Comments Add Comment

शीर्ष बैठकमा एमालेको प्रश्नः संविधान संशोधन केका लागि ?

पहिले प्रस्ताव ल्यानुस्, अनि जवाफ दिउँलाः वामदेव

3 party meeting

१४ भदौ, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डलाई संविधान संशोधन केका लागि भन्ने प्रश्न गर्दै प्रष्ट विषय सूची लिएर आउन आग्रह गरेेको छ ।

प्रधानमन्त्री प्रचण्डको आहृवानमा प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादीको शीर्ष बैठकमा एमाले कार्यवाहक अध्यक्ष बामदेव गौतमले यो प्रश्न राखेका हुन् ।

मंगलबार विहान बालुवाटारमा बसेको बैठकमा गौतमले भने, संविधान संशोधन किन र केका लागि गर्ने ? सरकारको प्रस्ताव केके हो ? पहिले सरकारको प्रस्ताव आओस्, अनि एमालेले आफ्नो दृष्टिकोण दिनेछ ।’

बैठकको शुरुमा प्रधानमन्त्री प्रचण्डले थारु त्था मधेस समस्या समाधानका लागि संविधान संशोधन, स्थानीय तहको पुनर्संरचना र निर्वाचनका एजेण्डा राखेका थिए । कांग्रेस नेता समेत रहेका उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधन गर्ने प्रस्ताव राखेका छन् ।

तर, सरकारबाट कुनै ठोस प्रस्ताव नआएकाले पहिले संविधान संशोधन किन र के का लागि भन्ने प्रष्ट प्रस्ताव ल्याउन कार्यवाहक अध्यक्ष गौतमले आग्रह गरेको एमाले उपमहासचिव बिष्णु पौडेलले बताए ।

सत्तारुढ दलहरु र सरकारभित्रै संविधान संशोधनबारे कुनै एजेण्डा नभएकाले यसलाई बजारमा खपतको विषय बनाउन आवश्यक नरहेको एमाले महासचिव ईश्वर पोखरेलले बताएका थिए । बैठकमा एमाले नेताहरुले संविधान संशोधन नभई कार्यान्वयन अहिलको प्राथमिकता भएको बताएका छन् ।

बैठकमा सहभागी एमाले स्थायी कमिटी सदस्य किरण गुरुङले भने, संविधान संशोधन गरौं भन्नेहरुसँगै कुनै प्रस्ताव छैन । अहिलेको प्राथमिकता संविधान संशोधन होइन्, यसको कार्यन्वयन हो भन्ने कुरा हामीले राख्यौं ।’

जवाफमा प्रधानमन्त्री प्रचण्डले भने थारु र मधेसी समुदायको माग सम्बोधनका लागि संविधान संशोधन गर्नु पर्ने बताएका थिए । तर, के के मा संशोधन गर्ने भन्नेमा आफूहरु खुला रहेको उनले बताएका थिए ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले उपाध्याक्ष भीम रावलले संविधान संशोधनबारे प्रमुख प्रतिपक्षी दलसँग कुनै छलफल नगरेको तर, अमुक देशमा छलफल गरेको भन्दै आफूहरुले आपत्ति जनाएको बताए ।

बैठकमा कांग्रेस नेताहरुले संविधान संशोधन गर्नुपर्ने बताए पनि के कसरी गर्ने भनेनन् । अब निरन्तर दलहरुबीच छलफल गर्ने भन्दै प्रधानमन्त्रीले समय कम रहेकाले साझा धारणा बनाउनुपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment