३ माघ, क्वालालम्पुर । मलेसियामा रहेका नेपाली श्रमिकहरुको करिब डेढ घण्टा दुःखका कथा सुनेपछि सांसद एवम् अन्तर्राष्ट्रिय श्रम सम्वन्ध समितिका सभापति प्रभु साहले भने- हामीले गम्भीरतापूर्वक लिएका छौं ।
यसअघि २०७१ साल चैत ६ गते दूतावासले गरेको अन्तरक्रियामा पनि उनले यसैगरी गम्भीरतापूर्वक लिएको बताएका थिए । त्यो भनाइ नबिर्सिएका नेपाली श्रमिकहरुले २०७३ साल माघ २ आइतबार पनि सोही कुरा सुन्न बाध्य भए ।
आइतबार नेपाली दूतावास मलेसियाले आयोजना गरेको अन्तरक्रियामा साहले भने- सबै मिलेर नेपाली श्रम बजारलाई ब्यवस्थित र मर्यादित बनाउनु पर्छ ।’
श्रमिकहरुले कमाएको रेमिट्यान्सले देश चलिरहेको उल्लेख गर्दै उनले श्रमिकहरुलाई सम्मान गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘दूतावासको सेवा प्रवाह कस्तो छ भनेर बुझ्न आएको हुँ । बाहिरबाट डिमाण्ड गएकाहरुकोबारेमा दूतावासमा त्यति धेरै जानकारी नहोला तर दूतावासबाटै प्रमाणिकरण भएकाहरुमा कुनै पनि हालतमा गडबडि हुन हुँदैन । डिमाण्ड स्विकृत गर्नु अगाडि ध्यान दिनु जरुरी छ ।’
कार्यक्रममा मलेसियाकालागि नेपाली राजदूत डा.निरन्जनमान सिं बस्न्यातले मलेसिया र नेपालबीच श्रम सम्झौताको चरणमा प्रवेश गरिरहेको र मलेसियाको एक टोली केहि दिनमा नेपाल जाने जानकारी दिए ।
माओवादी नेतासमेत रहेका सांसद साहले भने, ‘श्रम सम्झौता भयो भने धेरै कुरामा सुधार गर्न सकिन्छ ।’
आफूले श्रमिकहरुको हितलाई ध्यान दिएर काम गरिरहेको उल्लेख गर्दै उनले मुहानमा गडबडि भैरहेकाले मुहानमा नै रोक्नु पर्नेमा जोड दिए । ‘फ्री भिसा फ्री टिकट भनिए पनि म्यानपावर र दलालहरुले मोटो रकम लिइरहेका छन् त्यसलाई सबैले रोक्नुपर्छ,’ साहले भने ।
कार्यक्रममा मलेसियामा रहेका विभिन्न क्षेत्रका प्रतिनिधि र नेपाली श्रमिकहरुको सहभागिता थियो ।