Comments Add Comment

सिंहदरबारभित्रको एक जोडीः शाखा अधिकृत र उपसचिवको प्रेमकथा !

रेजिना भन्छिन्- सिंहदरबारको पर्खालले हाम्रो प्रेमलाई बाधा गर्दैन

३ फागुन, काठमाडौं । प्रेम सर्वव्यापी छ । जुनसुकै पेशा-व्यवसायका व्यक्तिलाई पनि यसले लपेट्न सक्छ । यहाँ हामीले प्रतिनिधि पात्रका रुपमा निजामति प्रशासनभित्रका एक जोडीको प्रेमकथालाई प्रस्तुत गरेका छौं ।

झापाका निर्मल न्यौपाने र रेजिना कोइराला नेपाल सरकारका उपसचिव र शाखा अधिकृत हुन् । दुवैको अड्डा सिंहदरबारभित्रै छ । निर्मलले कसरी श्रीमतीलाई निजामति सेवामा प्रवेश गराए भन्ने प्रसंग खोतल्नुअघि उनीहरुको प्रेमकथा उधिनौं ।

तेस्रो प्रयासमा सफल भएको प्रेम

रेजिना र निर्मल ‘गाउँले दौंतरी’ थिए । घर पनि नजिकै थियो, त्यस्तै २/३ मिनेट पैदल दुरीमा । निर्मल एसएलसी दिएर घर बसेका बेला रेजिना ८ कक्षामा पढ्दै थिइन् । त्यो खाली समयमा निर्मलले रेजिनालाई उनकै घरमा पुगेर ट्युसन पढाउने गर्थे ।

तीन/चार महिनाको त्यही संगतमा निर्मलभित्र रेजिनाप्रति मायाको टुसो पलायो । ट्युसन पढाउने क्रममै उनलाई लाग्यो, बिहे त यही केटीसँग गर्नुपर्छ । तर, त्यतिबेला उनले रेजिनालाई केही भनेनन् । उनी आफू पनि भर्खर १६ बर्षका थिए ।

ट्यूसन पढाउन छोडेपछि पनि उनीहरुवीच भेटघाट भइरहन्थ्यो । उनीहरुको पारिवारिक सम्वन्ध पनि राम्रो भएकाले निर्मल विभिन्न बहानामा रेजिनाको घर पुगिरहन्थे । रेजिना र उनको परिवार निर्मलको एकोहोरो प्रेमबारे बेखबर थिए ।

निर्मल काठमाडौ बस्थे । उनी आफ्नो घरका मान्छेहरुसँग कुरा गर्ने बाहानामा बारम्बार रेजिनाको घरमा फोन गर्थे । किनकि निर्मलको घरमा फोन थिएन । उनी भन्छन्, ‘उनीमात्र घरमा भएको मौका परे सोझै कुरा भइहाल्थ्यो । अरु कसैले फोन उठाए भने घरमा बोलाइदिनु भन्नुपथ्र्यो । त्यतिबेला एक मिनेटको १५ रुपैँयासम्म तिर्नुपथ्र्यो ।

रेजिनाले एसएलसी परीक्षा दिएपछि निर्मलले उनलाई ‘प्रपोज’ गरे । निकै ठूलो आँट बटुलेर उनले ‘म तिमीलाई मन पराउँछु’ भन्न भ्याएका मात्र थिए, रेजिना त पुरै जंगिइन् ।

रेजिना भन्छिन्, ‘गाउँकै छिमेकी दाइको त्यो प्रस्ताव फिटिक्कै मन परेन ।’

त्यसपछि निर्मलले केही समय रेजिनासँग कुरो गर्ने आँटै गरेनन् । तर, उनले हिम्मत हारेका थिएनन् । तीन बर्षपछि फेरि प्रस्ताव गरे । तर, रेजिनाका तर्फबाट अझै हरियो बत्ति बलेन ।

निर्मललाई लाग्यो, अब रणनीति परिवर्तन गर्नुपर्छ । त्यसपछि उनले रेजिनासँग प्रेमको कुरा छोडेर अन्य खुद्रा मसिना कुरा गर्न थाले । निर्मल आफूलाई मन पर्ने गजलहरु समेटेर रेजिनालाई सुनाउन थाले । ७ बर्षको अथक प्रयासमा सहमत नभएकी रेजिना गजलका लयसँगै पग्लिँदै गइन् । त्यतिबेला रेजिना स्नातक पढ्दै थिइन् ।

निर्मललाई लाग्यो, मौका यही हो । अब उनले मायाको कुरा पनि बुझ्छिन् । फलाम तातेको छ, हान्नुपर्छ भनेर तेस्रोपटक प्रेम प्रस्ताव गरे । त्यतिबेला बल्ल हरियो बत्ती बल्यो । रेजिनाले निर्मलको प्रस्ताव स्वीकारिन् । अब प्रेम दुईतर्फी भयो ।

प्रेम त भयो, तर उनीहरु एकपटक पनि डेटिङ जान सकेनन् । नजिकै घर भएका उनीहरुलाई गाउँका सबैले चिन्थे । त्यसैले डेटिङ जान सम्भव भएन ।

रेजिना हाँस्दै भन्छिन्, ‘त्यतिबेला डेटिङ नगएकोमा अहिले पो थकथकी लाग्छ ।’

कतिसम्म भने, उनीहरु जब मायामा फसे, टेलिफोनमा घण्टौंसम्म पनि कुरा गर्थे । तर, गाउँघरमा भेट्दा भने बोल्दैनथे । रेजिना भन्छिन्, ‘कसैले देख्छ कि भन्ने डर लाग्थ्यो । त्यसैले बाटोमा भेट्दा पनि नबोली हिँड्थ्यौँ ।’

एक दिन रेजिनाको घरमा कोही नभएको मौका पारेर उनीहरुले दिनभर बसेर प्रेमालाप गरे । त्यो कुरा रेजिनाका हजुरबुवालाई थाहा भयो । साँझ परेपछि घरमा रेजिनामाथि केरकार भयो । त्यसपछि दुवैले सबैसामु एकअर्काको प्रेम स्वीकारे ।

अब प्रेम मात्र परेन, समस्या पनि पर्‍यो । निर्मलका परिवार छिमेककी केटी भएकाले खुशी भएनन् । केटीका परिवारले पनि केटो चित्त बुझाएनन् । अरु कोही नभेटेर गाउँकै चेलीलाई आँखा लगाएको भन्दै निर्मलले गाली खानुपर्‍यो ।

अभिभावकको मञ्जुरी नपाएपछि अन्त्यमा केही आफन्तको रोहबरमा उनीहरुले काठमाडौ, मैतीदेवीबाट बिहे गरे ।

निजामति सेवामा रेजिनाको प्रवेश

विवाह हुँदा निर्मल निजामति सेवामा सुब्बा तहमा जागिर खाँदै थिए । रेजिना चाहिँ स्नातक पढ्दै थिइन् । निर्मल आफ्नी श्रीमतीलाई पनि निजामति सेवाभित्रै जागिर खुवाउन चाहन्थे । त्यसका लागि रेजिनाले लोकसेवा पास गर्ने आँट गर्नुपर्थ्यो । तर, रेजिनाले शुरुमा त्यो आँट देखाउन सकिनन् ।

उनी पढाइमा अब्बल थिइन् । राम्रो अंक ल्याएर पास हुँदै आए पनि रेजिनालाई लोकसेवामा नाम निकाल्ने आत्मविश्वास थिएन । उनलाई बरु बैंकमा काम गर्ने इच्छा थियो । श्रीमान भने हरेक दिन निजामति सेवाको सुरक्षा र भविश्य देखाउँदै उनलाई त्यतातिर आकषिर्त गराउन खोज्थे । श्रीमानको लगातारको उत्प्रेरणाले उनी निजामति सेवाप्रति लोभिँदै गइन् ।

यसैबीचमा रेजिनाकी निकै मिल्ने साथीले अधिकृतमा नाम निकालिन् । त्यसपछि भने उनलाई पनि आँट पलायो ।

रेजिनाले लोकसेवा परीक्षाको तयारी थालेपछि निर्मल हरेक दिन उनलाई पढ्नुपर्ने विषयहरु सुझाउँथे । प्रश्नहरु दिन्थे र समयभित्र त्यो हल गर्न प्रेरित गर्थे । त्यसरी निर्मलले श्रीमतीलाई घरमै परीक्षाको तयारी गराउन थाले ।

निर्मल कार्यालयबाट फर्किएपछि बेलुका श्रीमतीले लेखेको कापी जाँच्थे । कहाँ-कहाँ गल्ती भयो, त्यो देखाउँदै सुधार्न लगाउँथे । यसरी रेजिनाले लोकसेवा परीक्षा दिइन् । पहिलो प्रयासमा असफल भइन् । तर, दोस्रो पटकमा अधिकृतमा नाम निकालिन् । त्यसपछि उनीहरु दुवैजना सरकारी जागिरे भए ।

जागिर खानुअघि फुर्सदिली रेजिना घरायशी काममा सीमित थिइन् । तर, अब भने दुबैलाई विहान उठ्दाउठ्दै कार्यालय जान हतारो हुन थाल्यो । उनीहरु अहिले घरायशी काम दुबैजनाले मिलेर गर्छन् ।

कार्यालयको काममा पनि श्रीमानको सहयोग

अधिकृतका रुपमा रेजिनाको पहिलो पोस्टिङ जिल्ला प्रशासन कार्यालय भक्तपुरमा भयो । त्यहाँ उनले बजार अनुगमनको काम गर्नुपर्ने भयो । र, त्यहाँ उनीमात्रै महिला कर्मचारी थिइन् ।

त्यतिबेला निर्मलले रेजिनालाई काम गर्दा ध्यान दिनुपर्ने कुराहरुदेखि अनुगमनका क्रममा चाहिने कागजपत्रदेखि हस्ताक्षर गर्दा ध्यान दिनुपर्ने विषयसम्ममा सतर्क गराउने र सुझावहरु दिए । उनले प्रमाणहरु खोज्ने तरिका पनि सिकाए ।

यस्तै कार्यक्रम सञ्चालन गर्दा रेजिनालाई कहिलेकाँही बरियताक्रम थाहा नहुने समस्या थियो । निर्मल आफैं भाषण तथा उद्घोषणको लिष्ट तयार पारेर उनलाई दिने गर्थे ।
उनीहरु एकै स्वरमा भन्छन्- श्रीमान/श्रीमती एउटै पेशामा रहँदा समस्या आउन सक्छ भन्छन्, तर हामीलाई त्यस्तो लाग्दैन । बरु समस्या हल गर्न झनै सहयोग पुगिरहेको छ

कार्यालयको काममा कुनै समस्या आए- कठिनाइ भए रेजिना पहिले आफ्नै श्रीमानसँग सल्लाह लिन्छिन् । त्यसैले पनि उनलाई निजामति सेवाभित्र काम गर्न निकै सजिलो भइरहेको छ ।

सिंहदरबारभित्रको प्रेम

यही मेसोमा हामीले सोध्यौँ, प्रेमका लागि कर्मचारी प्रशासन कति उर्बर छ ? रेजिना भन्छिन्, ‘प्रेम भावना हो, सिंहदरबारको कुनै पर्खालले हाम्रो प्रेमलाई बाधा गर्दैन । बरु थप फक्रिरहेको छ, फक्रिरहन्छ ।’

श्रीमान-श्रीमतीको प्रेम आफ्नो ठाउँमा छ, तर सरकारी कर्मचारी भएको हिसाबले उनीहरुले सेवाग्राहीलाई पनि ‘प्रेम’ गर्नुपर्ने दायित्व बोकेका छन् । यसमा कतै उनीहरु चुकिरहेका त छैनन् ?

रेजिना भन्छिन्, ‘कर्मचारीले सेवाग्राहीलाई गाढा प्रेम गर्दा बेलाबखत कर्मचारीहरु नै फस्ने अवस्था आउँछ । जस्तै कुनै नागरिक निन्याउरो अनुहार लिएर नागरिकता लिन आउँछ । कर्मचारीले प्रेमभावले नागरिकता त दिन्छ तर भोलि ऊ वास्तवमै नेपाली नागरिकता पाउन अयोग्य व्यक्ति पनि हुनसक्छ ।’ कर्मचारीले सेवा दिनेक्रममा

आवश्यक कागजपत्र खोज्दा सेवाग्राहीलाई प्रेम गर्न नसकेको आरोप लाग्ने गरेको उनको गुनासो छ ।

सँगै बसेका उनको श्रीमान निर्मलले भने थोरै भिन्न तर्क गरे । सेवाग्राहीसँग प्रेमसँगै कर्मचारी आध्यात्मिक पनि हुनुपर्ने उनले बताए । त्यसो हुँदा कर्मचारी गलत बाटोमा हिँड्न नसक्ने र प्रेम पनि गाढा रहिरहने उनको भनाइ छ ।

कर्मचारी समायोजनको त्रास

संघीयता कार्यान्वयनसँगै सरकारले केन्द्रीय तहमा रहेका कर्मचारीलाई नै स्थानीय तहमा खटाउने गृहकार्य गरिरहेको छ । उनीहरु छुट्टै जिल्ला, क्षेत्रमा परे पनि पनि त्यसका लागि तयार भएर बसेको बताउँछन् ।

रेजिना भन्छिन्, ‘निजामति सेवा ऐनले सकेसम्म श्रीमान/श्रीमतीलाई फरक जिल्ला नपार्ने ब्यवस्था गरेको छ । त्यही भएर चिन्ता छैन । तर, फरक जिल्लामा परे पनि तयार भएर बसेका छौँ ।’

यसवीचमा उनीहरुले निजामति सेवाभित्रको समस्यालाई पनि केलाएका छन् । निर्मल भन्छन्, ‘कार्यविधिमा धेरै सुधार आए पनि कर्मचारीमा जनताको नजरबाट आफूलाई हेर्ने र इमान्दार भएर काम गर्ने संस्कार विकास भइरहेको छैन । र, कर्मचारीतन्त्र पारदर्शी हुन चाहिरहेको छैन ।’

कर्मचारीले राजनीतिक नेतृत्वलाई दोष दिने र राजनीतिक नेतृत्वले कर्मचारीलाई गाली गर्ने खराब संस्कार निकै बढिरहेको उनको विश्लेषण छ । उनी भन्छन्, ‘आ-आफ्नो कर्तव्यमा कोही पनि इमान्दार भएनन् । यत्ति समस्या हल गर्न सके अहिलेको ७५ प्रतिशत समस्या हल हुन्थ्यो ।’

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment