Comments Add Comment

अब सडक र ढल बिग्रनासाथै बन्ने, लाग्यो मर्मतको छुट्टै ठेक्का

सडक मर्मत वडा कार्यालयलाई समेत सक्रिय बनाइने

२१ माघ, काठमाडौं । तपाईंको घर अगाडिको सडकमा खाल्डा पर्‍यो कि ढल फुटेर सडकभरि बग्यो ? तुरुन्त काठमाडौं महानगरपालिकाका खबर गर्नुस् । महानगरपालिकाकाले अब तपाईंको गुनासो सम्बोधन गर्न ढिलाइ नगर्ने बताएको छ ।

महानगरका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङको भनाइलाई मान्ने हो भने अब यस्ता सार्वजनिक मर्मतबारेको गुनासो महानगरपालिकाले तत्काल सम्बोधन गर्नेछ । अहिले सडकमा साना खाल्डा बढे ठूलो-ठूलो भ्वाङ पर्दै जाने र त्यसको मर्मत नहुँदा धुलो र हिलोले सडक ढाक्ने समस्या यसबाट समाधान हुनेछ ।

महानगरपालिकाले सानै खर्चमा गर्नुपर्ने सार्वजनिक सम्पत्तिको मर्मतका लागि अब महिनौं नकुराउने गरी नयाँ ब्यवस्था गरेको छ । अब सानातिना मर्मतका कामका लागि टेण्डर नगर्ने गरी छुट्टै ठेक्का लगाइएको छ । एक लाखभन्दा साना मर्मतका कामका लागि पनि अब महानगरले कोटेशन उठाउने प्रक्रिया पनि बन्द गरेको छ । तामाङले बिग्र्रनासाथ तत्कालै मर्मत गरिहाल्न छुट्टै ठेक्का लगाइएको बताए ।

झण्डै ६ करोडको ठेक्का

उनकाअनुसार टेण्डरमा जाँदा साना मर्मतका काममा पनि झण्डै ४ महिना लाग्ने अवस्थालाई अन्त्य गर्न वर्षभरि हुने मर्मतका काममा लागि महानगरपालिकाले छुट्टै ठेक्का लगाएको हो । वर्षभरिको सार्वजनिक मर्मतको कामका लागि झण्डै ५ करोड ३३ लाख रुपैयाँको ठेक्का लागेको तामाङले जानकारी दिए ।

महानगरपालिकामा वर्षभरि हुने सार्वजनिक सडक, ढल तथा पेटीमर्मतको जिम्मा वल्र्डवाइड/कँडेल/के एण्ड केजी जेभीले पाएको छ । अब महानगरभित्र हुने साना मर्मतको काम यसले महनगरपालिकाको सिफारिसमा तत्कालै गर्ने तामाङले बताए ।

‘पिचको थोरै भाग उप्किए पनि कहिले कोटेशन उठाउने त कहिले टेण्डर लगाउने प्रक्रियाले लामो समय लिएकाले वर्षभरि एउटै टेण्डरमार्फत मर्मत गर्ने गरी ठेक्का दिइएको हो’ तामाङले भने,’अब महानगरपालिकाले यस्ता साना मर्मतका काम गर्न समय लाउँदैन । तत्काल ठेकेदारलाई परिचालन गरेर मर्मत गराइहाल्छ ।’
यसले सामान्य रुपमा बिगि्रएका सडकपेटीको मर्मतदेखि ढल, सडक लगायतका पूर्वाधारको मर्मत गर्नेछ ।

वडा कार्यालय परिचालन गरिने

यसलाई आर्थिक रुपमा पारदर्शी गराउन सबै वडा कार्यालयहरुलाई पनि परिचालन गरिने महानगरपालिकाका भौतिक पूर्वाधार महाशाखा प्रमुख उत्तरकुमार रेग्मीले बताए । वडा कार्यालयहरुले मर्मत गर्नुपर्ने र गरिएका पुर्वाधारको रिपोर्ट महानगरलाई गर्नेछन् । त्यसैका आधारमा महानगरले ठेकेदारलाई रकम भुक्तानी गर्नेछ ।

‘यसले महानगरपालिकाको खर्च पनि निकै बचाउँछ । साना मर्मतका काममा भइरहेका ढिलासुस्ती पनि हट्छ’ रेग्मीले भने,’प्रक्रिया पुर्‍याउँदा लाग्ने झन्झट र हुनसक्ने आर्थिक अनियमितता पनि यसले नियन्त्रण गर्छ ।’

‘बैशाखदेखि ठूलो प्रभाव देखिन्छ’

महानगरपालिकाका कार्यकारी तामाङले अहिले मेलम्चीको पाइप बिछ्याउने काम भइरहेकाले उसले भत्काएका सडक र पेटी भने आयोजना कार्यान्वयन इकाइले नै मर्मत गर्ने बताए । सडक जताततै भत्काइएकाले अहिले नै यसको प्रभाव देख्न नसकिने उनको दावी छ । तर, भित्री सडकहरुमा हुने समान्य मर्मतको काम भने सुरु भइसकेको छ ।

‘मेलम्चीले भत्काएको सडक मर्मतको जिम्मा ऊ आफैंले लिएको छ । अब यो ठेक्काको सकारात्मक प्रभाव बैशाखदेखि ठूलो र प्रष्टैरुपमा देखिन्छ’ तामाङले भने,’अब नागरिकको गुनासो आउनासाथ र बिगि्रएको देख्नासाथ ठेकेदारलाई परिचालन गरेर सडक मर्मत गरिहालिन्छ ।’

सडक विभागले पनि यस्तै गरी ठेक्का लगाउनेगर्छ । वर्षभरि सबैजसो मर्मतको ठेक्का एउटै कम्पनीलाई दिँदा काम छिटो गर्न सकिने विश्वास महानगरपालिकाको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment