News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिभुवन विश्वविद्यालयले बेतलबी बिदा सेवा अवधिमा जोडेर पेन्सन दिइरहेको पाइएको छ, जबकि कार्यकारी परिषद्ले त्यसलाई रोक्ने निर्णय गरिसकेको थियो।
- महालेखा परीक्षकको प्रतिवेदनले स्वीकृति नलिई ३ अर्बभन्दा बढी पेन्सन भुक्तानी भएको देखाएको छ र त्रिविलाई अर्बौं नोक्सानी भएको उल्लेख गरेको छ।
- त्रिविले अहिले नयाँ पेन्सनपट्टा रोकिएको बताए पनि पहिले पेन्सन खाइरहेकाबारे अध्ययन भइरहेको र असुल उपर गर्नुपर्ने सुझाव आएको छ।
१७ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को निर्णयविपरीत प्राध्यापकले बेतलबी बिदा जोडेर अझै पेन्सन खाइरहेको पाइएको छ ।
बेतलबी बिदा जोडेर प्राध्यापकले पेन्सन खाइरहेको समाचार अनलाइनखबरमा २०८१ फागुनमा प्रकाशित भएपछि त्रिविको कार्यकारी परिषद्ले २०८२ जेठ २८ गते बेतलबी बिदा जोडेर पेन्सन नदिने निर्णय (७७७) गरेको थियो ।
तर, त्रिविको कर्मचारी प्रशासन महाशाखाले अहिले पनि बेतलबी बिदा जोडेर पेन्सन खुवाइरहेको छ । ‘कार्यकारी परिषद्को निर्णयभन्दा पहिले खाएकाले अहिले पनि खाइरहेका छन् । नयाँ पेन्सनपट्टा बनाउन आउनेको मात्र रोकिएको छ,’ महाशाखाका एक अधिकारीले भने ।
नियमविपरीत पेन्सन खाइरहेकाबाट फिर्ता ल्याउनुपर्ने हो । तर उल्टै बेतलबी बिदासमेत जोडेर पेन्सन उपलब्ध गराइएको छ । २०६८ वैशाख ८ गतेभन्दा अगाडि बेतलबी बिदा बसेका शिक्षक-कर्मचारीले सेवा अवधिमा गणना गरेर पेन्सन खाइरहेका हुन् ।
त्रिविको शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम २०५० को नियममा असाधारण (बेतलबी) बिदाको व्यवस्था गरिएको छ । तर, असाधारण (बेतलबी) बिदामा बस्ने शिक्षक-कर्मचारीले सो अवधिभर तलब–भत्ता पाउने छैनन् । साथै, बेतलबी बिदा सेवा अवधिमा समेत गणना हुँदैन ।
त्रिविको पुनरावेदन आयोगले २१ असार २०७५ मा आयोगकै शाखा अधिकृत विमल रिमालले लिएको बेतलबी बिदालाई पनि गणना गरी पेन्सनपट्टा जारी गरिदिने फैसला गरेको थियो । सोही नजिरलाई देखाएर प्राध्यापक शंकर भण्डारीले पनि बेतलबी बिदालाई सेवा अवधिमा जोडेर पेन्सनपट्टा बनाएका थिए ।
भण्डारीको निवेदनको आधारमा तत्कालीन कार्यकारी परिषद्ले ११ माघ २०७६ मा २०६८ वैशाख ८ गतेभन्दा अगाडिको बेतलबी बिदालाई सेवा अवधिमा जोड्ने निर्णय गरेको थियो । यसैको आधारमा १२६ प्राध्यापकले बेतलबी बिदालाई जोडेर पेन्सन लिइरहेका छन् ।
त्रिवि अधिकारीका अनुसार यो संख्या अझै बढी छ । अनलाइनखबरले खोजी गरेको अवधिमा १२६ जनाको सूची सार्वजनिक गरिएको थियो । त्यसपछि पनि बेतलबी बिदा जोडेर पेन्सनपट्टा बनाएको पाइएको छ । यसरी पेन्सन लिनेमा पूर्वपदाधिकारीसमेत छन् ।
२० वर्ष नै सेवा नगरेका शिक्षक-कर्मचारीले समेत बेतलबी बिदालाई सेवा अवधिमा जोडेर मासिक पेन्सन खाइरहेका छन् । नियममा स्थायी भएको २० वर्ष वा सोभन्दा बढी समयसम्म विश्वविद्यालय सेवामा संलग्न शिक्षक वा कर्मचारीले अवकाशप्राप्त गरेको मितिदेखि निवृत्तिभरण पाउने भनिएको छ ।
तर, २० वर्ष सेवा नगरी बेतलबी बिदा जोडेर शिक्षक कर्मचारीले पेन्सन बुझिरहेका छन् । उपदानमा जानुपर्नेमा बेतलबी बिदा जोडेर पेन्सन खाने प्राध्यापकको संख्या धेरै छ ।
शिक्षक-कर्मचारी जुन तहबाट निवृत्त हुने हो सोही तहमा खाईपाई आएको अन्तिम तलब स्केललाई सेवा अवधिको आधारमा गणना गरेर पेन्सन दिइने नियम छ ।
बेतलबी बिदा जोडेर पेन्सन खाँदा त्रिविलाई आर्थिक नोक्सानी भइरहेको छ । महालेखा परीक्षकको कार्यालयले वार्षिक प्रतिवेदनले पनि सरकारसँग स्वीकृति नै नलिई त्रिविले बेतलबी बिदा जोडेर पेन्सन दिइरहेको उल्लेख गरेको थियो ।
आर्थिक वर्ष २०८१/०८२ को महालेखाको प्रतिवेदनमा ३ अर्ब बढी रकम सरकारसँग स्वीकृति नै नलिई पेन्सनमा भुक्तानी गरेको उल्लेख गरिएको छ ।
‘कार्यकारी परिषद्को २०७६/१०/२१ को निर्णयअनुसार २०६८/१/८ भन्दा अगाडि लिएको असाधारण बिदासमेत सेवा अवधिमा गणना गरी शिक्षक तथा कर्मचारीको पेन्सनवापत गत वर्ष ३ अर्ब ११ करोड ४१ लाख १३ हजार र यो वर्ष ३ अर्ब २१ लाख २८ हजार र ग्रेड १ करोड ९२ लाख २५ हजार रुपैयाँ भुक्तानी दिएकोमा नेपाल सरकारको स्वीकृति लिएको देखिएन,’ महालेखाको प्रतिवेदनमा भनिएको छ । बेतलबी बिदा जोडेर पेन्सन दिँदा त्रिविलाई अर्बौं नोक्सानी भएको छ ।
महालेखाले समेत नियमसंगत नभएको औंल्याएपछि त्रिविको कार्यकारी परिषद्ले स्वीकृतिका लागि सरकारलाई लेखी पठाउने र सरकारबाट निर्णय भएर नआएसम्म बेतलबी बिदा कट्टा गरी पेन्सन उपलब्ध गराउने भनेको थियो ।
‘बेतलबी बिदाको अवधि सेवा अवधिमा गणना गर्ने व्यवस्था हाललाई स्थगित गरी निवृत्तिभरणको लागि बेतलबी बिदा गणना गरिएको अवधिमा कट्टा गरी निवृत्तिभरण पाउने योग्य निवत्त शिक्षक तथा कर्मचारीलाई निवृत्तिभरण प्रदान गर्न निवृत्तिभरण तथा उपदान शाखालाई निर्देशन दिने निर्णय गरियो,’ कार्यकारीको निर्णयपत्रमा भनिएको छ । तर कार्यकारीले गरेको निर्णय अहिलेसम्म कार्यान्वयन भएको छैन ।
‘कार्यकारी परिषद्ले गरेको निर्णय प्रतिकूल हुनेगरी बेतलबी बिदा जोडेर पेन्सन खाएको भएमा सम्बन्धित पक्षबाट असुल उपर गर्नुपर्छ,’ त्रिविका तत्कालीन कानुनी सल्लाहकार नारायणप्रसाद खनालले भने ।
त्रिविका रजिस्ट्रार रविन्द्र अधिकारीले यस विषयमा थप अध्ययन भइरहेको बताए । ‘अहिले पेन्सनपट्टा बनाउन आउनेको हकमा रोकिएको छ । पहिले खाइरहेकाको हकमा अध्ययन गरिरहेका छौँ,’ उनले भने ।
प्रतिक्रिया 4