+
+
Shares

जेलभित्रै ठगी, जोडिए ठगीमै सजाय काटिरहेका व्यक्ति

केन्द्रीय कारागार, सुन्धाराको थुनामा बसेका बेला राजेश विकलाई त्यहाँका कैद सजाय काटिरहेका दिनेश सिंह नामक व्यक्तिले ठगी गरेको पाइएको छ । उनी स्वयं ठगीसम्बन्धी कसुरमा कारागार पुगेका व्यक्ति हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३० गते २२:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले कारागारहरूलाई सुधार गृहका रूपमा परिणत गर्ने अवधारणा राखेपनि कैदीबन्दीले कारागारभित्र, बाहिर ठगी र अपराधमा संलग्न हुने घटना देखिएका छन्।
  • केन्द्रीय कारागार, सुन्धारामा रहेका राजेश विकलाई दिनेश सिंहले बाख्रा पालनको अनुदान मिलाइदिने भन्दै १ लाख ५० हजार रुपैयाँ ठगी गरेको पाइएको छ।
  • प्रहरीले ठगीको अनुसन्धान गरी सरकारी वकिललाई प्रतिवेदन बुझाउँदै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ।

३० असार, काठमाडौं । अचेल कारागारहरूलाई सुधार गृहका रूपमा परिणत गर्ने सरकारी अवधारणा छ । यद्यपि, कारागारमा बसेर छुटेलगत्तै व्यक्तिहरू अपराधमा संलग्न भइरहेका छन् ।

सामान्य कसुरमा सजाय भोग्न गएकाहरू झन् गम्भीर प्रकरणमा समातिएका उदाहरण छन् । छुटेपछि अपराध कर्ममा संलग्न हुने प्रवृत्ति त छँदैछ, कारागारभित्रै समेत कैदीबन्दीले एकअर्कालाई ठगी गर्ने गरेको पनि फेला परेको छ ।

सामान्यतः असल चालचलन भएका कैदीलाई कैद छुट सुविधा हुने भएकाले हम्मेसी उनीहरूले कारागारमा छँदा गलत काम गर्दैनन् भन्ने ठानिन्छ ।

तर, केन्द्रीय कारागार, सुन्धाराको थुनामा बसेका बेला राजेश विकलाई त्यहाँका कैद सजाय काटिरहेका दिनेश सिंह नामक व्यक्तिले ठगी गरेको पाइएको छ । उनी स्वयं ठगीसम्बन्धी कसुरमा कारागार पुगेका व्यक्ति हुन् । केन्द्रीय कारागारको रेकर्डअनुसार, उनी १५ कात्तिक २०८० देखि कारागारमा छन् ।

पीडित विकले ठगिएको महसुस गरेपछि जिल्ला प्रहरी परिसर, काठमाडौं अन्तर्गतको प्रहरी वृत्त, गौशालामा जाहेरी दिएका थिए । र, प्रहरीले उनी ठगिएको निष्कर्षसहित ठगीसम्बन्धी कसुरमा कारबाही गर्नुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाएको छ ।

सरकारी वकिलले त्यसको आधारमा जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता समेत गरिसकेको छ । यद्यपि, अहिले सिंहका साथी मीनबहादुरलाई मात्र प्रतिवादी बनाइएको छ ।

‘अहिले उनीविरुद्ध मात्र जाहेरी आएकाले एकजनालाई मात्र प्रतिवादी बनायौं,’ काठमाडौं प्रहरीका एक अधिकृतले अनलाइनखबरसँग भने, ‘पछि खुलेका बेला अरूलाई पनि प्रतिवादी बनाउन सक्नेगरी अभियोगपत्रमा ठाउँ राखिएको छ ।’

बाख्रा पालनको अनुदान मिलाइदिने भन्दै ठगी

प्रहरीका अनुसार, पीडित भनिएका राजेश विक केन्द्रीय कारागार, सुन्धारमा रहेका बेला अर्का आरोपित दिनेश सिंहसँग भेट भएको थियो । कारागारभित्र भेट भएर कुराकानी हुने क्रममा उनले विकासलाई बाख्रा पालनका लागि अनुदान मिलाइदिने भनेका थिए ।

केन्द्रीय कारागारमा छँदा चिनजान भएका व्यक्तिको प्रलोभनमा परेर बाख्रा पालनका लागि अनुदान पाउने आशाले रकम बुझाउँदा एक व्यक्ति ठगिएका छन् ।

विकले कृषि गर्ने योजना रहेको बताएपछि उनले त्यससम्बन्धी सहयोग गर्ने मान्छे रहेको बताएका थिए । ‘तर, बाख्रा पालन अनुदानका लागि पहिले केही रकम चाहिन्छ भन्दै मलाई विभिन्न प्रलोभनमा पारेर पैसा मागिएको थियो,’ विकले प्रहरी वृत्त, गौशालाका अधिकारीहरूसँग भनेका छन्, ‘उसले मेरो बाहिर काम गर्ने एक व्यक्ति छ, उसले नै सम्पूर्ण काम गरिदिन्छ भनेको थियो ।’

कारागारभित्र भेटिएका उनले बताएको कुरा आफूले पत्याएको र बाहिर रहेका भाइ गोवर्द्धन चुनारालाई रकम हाल्न लगाएको उनले भनेका छन् ।

‘भाइलाई घटनाबारे केही जानकारी नगराई पैसा हाल्न लगाएपछि सिंहले भनेअनुसार बाहिर काम गरिदिन्छ भन्ने व्यक्ति मीनबहादुर सिंहले रकम बुझेका थिए,’ उनले भनेका छन्, ‘सिंहले पाउने गरी पहिलो पटक मनी ट्रासन्फर आईएमईबाट नगद १ लाख रुपैयाँ र दोस्रो पटक ईसेवाबाट नगद ५० हजार रुपैयाँ गरी जम्मा १ लाख ५० हजार रुपैयाँ हालिदिएका थियौं ।’

तर, रकम बुझाएको लामो समयसम्म पनि काम नभएपछि उनले आफू ठगिएको महसुस गरेका थिए । पछि सम्पर्क गर्न खोज्दा उनको फोन पनि स्वीच्ड अफ आयो भने अन्य कुनै माध्यमबाट सम्पर्क भएन । त्यसपछि विक प्रहरी वृत्त, गौशालामा उजुरी लिएर पुगेका थिए ।

प्रहरीका अनुसार, विकले पैसा पठाएको भौचर, बैंक स्टेटमेन्ट लगायतका विवरणसमेत संकलन गरेर बुझाइएको छ ।
प्रस्तुत विवरणहरूबाट विक ठगिएको पुष्टि हुने भन्दै सरकारी वकिलले मुलुकी अपराध संहिता, २०७४ को ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ ।

अपराध संहिताको दफा २४९ को उपदफा (ग) मा यसरी ठगी गर्नेलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिबाना हुनसक्ने भनिएको छ । साथै, सिंहबाट १ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति स्वरूप भराउन समेत मागदाबी गरिएको छ ।

हालसम्म सिंह फरार छन् । प्रहरीले उनको खोजी भइरहेको जनाएको छ ।

विगतमा कारागारभित्र भएका ठगीका केही घटना सतहमा आउने गरेका थिए । २०७८ सालमा गठित एउटा छानबिन समितिले ललितपुरको नख्खु कारागारमा कैदीबन्दीका लागि राखिएका टेलिफोनमा दोब्बर, तेब्बरसम्म शूल्क लिएर ठगी गर्ने गरेको खुलेको थियो ।

जेलभित्र कैदीबन्दीका लागि उपलब्ध टेलिफोन आन्तरिक प्रशासनको टेलिफोन नाइकेमार्फत सञ्चालन हुन्छ । त्यसको दुरुपयोग गर्दै कारागारभित्र असुली हुने गरेको खुलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?