजार रहेको अमेरिकाको न्युयोर्क सहरको यो ठाउँलाई कब्जा गर्ने अभियान भन्ने नाम दिएको यो आन्दोलनले पुँजीवाद विरुद्ध उपहास र मानवता विरोधी कदमको विरोध गर्यो ।
व्यापारिक पक्षका च्यारिटी हेरौं । कर छल्ने ठुला कम्पनीका मालिक धनाढ्यको लिस्टमा परेर टाउको उठाएर हिँडेको हामी हेर्छौं । एनसेल जस्तो ठूलो व्यापारिक कम्पनीले समाजका लागि उत्तरदायित्व नाम मात्रको गर्यो, उल्टो राज्यलाइ तिर्ने रकम पनि नतिरेका खबर सुन्नु पर्दा दुःखको कुरा हो ।
विश्वमा कर्पोरेट फ्रड धेरै भएका उदाहरण छन् । नेपालले यी घटनाहरुबाट पाठ सिकेर दुरुपयोग रोक्न सक्छ । व्यवसायको उत्तरदायित्व सम्बन्धमा हाल बेलायतको ब्रिटिश होम स्टोर कम्पनीका मालिक तथा प्रवन्ध निर्देशक फिलिप ग्रीनले कम्पनीको पेन्सन फन्ड हिनामिनादेखि सक्दो दोहन गरी चरम घाटामा गएको कम्पनी कामदारहरुलाई अन्याय गर्दै कम्पनी एक पाउण्ड मूल्यमा बेचेको घटनाले तरङ्ग ल्याएको छ । यस्ता घटनाबाट एनसेल अनियमिततालगायत धेरै घटनामा नेपालले सिक्न सक्ने कुरा छन् ।
पुँजीवादको यस्तो विकृति सुधार्नका लागि नै ब्यापारमा व्यापारिक सामाजिक जिम्मेवारी कर्पोरेट सोसल रेस्पोन्सिविलिटी अनिवार्य जस्तै बनेको छ । कुनै पनि व्यापारको सफलता, व्यक्तिको सफलता र तिनले समाजमा गरेको सकारात्मक योगदानबाट मापन गरिने यो विधि अत्यन्त सकारात्मक र उपयोगी छ ।
उद्योग, व्यापार, पेसा आदिको सफलताको केही हिस्सा समाज र राष्ट्रको हितमा प्रयोग गर्नु सामाजिक व्यवसायिक जिम्मेवारी हो ।
समाज सेवालार्इ नै बस्तु र सेवा प्रवर्धन गर्ने काम पनि उत्तम उपाय हो । तर, यस्तो नाममा ठगिने धन्दा धेरै भएका छन् ।
कसरी गर्न सकिन्छ समाधान ?
विश्वका सबैभन्दा धनी बिल गेट्सले आफुले कमाएको सम्पतिको ९५ प्रतिसत २८ बिलियन अमेरिकी डलर च्यारिटीमा विश्वमा पोलियो उन्मूलनमा खर्चिन्छन् । अर्का अमेरिकी धनाढ्य वारेन बफेटले ११ बिलियन अमेरिकी डलर विश्वको सबैभन्दा बढी च्यारिटी रकम खर्च गर्नेमा नाम आउँछ । साउदीका प्रिन्स अल वहिद बिनले ३२ बिलियन पाउण्ड सामाजिक काममा लगाउँछन् । त्यस्तै सेलिब्रिटी, खेलाडीहरुले पनि समाजलाई आफुले कमाएको केही हिस्सा दिने गरेको पाइन्छ ।
विभिन्न सफल व्यवसायीहरुले आफ्नो व्यवसायका नाममा समाजमा सकारात्मक काम गरेर बजार प्रबर्धन गर्ने एक मार्केटिंगको अस्त्रको रुपमा प्रयोग गर्दै आएको पाइन्छ ।
सीएसआरले व्यवसायको सामाजिक छवि सुधार्नेदेखि व्यापारका सबै पक्षको हितमा काम गरेर समाजसेवा पनि सँगसँगै लैजाने अवसर प्रदान गर्दछ ।
यस माझ च्यारिटीको नाममा ठगी गर्ने कोर्पोरेटहरूको धन्दा पनि विश्वबजारमा नौलो हैन । तर, व्यवसायको नैतिक र कानुनी पक्षहरु व्यवहारिक तहमा सिक्दै गरेको अल्पविकसित मुलुकको हिसाबले नेपालमा झन् बढी फस्टाएको छ ।
समाधानको उपाय के त ?
च्यारिटी र ब्यापारको काम छुट्टिनुपर्यो । पीडितका नाममा धेरै सहयोगका खोला बगे । तर, झोला अर्कैका भरिएका छन् । कार्यक्रम सम्पन्न भयो भन्दै मिडियामा आउने फलानो ज्युको यस्तो उस्तो सफलतासँगै संक्षिप्त खर्च– आम्दानी विवरण पनि देखाइदिए च्यारिटीको पोलुसन कम हुने थियो कि ?
विदेशमा बसेका नेपालीहरु माझ च्यारिटी कार्यक्रम लोक्रप्रिय भए पनि पारदर्शी कम हुने गरेको छ
अनियमितता रोक्ने ठूलो उपाय भनेको जनचेतना र मिडियाबाट भन्डाफोर नै हो । साथै सामाजिक उत्तरदायित्व ननिभाउने कम्पनी र धनाढ्य एवं सेलिब्रिटीहरुलाई निरुत्साहित गर्ने नागरिक समाजले खोजीनीति गरेर पारदर्शी बन्न दबाव नदिए तुरुन्त तिनको च्यारिटी, व्यवसाय बहिस्कार गर्ने एउटा परिपाटी बसाउन अवश्यक छ । खुलेआम ठगी गर्नेहरुलाई भने प्रहरी प्रशासनमा उजुरी नै उत्तम विकल्प हो । ठगी रोक्न हदैसम्मका सजायँ र कानुनी प्रावधान रहेका छन् ।
त्योभन्दा बढी जनस्तरको निगरानी रहेको पाइयो । नेपालमा पनि च्यारिटीलार्इ फेसनका रुपमा बढाइँदै छ । यसलाई रोकेर असल कर्मका रुपमा प्रवर्धन गर्नु टड्कारो आवश्यकता देखिएको छ ।
विकसित देशहरुको उत्तम अभ्यास हेर्दा च्यारिटी ठगी नियन्त्रण गर्ने प्रहरी प्रशासनमा छुट्टै सेल भएको पाइयो । नेपालमा पनि प्रहरी र समाज कल्याण मन्त्रालयले विभिन्न कानुनी दायरा कडा गर्दै आएको देखिन्छ । तर, विदेशमा बसेका नेपालीहरु माझ च्यारिटी कार्यक्रम लोक्रप्रिय भए पनि पारदर्शी कम हुने गरेको छ ।
पारदर्शिता सम्बन्धमा बेलायतमा नेपालीहरुको समाज रोयल ग्रिनवीच नेपाली समाजले नयाँ बर्षमा गरेको भब्य कार्यक्रमबाट भएको खर्च र आम्दानी विवरण सार्वजनिक गरेकोदेखि गत हप्ता नयाँ शक्ति नेपालले पार्टी घोषणा कार्यक्रमका लागि उठाएको रकम र त्यसको खर्च विवरण सार्बजनिक गर्ने काम उदाहरणीय हुन् ।
यस्ता पारदर्शी क्रियाकलापले विकृति रोकेर जनविश्वास बढाउन मद्दत गर्छन् ।
अब साँचो अर्थमा च्यारिटी गर्नेलार्इ फ्रड च्यारिटीले बदनाम गर्ने परिपाटी रोक्न यस्ता समाज सेवाका कामहरुमा कति सहयोग उठ्यो, खर्च, लागत काटेर सम्बन्धित सेवा वा च्यारिटी मिसनमा कति रकम पुग्यो भन्ने विश्वासिलो सञ्चार दिन जरूरी छ । सबै असल भावना भएका समाजसेवी, ब्यापारी र कल्याणकारी व्यक्ति एवं संस्थाहरुलाई यो एउटा चुनौती थपिएको छ ।
अन्त्यमा,
समाज सेवा, मानव सेवा गर्ने भावना र कर्महरुप्रति प्रश्न प्रति प्रश्न कसैलाई आक्षेप लगाउनु र बिरोधका लागि बिरोध गर्नु यो पंतिकारको उद्देश्य होइन । मानव जीवनको उत्तम धर्म मानव सेवा हो, त्यो निभाउन उद्यत मन र सहयोगी हातहरुलार्इ निरुत्साहित गर्नु पनि यो आलेखको उद्देश्य हैन ।
नेपालमा सकारात्मक काम मनदेखि नै गर्ने, भ्रस्टाचार र कुशासनले सिर्जना गरेको अँध्यारोवीच राष्ट्र र जनतालाई सेवा गर्न उद्यत पवित्र दीयोहरुप्रति मेरो हृदयदेखि नै सादर नमन छ ।
तर, राम्रो गर्नेहरु भन्दा नराम्रो गर्ने बढी भएर राम्रो काम गर्नेलाई निरुत्साहित गर्ने क्रम बढ्दो छ । अँधेरीमा दियो बाल्ने भन्दा अँधेरीलार्इ सरापेर बस्ने जमात बढेको आभाष सामाजिक सञ्जाल र मिडियामा आउने कर्कस विरोध र लान्छनाले पुष्टि गर्छन् ।
नराम्रो काम गर्नेहरु देखावटी पालिस लगाएर घोर समाजसेवी बन्ने पानीमाथिका ओभानाहरुको जमात बढेको छ । र, राम्रो काम गर्नेलार्इ खुइल्याउने र खुट्टा तान्ने प्रवृति बढेको छ ।
(कार्की बेलायतमा ब्यापार प्रवर्धनमा अनुसन्धानरत छन् )
प्रतिक्रिया 4