+
+
Shares

बैंकहरूको लगानीमा बढ्यो प्रतिफल, आधा दर्जनले लाभांश दिन नसक्ने

गत आर्थिक वर्ष बैंकहरूले कर्जा नोक्सानी व्यवस्था बापत धेरै रकम छुट्याउनुपर्ने तथा कर्जा असुलीमा समस्या आएकाले आरओई घटेको थियो । आरओई सेयरधनीको लगानीबाट बैंकले कति नाफा कमायो भनेर मापन गर्ने सूचक हो ।

भुवन पौडेल भुवन पौडेल
२०८३ कात्तिक १७ गते १९:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्ष पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको औसत आरओई ९.१३९ प्रतिशत पुगेको छ, जुन गत आवको ७.०४३ प्रतिशतभन्दा बढी हो ।
  • सञ्चित नाफा कमजोर भएकाले ६ बैंकको नाफा ऋणात्मक छ र चालु आव सेयरधनीलाई लाभांश दिन नसक्ने सम्भावना देखिएको छ ।
  • चालु आव पहिलो त्रैमासमा सानिमा बैंकको आरओई १५.६ प्रतिशत, एभरेस्टको १४.२८ प्रतिशत, नबिलको १३.९९ प्रतिशत र कृषि विकास बैंकको १.३१ प्रतिशत छ ।

१७ कात्तिक, काठमाडौं । वाणिज्य बैंकहरूको सेयरधनीको पूँजीमा प्रतिफल (आरओई) २ प्रतिशत विन्दुले बढेको छ ।

चालु आर्थिक वर्ष पहिलो त्रैमासमा बैंकहरूको ब्याज आम्दानीसँगै गैरब्याज आम्दानीमा सुधार आएपछि आरओईमा सुधार आएको हो ।

चालु आव पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको औसत आरओई ९.१३९ प्रतिशत पुगेको छ । गत आव सोही अवधिमा ७.०४३ प्रतिशत थियो ।

गत आव बैंकहरूले कर्जा नोक्सानी व्यवस्था बापत धेरै रकम छुट्याउनुपर्ने तथा कर्जा असुलीमा समस्या आएकाले आरओई घटेको थियो । आरओई सेयरधनीको लगानीबाट बैंकले कति नाफा कमायो भनेर मापन गर्ने सूचक हो ।

बैंकहरूको इक्विटीमा प्रतिफल घटेपछि लगानीकर्ताले बैंकबाट लगानी स्थानान्तरण गर्नसमेत खोजेका थिए । बैंक तथा वित्तीय संस्थाका संस्थापक सेयरधनीले सेयर बिक्री गर्न सहज छैन । त्यसैले संस्थापकहरूले बैंक तथा वित्तीय संस्थाको लगानी झिक्न पाउनुपर्ने माग गर्दै आएका छन् ।

लगानीमा न्यून प्रतिफल भएका कारण बैंक तथा वित्तीय संस्थाको सेयरमा लगानी गर्दा प्रतिफल पनि छैन र बिक्री गरेर निस्कन पनि नपाइने भन्दै गुनासो गर्दै आएका छन् ।

समय–समयमा संस्थाहरूले साधारण सेयर निष्कासन गरेको १० वर्षपछि संस्थापकले सेयर बिक्री गर्न पाउने व्यवस्था गर्न मागसमेत गर्दै आएका छन् । बैंक तथा वित्तीय संस्थाबाट बाहिरिन खोज्नुको मुख्य कारण पनि घट्दो आरओई नै हो ।

बैंकहरूको चालु आव पहिलो त्रैमासमा आरओईमा सुधार आएको देखिए पनि सञ्चित नाफाको अवस्था कमजोर भएकाले लाभांश दिन सक्ने क्षमता नहुन पनि सक्छ । चालु आव सोही अवधिमा ६ बैंकको सञ्चित नाफा ऋणात्मक भएकाले सेयरधनीलाई लाभांश नदिने पक्का जस्तै भएको हो ।

सञ्चित नाफा नकारात्मक रहने बैंकमा नेपाल इन्भेस्टमेन्ट, प्रभु, हिमालयन, एनआईसी एसिया र सिटिजन्स छन् । त्यसैगरी माछापुच्छ्रे, नेपाल बैंक र कुमारीको सञ्चित नाफा सकारात्मक भए पनि वितरणयोग्य नाफा ऋणात्मक छ । सञ्चित नाफा र वितरणयोग्य नाफाको अवस्था हेर्दा उल्लेखित बैंकहरूले चालु आव सेयरधनीलाई लाभांश दिन सक्ने सम्भावना कम छ ।

वाणिज्य बैंकहरूको वित्तीय विवरण विश्लेषण गर्दा इक्विटीमा प्रतिफल अर्थात् सेयरधनीको पूँजीमा प्रतिफल बढेको देखिए पनि त्यसैका आधारमा लगानीकर्ताले उच्च लाभांश पाउँछन् भन्ने निश्चित नहुने पूर्वबैंकर परशुराम कुँवर क्षेत्रीले बताए ।

‘आरओई राम्रो देखिँदैमा बैंकहरू लाभांश बाँड्न सक्ने स्थितिमा नहुन पनि सक्छन्,’ क्षेत्रीले भने, ‘त्यसैले बैंकहरूको वास्तविक लाभांश क्षमता मापन गर्न आरओई बाहेक अन्य प्राविधिक तथा वित्तीय सूचकहरूलाई पनि गम्भीरतापूर्वक विश्लेषण गर्नुपर्छ, आरओई उच्च देखिएका कतिपय बैंकहरूको पनि सञ्चित नाफा वितरणका लागि पर्याप्त हुनुपर्छ ।’

जस्तो, कुमारी बैंकको आरओई सन्तोषजनक देखिए पनि प्रथम त्रैमासको विवरण अनुसार सञ्चित मुनाफा करिब १४ करोड ७१ लाखमात्र छ । सञ्चित नाफा नै कम भएपछि आरओई जतिसुकै राम्रो भए पनि बैंकले सोचेजस्तो उच्च लाभांश वितरण गर्ने क्षमता नहुने उनी बताउँछन् ।

लाभांश क्षमता विश्लेषण गर्दा आगामी १२ महिनाभित्र कुन–कुन बैंकको कस्ता बन्ड/डिबेन्चर म्याचुअर हुँदैछन् भन्ने पक्ष पनि महत्त्वपूर्ण हुने उनले बताए । साधारण निक्षेप सम्बन्धी बन्ड नभई बैंकको पूँजी गणनामा परेका डिबेन्चरहरूलाई हेर्नुपर्ने उनले सुझाए ।

बैंकहरूले यस्ता क्यापिटल बन्डका लागि डिबेन्चर रिडेम्प्सन फन्ड खडा गरेका हुन्छन् । बन्ड परिपक्व भएपछि उक्त फन्डमा रहेको रकम लाभांशका रूपमा वितरणका लागि योग्य हुने उनको भनाइ छ ।

अग्राधिकार सेयर/बन्ड अर्थात् बैंकहरूले जारी गरेका प्रिफरेन्स बन्ड/सेयरको असर सोझै साधारण सेयरधनीले पाउने लाभांशमा पर्छ । बैंकले आर्जन गरेको सञ्चित नाफाबाट पहिले प्रिफरेन्स सेयरधनीलाई लाभांश भुक्तानी गर्नुपर्छ । प्रिफरेन्स लाभांश बाँडेर बचेको रकममात्र साधारण सेयरधनीका लागि उपलब्ध हुने व्यवस्था छ ।

नेपालका बैंकहरूले जारी गरेका अधिकांश प्रिफरेन्स सेयर गैरसञ्चयी र फिर्ता हुने प्रकृतिका छन् । गैरसञ्चयी भएकाले सोही वर्षको कमाइबाट लाभांश तिर्नुपर्ने हुन्छ । अघिल्लो वर्ष नतिरेको भए दायित्व समाप्त हुन्छ ।

सरसर्ती हेर्दा चालु आव करिब एक दर्जन बैंकहरू लगानीकर्तालाई वास्तविक रूपमा प्रतिफल दिन सक्ने अवस्थामा देखिएको उनले क्षेत्रीले बताए ।

अहिले बैंकहरूको खराब कर्जा खासै नभएको उनको दाबी छ । कुल नाफालाई कुल सेयर संख्याले भाग गर्दा आएको आरओई नै बढेको देखिएको छ भने गत आवको क्लोजिङ इक्विटीले कुल नाफालाई भाग गर्दा बैंकहरूको आरओई अझै बढ्ने क्षेत्रीको बुझाइ छ ।

‘चालु आव पहिलो त्रैमासमा गत वर्षको तुलनामा कर्जा नोक्सानी घटेका कारण नाफा १९ अर्ब देखिएको हो,’ उनले भने, ‘बैंकहरूको कुल ब्याज आम्दानी करिब १ प्रतिशतले मात्रै बढेको छ, गैरब्याज आम्दानी भने अघिल्लो वर्षको तुलनामा १२.४४ प्रतिशतले बढेर २० अर्ब ३२ करोड पुगेको छ ।’

उनका अनुसार गत आवको पहिलो त्रैमासमा बैंकहरूको गैरब्याज आम्दानी १८ अर्ब ८ करोड थियो । गैरब्याज आम्दानी बढ्नु भनेको आगामी दिनमा आर्थिक क्रियाकलाप बढ्ने संकेत हो । बैंकहरूलाई चालु आवमा गत वर्षजस्तो जटिल हुने देखिँदैन ।

चालु आवको पहिलो त्रैमासमा सानिमा बैंकको आरओई सबैभन्दा धेरै छ । उक्त अवधिमा उसको आरओई १५.६ प्रतिशत पुगेको छ । गत आव सोही अवधिमा ७.६८ प्रतिशत थियो ।

त्यसैगरी एभरेस्ट बैंकको आरओई १४.२८ प्रतिशत कायम भएको छ । यो गत आवको तुलनामा आरओई घटेको हो । गत आव असोजमा एभरेस्टको आरओई १४.५१ प्रतिशत थियो ।

त्यस्तै नबिल बैंकको आरओई १३.९९ तथा ग्लोबल आइएमई बैंकको १३.२९ प्रतिशत छ । चालु आव पहिलो त्रैमासमा दोहोरो अंकको आरओई कायम गर्ने बैंकमा राष्ट्रिय वाणिज्य, एनएमबी, स्ट्यान्डर्ड चार्टर्ड र प्राइम कमर्सियल छन् । उक्त अवधिमा सरकारी लगानी भएको कृषि विकास बैंकको आरओई सबैभन्दा न्यून १.३१ प्रतिशत छ ।

लेखक
भुवन पौडेल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत पौडेल बैंक, वित्तीय तथा नेपाल धितोपत्र बजारमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?