Comments Add Comment

‘जहाजको झ्याल खोल्दा गोरीको हप्कीदप्की’

 

plane-window-opening

२०६२ साल भदौ –

नेपालबाट घाम टाढा छ जस्तो लाग्थ्यो । तर, यहाँबाट एकदम नजिक । यहाँबाट आफन्तहरू एकदम टाढा तर नेपालबाट एकदम नजिक ।

विश्व मानचित्रमा खोज्दा विरलै भेटिन्छ देश- कतार । कतारकै राजधानी दोहा ।

हातमा हरियो राहदानी । केही वैधानिक कागजपत्र । नयाँ गन्तव्यको पृथक् उत्सुकता सँगाल्दै लगभग नेपालबाट पाँच घण्टाको उडानपश्चात् कतारमा अवतरित भयो ज्यान ।

यहाँको सेप्टेम्बर महिना । नेपालतिर त्यस्तै भदौ चल्दै थियो । निकै लामो समयदेखि मनमा रहेको ‘कतार’ पुग्ने खुल्दुली यहाँ आइपुगेर मेटियो ।

गज्जबको देश । टाउकैमाथि उदाउने रहेछ घाम । हिँड्न पनि टाउकैमाथि पैंताला राखेर हिँड्दो रहेछ । हेर्दा यस्तो लाग्थ्यो- यहाँबाट घामलाई पनि छुन सकिन्छ । यसैगरी मान्छेका टाउकामाथि खुट्टा राखेर हिँड्दा होलान् सायद जून-ताराहरू पनि ।

मज्जा आयो ।

पहिलोपटक जहाज चढ्दाको आनन्द म बखान गर्न सक्दिनँ । त्योभन्दा धेरै डरको भुमरी बनिरह्यो मनमा । चरा र चङ्गा उडेभन्दा पनि निकै माथिबाट उड्ने रहेछ यो जहाज । आँखाले देखेकै थिएँ । आज चढेर पनि अनुभव बटुलेँ । म धन्य भएँ ।

Meenraj-Basanta
लेखकः मीनराज बसन्त

जहाजको झ्यालपट्टि थियो मेरो सिट । खूबै चिहाएर तलतलसम्म हेरिरहन्थेँ । मैले घर छाडेसँगै छाडिएका थिएनन् मेरा वनमारा र सिस्नोजस्ता पीडाहरू । चट्टानजस्ता अभावहरू । हिमशृङ्खलाजस्ता समस्याहरू । बरू यी पनि मसँगै लपक्क टाँसिएर आएका थिए । कुनै निर्ममतापूर्वक चुस्ने जुकाझैँ ।

निकै तल…, बादल र हुस्सुका बडाबडा थुम्कैथुम्का देखिन्थे । परपर हुन्थ्यो पूरै निर्मल र खुल्ला आकाश । स्वच्छन्द आकाश । धर्तीबाट हेर्दा देखिने आकाश पनि यही हुँदो हो । तर, केही गरी यो जहाज खसे…., म झस्किन्थेँ । यिनै बादलका पहाडमा गएर जहाज ठोकिन्छ होला भन्ठान्थेँ । त्यसो भएको खण्डमा जीवन सँगसँगै सबै कुरा समाप्त हुन्छ ।

यस्तै-यस्तै कुरा मनमा खेलिरहन्थे । यस्तै-यस्तै कुरामा मन खेलिरहन्थ्यो ।

बेलाबेलामा जहाजको दिशा मोडिन्थ्यो । बाङ्गो टेढो बन्थ्यो रूट । म झसङ्ङ हुन्थेँ । डरले दुई खुट्टाका घुँडा जोडिन्थे । मलाई अरूको वास्ता-बेवास्ता केही थिएन । तर, औधी थियो आफ्नै ज्यानको माया ।

जहाज पनि शरीर किक्रिक्क पर्नेगरी ढल्किन्थ्यो, ढल्किँदा । ‘लौ अब सकियो जिन्दगी’ भन्नेसम्म बनाउँथ्यो । त्यसैमाथि छोटोछोटो पहिरन गरेका केटीहरू वारपार गर्दथे । केही इशारा गरेजस्तो गर्थे । दुई हात यता र उता नचाउँथे उनीहरू । छिन-छिनमै माइक बज्थ्यो । तर, के भनिरहेको छ भनेर बुझ्नु मेरो वशको कुरा थिएन ।

उनीहरूले टोकरीजस्तो भाँडो देखाएर मुखमा लगाउन सङ्केत दिन्थे । ज्याकेट देखाउँथे र उसैगरी लगाउनु भन्ने सङ्केत दिन्थे । यस्तो क्रियाकलापले मलाई अचम्ममा पार्थ्यो । अनौठो लाग्दथ्यो । बडो उत्सुकतापूर्वक हेर्थेँ उनीहरूलाई ।

मलाई चक्रपथ हुँदै हुइँकिने टुरिस्ट बस, निजी बाहनजस्तो लाग्यो जहाज । हिँडेको थाहै नहुने । थाहा नहुँदानहुँदै पनि फेरि थाहा लागिहाल्ने । कुनै आवाज नआउने । तर, आई पनि हाल्ने । खाल्डाखुल्डीमा उचाल्ने पछार्ने नगर्ने । कम्मरमा पेटी बाँध्नुपर्ने । एकदम आराम । भुतभुते गर्मीमा चीसोचीसो मौसम बनाएको थियो एसीले ।

हावा खान झ्यालको सिसा तान्न खोज्थेँ । मरिगए उघ्रिन्नथ्यो । एकपटक तानेँ । दुईपटक तानेँ । मरिकाट्टे खुलेन ।

नेपालका बसमा एकापट्टि दुई सिटको लस्कर मात्र देखेको थिएँ । तर, जहाजको एकापट्टि तीन सिटको लस्कर थियो । मेरो आडैमा कालो कपालवाली गोरी थिई । अर्कोमा मङ्गोलियन अनुहारको एकजना लोग्ने मान्छे थियो । गोरीको छेक पारेर उसले बेलाबखत मलाई हेर्ने गर्थ्यो ।

समय-समयमा चटपटे बेच्नेजस्तो ठेला लिएर सुन्दरीहरू वल्लोपल्लो छेउ आहोर-दोहोर गर्थे । म परदेखि वरसम्म हेरेर आँखा सेकिरहन्थ्यो । आँखामा अर्कै उज्यालो आभास गर्थें । यी आँखाले छुट्टै बाटो बनाएका रहेछन् तिनीहरूका लागि भनेर ।

उनीहरू सबैको शिरमा टोपी हुन्थ्यो । तल छोटोछोटो जामा हुन्थ्यो । रगत नै छैनजसरी गोरा र चिल्ला गोडा हुन्थे । त्यहाँदेखि माथि सुकिला साँप्रा देखिन्थे । खूब मनको गाग्रो छचल्किँदै आउँथ्यो भित्रैदेखि ।

सोच्थेँ- अझ त्यहाँमाथि के पो होला हाउ ।

Mudeer-Cover‘इस्कुज मी,’ पहिलो चरणमै मिठाइ लिएर आई एउटी सुन्दर कन्या । जहाजको यात्रा पहिलो थियो मेरो । केही सिक्नका लागि पनि पहिले अरूले लिएको हेरिराखेँ । कोही मुठ्याएर निकाल्थे । कसैले एक-दुईवटा निकाल्थे । कतिपयले शालीन सभ्यता देखाएर ‘भो’ भन्थे ।

उसो त म गुलियो कम, लाग्ने ज्यादा खाने-पिउने बानी । तैपनि सुन्दर बोइलीको सुगन्ध लिनकै खातिर फूलको ट्याटु खोपेको प्लेटबाट दुइटा मिठाइ निकालेँ ।

‘थ्याङ्कु’ भन्दै अर्को सिटतर्फ गतिशील भई त्यो कन्या । त्यतिबेलै मेरा आँखामा बिजुली चम्केझैँ एक झलक चम्किरही सुन्दरी । उसको पूर्ण शरीरबाट मुटुमै घोच्नेगरी मगमग बास्ना आइरहेको थियो ।

झ्याल खुल्ने मेरो आश अझै मरिसकेको थिएन । फेरि उसैगरी तान्न खोज्थेँ । परन्तु न समाउने चुकुल थियो, न उघार्ने डण्डी नै । कतै त्यसरी नभए यसरी पो खुल्छ कि भनेर हत्केलाले तलमाथि पनि सारिरहन्थेँ सिसा ।

कसैको ध्यान अरू कसैसँग थिएन । श्रीमतीको श्रीमान्‌सँग । बच्चाहरूको अभिभावकसँग । साथीहरूको सङ्गीसँग । सबै आ-आफ्नो धुनमा मस्तराम थिए । समयको सदुपयोग थियो कि स्वतन्त्रताको ? म जान्दिनथेँ । तर, संसार र समय बुझ्न एकपटक जहाज चढ्नु पनि आवश्यक रहेछ भन्ने लाग्यो ।

बस्ने सिट अगाडिको भित्तामा आफूपट्टि फर्किएको सानो चतुर्भुजाकारको टिभीजस्तो थियो । यस्तो प्रत्येक सिटमा हुँदो रहेछ । कस्तो खर्चिलो काम होला है ?

यसका जानकारहरू त्यही चलाएर बस्थे । त्यो टिभीजस्तोमा औंलाले कुचुकुचु घोचिरहन्थे । त्यहाँभित्रका चिजबिज पनि त्यही इशारामा निर्देशित बनिरहन्थे । म भने उनीहरूकै चाल हेर्दै बस्थेँ । यस्तो गर्न मैले जानेको पनि थिइनँ ।

बेलाबेला उनै सुन्दरीहरू घुम्दै फिर्दै नजिकै आइपुगिहाल्थे । आँखा चिम्लिए तापनि नाकले गन्धको पहिचान गर्दथ्यो । कताकता सुगन्ध नाकसम्म आएर ठोकिन्थ्यो । अङ्ग्रेजी जान्नेले सोध्थे । दोहोरो संवाद पनि हुन्थ्यो उनीहरूबीच । तर, म उनीहरूको ल्याङफ्याङ भाषा बुझ्दिनथेँ ।

‘ओ ! नो.. नो…,’ पखेटाजसरी फड्फडाउँदै गोरीले दायाँबायाँ हात हल्लाई ।

धेरैपटक मैले झ्याल खोल्न खोज्दा नखुलेपछि छेउकी गोरी केके न बिगार गरेझैं कराई । कराई मात्र होइन, धेरथोक भनी । तर, मैले बुझिनँ । बस्, यत्ति बुझेँ, ‘ओ ! नो.. नो… ।’

ममा यसको अर्थ स्वतः लाग्यो । पक्कै पनि यो झ्याल खुल्दैन भनेकी हो कालो कपाल भएकी गोरीले । त्यसपछि मात्र थोत्रा कवाड भाँडाकुँडाजस्तै चुपचाप थन्किएको थिएँ म ।

(शिखा बुक्सले प्रकाशन गर्न लागेको मीनराज बसन्तको पहिलो उपन्यास ‘मुदिर’ साउन अन्तिम सातादेखि बजारमा आउँदै छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment