Comments Add Comment

हामी दलका आधुनिक दास

‘आधुनिक दास’ का रुपमा नेपाली कामदारलाई काम गराई विश्वकप फुटबलका लागि स्टेडियम निर्माण गरेको आरोप कतार सरकारमाथि लागेपछि त्यहाँका धेरै कानुनहरु सुधार भए । कामदारका सुविधा थपिए । बेलायतस्थित अंग्रेजी पत्रिका द गार्डियनमा छापिएका खबरले कामदारहरुलाई आधुनिक दासका रुपमा गरिने व्यवहारमा परिवर्तन मात्र भएन, सुरक्षित काम र बढी तलवको व्यवस्था पनि गरियो ।

shyam-Luitelमानिसलाई दासका रुपमा घरमा राख्ने र काम लगाउने व्यवस्थालाई सदियाैं अघि गोराहरुले कानुनी रुपमा अन्त्य गरी दण्डनीय व्यवस्था गरे । नयाँ पुस्ताले त्यस्तो संस्कृति थाहा नै पाएनन् । राज्य सञ्चालन नै कानुनी आधारमा भएको व्यवस्थामा हुर्किएकाले दासत्व स्वीकार गर्ने वा त्यो मानसिकतामा कहिल्यै हुर्कनुपरेन । त्यसैको फलस्वरुप प्रमुख प्रतिपक्षी राजनीतिक दल, सत्तासीन दल र अन्तर्राष्ट्रिय प्रभावमा नपरी स्वतन्त्र निर्णय गर्दा बेलायत युरोपियन युनियनबाट बाहिरिने पक्षमा बहुमत आयो । जसको परिणाम केही वर्षभित्रै कार्यान्वयनमा आउनेछ ।

तर, नेपालको सन्दर्भमा यसलाई हेर्ने हो भने यस्तो समाजको हामीले परिकल्पना पनि गर्न सक्दैनाैं । सत्तासीन एमालेका प्रधानमन्त्रीले पार्टीका बैठकहरु लोकतान्त्रिक पद्दतिबाट सञ्चालन गर्न छाडेको र पार्टीलाई नसोधी अदृश्यरुपमा निर्णय, काम कारवाही गरेको आवाज एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र सचिव योगेश भट्राईलगायतलाई पार्टीको सरकार ढाल्न खोजेको आरोप लाग्यो ।

दुई/चारवटा नियुक्ति माधव नेपाल पक्षलाई थाहै नदिई प्रधानमन्त्री केपी ओलीले गरे होलान् । आफ्ना गुट नजिकलाई जागिर दिए होेलान्, केही पैसा कमाउने ठाउँमा सरुवा वा बढुवा गरे होलान् । आजीवन सांसद, मन्त्री भएकालाई राजदुतमा सिफारिस गरे होलान् । विरोध त्यसको होइन, पद्दति र लोकतान्त्रिक विधिको गरिनुपर्छ ।

तर, पद्दतिका कुरा गर्दा उनीहरुलाई पार्टीभित्रैबाट सहयोगी भूमिका कार्यकर्ताले खेलेनन् । किनकि नेपाली समाज शक्तिकैपछि लागेको देखियो । यतिसम्म कि केपी ओलीले गरेको फोहोरलाई पनि हिरा देख्ने चाकडीवाजहरु देखिए । अर्कातिर उनले राम्रो काम गरे पनि नराम्रो देख्ने र अपव्याख्या गर्ने प्रवृति पनि उत्तिकै देखियो र देखिँदैछ ।

यो रोग एमालेमा मात्र होइन, सबै पार्टीमा लागेको छ । कांग्रेसमा शेरबहादुर देउवाका विरुद्ध बोल्नेले त्यो पार्टीमा न त सरकार मै अवसर पाउँछ, न त त्यसले बोलेका राम्रा कुराका बारेमा हामीले मूल्यांकन नै गर्छाैं ।

नेपाली कांग्रेसले गगन थापालाई कांग्रेस महामन्त्रीमा स्वीकार गर्न मानेन । म धेरै पर जान्न, नेपालमा भएका कांग्रेस निकट मेरा पत्रकार साथीलाई यसपालि गगन थापाले जित्नुपर्छ भनेको मात्र के थिएँ, ‘उनको बेला भएको छैन’ भने । उनले कसरी मूल्याकंन गरे, मलाई थाहा भएन ।

प्रधानमन्त्री केपी ओलीले राष्ट्रवादको पगरी र भाषणको विकासले सत्ता चलाएकै छन् । ओलीसँग पार्टी अध्यक्षमा पराजित नेपाल अध्यक्ष पदमा फेरि उदाउने दाउ खोज्दैछन् । माओवादी केन्द्रका अध्यक्ष करिब दुई दशकदेखि नेतृत्वमै टाँसिएर बसेकै छन् । उनका विरोधीका रुपमा निस्किएका मोहन बैद्य र डा बाबुराम भट्राईलाई नेतृत्व हस्तान्तरण गर्न भाषणमा बाहेक व्यवहारमा प्रचण्ड कहिल्यै तयार भएनन् । धर्म

राजनीति गरिरहेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेतृत्वको विरोध गर्नेलाई पार्टीबाटै निस्काशन गरे । एन्फामा भ्रष्टाचार आरोपित भाई गणेश थापालाई सांसद बनाए ।

फोरम लोकतान्त्रिकका विजय गच्छदार, सदभावनाका राजेन्द्र महतो, तमलोपाका महन्त ठाकुर र हृदयेश त्रिपाठीलगायतका नेताहरु एक दशकदेखि एकछत्र शक्तिमा बसेकै छन् । जो शक्तिमा आउँछ, उनैको पछि राजनीतिक दलमा लागेका, त्यसैको दलाली गरेर खाने र सत्तालाई नै आफ्नो लक्ष्य ठान्नेलाई केही भन्नु छैन । यिनीहरुको धर्म नै हो चाकडी, चाप्लुसी गर्नु, जो गरिरहेका छन् । उनीहरुको जीवन नै यसरी बित्ने हो ।

जो आफुलाई स्वतन्त्र जनता ठान्छ । आफ्नै बलबुतामा घर परिवार चलाएको छ । तिनीहरुलाई आत्मनिर्भर र स्वतन्त्र भएको सोच्ने बेलायती जनमत संग्रहका बारेमा केही भन्न आवश्यक छ ।

जव जनता निस्वार्थ र सत्ता विमुख हुन्छ । अनि बल्ल जनताको एजेण्डा स्थापित गर्न दलहरु बाध्य हुँदारहेछन् । यस बर्ष सन् २०१६ साल जुन २३ मा भएको जनमत संग्रहमा बेलायती जनताको स्वतन्त्र निर्णयले दशकाैंदेखि बलिया मानिएका कन्जरभेटिभ पार्टी र लेवर पार्टीमा नराम्रोसँग भुईमा पछारिए । जसका कारण विश्व राजनीतिमा उथल पुथल आउने र युरोपियन युनियनको भविष्य के हुने भन्ने बारेमा टीका टिप्पणी सुरु हुन थालेका छन् ।

अर्कोतिर गत वर्षको आम निर्वाचनमा बहुमत ल्याएर प्रधानमन्त्री बनेका डेभिड क्यामरनले पद त्यागको घोषणा गर्न बाध्य भए । क्यामरन बेलायत युरोपेली संघमा रहनुपर्ने पक्षमा वकालत गर्दै आएका थिए ।

आफ्नो विपक्षमा देखिएको जनमतलाई उच्च सम्मान गर्दै नैतिकताका आधारमा राजीनामा घोषणा गरे । प्रमुख प्रतिपक्षी दल लेवरका नेता जेरेमी कोर्विनमाथि पद त्यागको तीव्र दबाब छ । उनी पनि बेलायत युरोपमा रहनु पर्छ भन्ने पक्षमा थिए ।

यद्यपि, एउटा स्मरण गर्नुपर्ने कुरा के छ भने सत्तासीन कन्जरभेटिभ दलका पूर्व लण्डन मेयर वोरिस जोन्सन र प्रतिपक्ष दल लेवर दलका प्रमुख नेताहरु नै युरोपबाट बेलायत बाहिरिनुपर्छ भन्नेमा थिए । प्रजातन्त्रको जननी मानिने बेलायतमा दलभित्र आन्तरिक लोकतन्त्रको अभ्यास गर्दै एउटै दल र एजेण्डा बोकेकाहरु युरोपसँग बस्ने/नबस्ने सवालमा दुई खेमामा देखिए । तर पनि, सत्तासीन दल कन्जरभेटिभ र प्रमुख प्रतिपक्ष दल लेवरमा कहिल्यै आन्तरिक विवाद देखिएन । नत आफ्नो पार्टीको एजेण्डा विपरीत गएकोमा अनुशासनको कारवाहीको प्रश्न नै उठ्यो । तर पनि नेतृत्वले आफ्नो पक्षमा बहुमत जुट्न नसक्नु कमजोरी स्वीकार गर्दै उच्च नैतिकता प्रदर्शन गरे । यो नै लोकतन्त्र र लोकतान्त्रिक व्यवस्थाको सुन्दर पक्ष हो ।

तर, हाम्रो देशमा राजतन्त्रको अन्त्य, धर्मनिरेपक्ष, संघीयता लगायतका दर्जनौं मुद्दामा जनतालाई सोध्न कहिल्यै उचित मानिएन । उल्टो जनमत संकलनका बेला जनताले दिएका सुझाव रद्दीको टोकरीमा फालियो । तर, पनि जनता दलका दासका रुपमा चुपचाप बसे । आम जनता जो पार्टीमा छैनन् वा प्राविधिक रुपमा मात्र जोडिएका छन् ।

जसले प्राविधिकरुपमा कुनै दलको सदस्यता लिए पनि म स्वतन्त्र हुँ, दलका नेतालाई गुण र दोषका आधारमा समर्थन र विरोध गर्छु भन्छ । जसलाई राजनीतिसँग केही लिनुदिनु छैन । उनीहरुलाई आग्रह छ कि नेपाल समृद्ध बनाउन सहयोगी भूमिका खेल्न हामीभित्रको आधुनिक दास मानसिकता त्याग्नु जरुरी छ ।

हो, लोकतन्त्रिक पद्दतीका लागि दलहरुको विकल्प छैन । तर, आफ्नो विवेक बन्धकी राखेर दलमा समर्थन गर्नुको पनि तूक छैन । देश गरीवी र पीडाको चपेटामा परेका बेलामा नेताहरुलाई गाली गर्ने अनि आफ्नो दलले गरेको गल्तीलाई गल्ती नमान्ने आधुनिक दास मानसिकताले देशलाई समृद्ध हुनबाट दिनानुदिन रोकिराखेको छ । यो कहिले बुझ्ने अनि सच्चिन नचाहने दलहरुको विकल्प कहिले खोज्ने ? अब समय धेरै छैन ।

हामीले भोगेको समाज र दास मानसिकता नयाँ पुस्ता ब्यहोर्न तयार छैनन् । हामीले छातीमा हात राखेर सोचाैं । सक्छाैं भने आ-आफ्नो लागेको दललाई सच्याउन सकिँदैन, स्वतन्त्र भएर राम्रा एजेण्डा ल्याउन दललाई समर्थन गराैं । अनि राम्रो कामको सुरुवातको थालनी हुनेछ । हामी विकसित देश जाने र उनीहरुले गरेका फेशनका नक्कल एक घण्टा नवित्तै गर्न भ्याउछाैं । तर, उनीहरुले गरेको प्रगति र मिहेनतको नक्कल कहिल्यै गर्न खोज्दैनाैं । हाम्रो सोचको विकास नै यहीँबाट गर्नुपर्छ ।

हामी शक्तिमा रहेकाप्रति नतमस्तक हुन्छाैं, शक्तिमा रहेकाले कहिल्यै गल्ती गर्दैनन् । त्यसको विरोध गर्दा भोलि फाइदा लिन वा केही सहयोग माग्न सकिँदैन भन्ने दास मानसिकता छ । हामी गलत र सही थाहा भए पनि अभिव्यक्त गर्दैनाैं । आफूले सदस्यता लिएको दलले जस्ता निर्णय गरे पनि हामी चुपचाप समर्थन गछाैं । गलतलाई आ-आफ्नो च्यानलमार्फत दबाब दिन सक्दैनाैं ।

घरपरिवार र आफ्नो जीवनलाई समृद्ध बनाउन छाडेर हामी दलका अन्धभक्त समर्थक बन्छाैं । ता कि उसले जस्तो अन्याय गरे पनि हामी चुपचाप सहन बाध्य छाैं । मानौं यो जीवन दलका आधुनिक दासका बन्नका लागि पाइएको हो र यसैमा हामी गौरवान्वित छाैं । राजनीतिमार्फत गलत काम गरेर जीवन सुधार्ने, प्रत्यक्ष ढंगले नेतृत्व चयन नगर्ने, नेतृत्व वरिपरि रम्ने नै हाम्रा आर्दश गुरु हुन् । उनीहरुलाई दाइ वा कमरेड भनेर एकपटक बोल्न पाउनु वा एकपटक फोटो खिचेर फेसबुकमा राख्नु हाम्रो जीवनको अन्तिम इच्छा हो ।

यस्तो पचाउनै नसकिने रुप विदेशमा पनि उत्तिकै छ । तर, प्रभावहीन छ । नेपाल नेताले खत्तम बनायो भन्छन, नेताहरु विदेश आउँदा सेल्फी फोटो खिचेर सामाजिक सञ्जालमा राख्न र चाकडी गर्न पाउँदा संसारै विजय हासिल गरेको अनुभूत गर्ने नेपाली आधुनिक दास विदेशमा पनि उत्तिकै छन् ।

यो पंक्तिकारका पिताले १५ वर्षअघि आफ्नो सालो भाइलाई (जो भारतमा काम गर्छन्) महिनाको एक सय भारतीय रुपैयाँ कम भयो, अरुले जस्तै पाँच सय आउने जागिर खाउ भन्दा उनले ‘बन्ने के लिए साै रुपैयाँ काफी है’ भनेर फर्काएको जवाफ आज पनि मेरा कानमा गुन्जिन्छन् ।

अहिले नयाँ शक्ति लिएर डा. बाबुराम भट्टराई तपाई हामीसमक्ष आए । एक टेलिभिजन अन्तर्वार्तामा उनले संसदलाई विधायिका मात्रै बनाउने र प्रत्यक्ष कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीले मात्र राजनीति स्थायित्व दिने कुरा गरे । एमालेले घोषणा पत्रमा लेखेर एक थान कुर्सीमै त्यसलाई साट्यो । नयाँ शक्तिले उठाएको एजेण्डा ठिक भए पनि माओवादी पार्टीको बैठकले यो विषयलाई संविधान संशोधनमा उठाउने बारेमा कुनै निर्णय गरेन । जुन शासक आए पनि जनतालाई झूठ बोल्ने र सत्ता हत्याउने अनि अर्काे एक दशक नयाँ पार्टीको आधुनिक दास बनाउनेतिर अग्रसर देखिन्छ ।

यस्तो नेपालको वर्तमान राजनीतिक परिदृश्यमा जनतालाई दलहरुको आधुनिक दासताबाट मुक्त गर्न जरुरी भैसक्यो । सक्छौं हामी हरेक दलको सदस्यता त्यागाैं, सक्दैनौं भने पार्टीभित्र संघर्ष गराैं । अनि प्रत्यक्ष नेतृत्व चयन, नेतृत्वले आफ्नो कार्यकालमा गर्ने काम, नेतृत्वको उमेर हदबन्दी, कति पटक सांसद वा नेतृत्वमा रहने जस्ता व्यवस्था दलभित्र सदस्यता लिएका स्वतन्त्र भन्ने अनुभूति जनताले सकेनन् भने आधुनिक दास भएर सामाजिक सञ्जालमा कराउनेबाहेक केही गर्न सकिँदैन । बेलायत जतिको सारक्षता दर नेपालमा नभए पनि राजनीति चेतना अहिले धेरै छ ।

यही राजनीति चेतना भएकै समुदाय आधुनिक दासका रुपमा देखिएको छ । अब ढिला नगरी दासतालाई त्यागाैं र स्वतन्त्र बनाैं यहीँबाट सुरु हुन्छ नेपालको समृद्धि ।

(लुइँटेल नेपाल पत्रकार महासंघ बेलायत शाखाका वरिष्ठ उपाध्यक्ष हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment