News Summary
Generated by OK AI. Editorially reviewed.- एप्पलले बनाइरहेको क्यामेरावाला एयरपोड्सको भिडियो लिक भए पनि ब्लुमबर्गका मार्क गुरम्यानले यो उत्पादन यो वर्ष नआउने बताएका छन् ।
- गुरम्यानका अनुसार आपूर्तिमा समस्या र सफ्टवेयर तयार नहुँदा क्यामेरावाला एयरपोड्सको लन्च २०२७ सम्म धकेलिएको छ ।
- एप्पलले क्यामेरा फोटो वा भिडियो खिच्न नभई वरपरको वातावरण पहिचान गरी सिरीसहित एआईलाई जानकारी दिनका लागि राख्ने जनाएको छ ।
७ भदौ, काठमाडौं । एप्पलले बनाइरहेको क्यामेरावाला एयरपोड्सको भिडियो लिक गराइएको छ ।
भिडियोमा एक जनाले पुस्तकको कभर एयरपोड्सतिर देखाउँछन्, र सिरीले त्यसको नाम पढेर सम्झिराख्छ । यो एप्पलको ‘भिजुअल इन्टेलिजेन्स‘ फिचर हो ।
यो भिडियो देखेपछि धेरैलाई लागेको थियो, यो उत्पादन त यसै सेप्टेम्बरमा आउँछ । तर ब्लुमबर्गका पत्रकार मार्क गुरम्यानले त्यो हल्लालाई खण्डन गरेका छन् ।
उनका अनुसार यो एयरपोड्स यो वर्ष आउँदैन । आपूर्तिमा अझै समस्या छ, सफ्टवेयर पनि तयार भइसकेको छैन । त्यसैले यसको लन्च २०२७ सम्म धकेलिएको छ ।
एप्पल हाल दुई प्रकारका एयरपोड्समा काम गरिरहेको छ । पहिलो, बी७९०, जुन अहिलेकै एयरपोड्स प्रो३ मा क्यामेरा थपेर बनाइएको हो । भिडियोमा देखिएको मोडेल यही हो । यसलाई पहिले २०२६ मा ल्याउने योजना थियो, तर अहिले त्यो योजना रद्द गरिएको छ ।
दोस्रो, बी७९८, नयाँ पुस्ताको एयरपोड्स प्रो हो । यसैमा क्यामेरा जोडिनेछ, र यही मोडेल २०२७ मा बजारमा ल्याउने लक्ष्य राखिएको छ ।
एप्पलका अनुसार यी क्यामेराले फोटो वा भिडियो खिच्दैनन् । यिनको काम वरपरको वातावरण पहिचान गरी सिरी लगायतका एआईलाई जानकारी दिनु मात्र हो ।
यसैबीच कानमा क्यामेरा जोडिने कुराले गोपनीयतासम्बन्धी चिन्ता पनि जन्माएको छ । सामाजिक सञ्जालमा यसलाई ‘पर्भर्टपोड्स‘ भन्दै आलोचना भइरहेको छ ।
एप्पलले यो एयरपोड्स २०२७ को शरद् ऋतुमा आइफोनको २०औं वार्षिकोत्सव संस्करणसँगै सार्वजनिक गर्न सक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया 4