Comments Add Comment

निर्जीवन कम्पनीहरुले भूकम्पपीडितलाई तिरे १२ अर्ब

९ कम्पनीको नाफा ५९ करोड

२८ माघ, काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले माघ १५ गतेसम्ममा भूकम्प प्रभावितको कारण परेको दाबीको ७८ प्रतिशत रकम भुक्तानी गरेका छन् । बीमा समितिको तथ्यांक अनुसार कम्पनीहरुले तिर्न पर्ने देखिएको १६ अर्ब २६ करोड रकम (११८७८ संख्या) मध्ये १२ अर्ब ७२ करोड रुपैयाँ भुक्तानी गरेका छन् । संख्याको आधारमा भने ९४ प्रतिशत दाबी भुक्तानी भएको बीमा समितिले उल्लेख गरेको छ ।

कम्पनीहरुले पुनरबीमा कम्पनीहरुमा जोखिम सारेकोले पनि भुक्तानी गर्न सहज भएको देखिएको छ । कम्पनीहरुले हालसम्म पुनरबीमा कम्पनीबाट ६ अर्ब ४१ करोड रुपैयाँ प्राप्त गरेका छन् ।

सबैभन्दा धेरै दाबी परेको हिमालयन इन्स्योरेन्सले पनि ७८ प्रतिशत दाबी भुक्तानी गरेको छ । कम्पनीमा भूकम्प प्रभावितहरुबाट ४ अर्ब ९२ करोड रुपैयाँको दाबी परेको थियो भने कम्पनीले ३ अर्ब ८५ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ । यद्यपी कम्पनीले भुकम्पबाहेकका समेत गरेर कुल १ अर्ब ५९ करोड दाबी भुक्तानी गर्न बाँकी रहेको गत पुससम्मको वित्तीय विवरणलाई आधार मान्दा देखिन्छ ।

शिखर र प्रुडेन्सियल इन्स्योरेन्सको भने भुकम्पबाट परेको लगभग सबै दाबी भुक्तानी भइसकिएको छ । लुम्बिनी जनरल इन्स्योरेन्सले भने शतप्रतिशत भुक्तानी गरिसकेको छ ।

यता पुससम्मको वित्तीय विवरण प्रकाशित गरेका ९ कम्पनीको सबै किसिमका दाबीको लगभग ८ अर्ब ५६ करोड रुपैयाँ भुक्तानी बाँकी रहेको देखिन्छ । तर भूकम्प प्रभावितको कारण परेको दाबीलाई अलग्याएर हेर्ने हो भने यो रकम निकै कम हुन सक्ने देखिन्छ ।

पुससम्ममा वित्तीय विवरण प्रकाशित गरेको ९ कम्पनीको नाफामा पनि ७८ प्रतिशतले वृद्धि भएर ५९ करोड ४२ लाख रुपैयाँ पुगेको छ । कम्पनीहरुको कुल बीमा शुल्क आर्जन ५ अर्ब ५ करोड रुपैयाँको भएको देखिन्छ । यो रकममा पनि ६२ प्रतिशतले वृद्धि भएको हो । कम्पनीहरुको चुक्ता पुँजी ३४ प्रतिशतले बढेर ३ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । नेको इन्स्योरेन्सले भने हकप्रदको लागि संस्थापकहरुबाट ११ करोड ७८ लाख रुपैयाँ एड्भान्स ल्याइसकेको छ तर चुक्ता पुँजीमा जोडेको छैन् ।

कम्पनीहरुको जगेडा १४ प्रतिशतले बढेर १ अर्ब ८५ करोड पुगेको छ । बीमा कोष ४१ प्रतिशत बढेर २ अर्ब ४२ करोड पुगेको छ । कम्पनीहरुको कुल बीमा पोलीसी ५ लाख २७ हजार रहेको छ भने १ लाख २९ हजार पोलीसी नविकरण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment