Comments Add Comment

गोप्य मतदानमा संविधान संशोधन पारित हुने आधार सरकारसँग छः बलदेव

मनिष सुमनले भने-४८ घण्टाभित्रै सरकारको समर्थन फिर्ता लिन्छौं


१४ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले संविधान संशोधन प्रस्ताव एमालेकै समर्थनमा संसदबाट पारित गराउने गृहकार्य अगाडि बढिरहेको बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै खनालले भने,’संशोधन प्रस्ताव ढिलोमा एक महिनाभित्रै पारित हुन्छ, गोप्य मतदान गर्दा दुई तिहाई पुग्ने आधार सरकारसँग छ ।’

उनले थपे, ‘एमालेकै समर्थनमा पारित हुन्छ, त्यसो भयो भने काँग्रेस, एमाले र माओवादी केन्द्र मिलेर नै प्रस्ताव पारित गराएर चुनावमा सहमतिका साथ जान्छौं ।’ उनले संशोधन प्रस्ताव भारी मतले पारित हुने समेत दाबी गरे ।

खनालले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संशोधन प्रस्ताव पारित गराउनेबारे सहमति बन्दै गएको समेत खुलासा गरे । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका नेता एनपी साउदले मधेशी मोर्चाले भाग नलिएपनि चुनाव भएरै छाड्ने बताए । उनले भने,’चुनाव गर्नुपर्छ, कुनैपनि बहानामा चुनावलाई रोक्नुहुँदैन, मधेशी मोर्चाले विरोध गर्दैमा चुनाव नहुने भन्ने कुरा हुँदैन् ।’

साउदले भने,’एक, दुई , तीन चुनाव भएरै छाड्छ, देश अब चुनावमय भएको छ ।’ उनले आफ्नो पार्टीले चुनाव गराउन र संविधान संशोधन प्रस्ताव पारित गराउनको लागि कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे । उनले थपे,’संशोधन प्रस्ताव पनि पारित हुन्छ, एमालेले समर्थन गर्छ ।’

उनले वर्तमान सरकारले नै स्थानीय तहको निर्वाचन गराउने दाबी गरे। साउदले भने,’यही सरकारले तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन गराउँछ।’

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता डा. बंशिधर मिश्रले संविधान संशोधन प्रस्तावलाई टुँगोमा पुर्‍याउनको लागि एमालेले कुनैपनि अवरोध नगर्ने स्पष्ट पारेका छन् । मिश्रले भने,’हाम्रो पार्टी चुनावको बाधा, अड्चन हटाउनको लागि संविधान संशोधन प्रस्तावलाई प्रक्रियामै लगेर टुँगो लगाउनुपर्छ भन्ने कुरामा स्पष्ट छ, प्रक्रियाबाट आएको निश्कर्षलाई मोर्चाले पनि स्विकार्नुपर्छ, लचकता देखाउनुपर्छ ।’

उनले मधेशी मोर्चालाई चुनावमा भाग लिएर मधेशमा को कति हैसियतमा छ भन्ने कुरा प्रमाणित गराएर देखाउन चूनौति समेत दिए । उनले भने,’मधेशी मोर्चाले स्थानीय तहको चुनाव जितेर देखाए भैहाल्यो नि । ‘

मधेशी मोर्चाका नेता मनिष सुमनले मोर्चाले ४८ घण्टाभित्रै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताए । उनले भने,’हामी २४ देखि ४८ घण्टाभित्रै सरकारलाई दिएको समर्थन कुनैपनि क्षण तोड्न सक्छौं, सरकारसँगको सम्बन्ध विच्छेद गर्छौं।’

यद्यपी उनले अहिले नै समर्थन फिर्ता लिएपनि ओली र देउवामध्ये एक जना नेतृत्वमा आउने भएकोले ती सबै टेष्टेड अनुहार भएको जिकिर गरे ।

यथास्थितिमा संविधान संशोधन प्रस्ताव पारित भएपनि मोर्चा चुनावमा सहभागी नहुने उनको दाबी थियो । उनले भने,’संशोधन प्रस्ताव परिमार्जनसहित पारित हुनुपर्छ, अनिमात्रै मोर्चाले चुनावमा भाग लिन्छ, होइन भने यथास्थितिमा हामी चुनावमा भाग लिँदैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment