Comments Add Comment

अर्घाखाँचीका पौडेल सबैभन्दा कम तौलको शिक्षक !

प्रचण्डले भने- गिनिज बुकमा नाम लेखाउन पहल गर्छु

९ चैत, काठमाडौं । अर्घाखाँचीको ठूलापोखरा-२ रोहोटेपानीका कृष्णप्रसाद पौडेल संसारको सबैभन्दा कम तौल र इचाई भएको शिक्षक भएको दाबी उनका आफन्तले गरेका छन् ।

६३ वर्षीय पौडेलको तौल १२ किलो र उचाइ साढे दुई फिट रहेको परिवारका सदस्यहरुले बताएका छन् ।

भगवती निमावि ठूलापोखरा-२, रोहोटेपानीमा विद्यालय स्थापना गरी निरन्तर ४२ वर्षसम्म उनले पढाएका थिए । भोजन नलीको समस्याबाट पीडित पौडेल हाल काठमाडौंमा उपचाररत छन् ।

पौडेल र उनको भतिजोलाई माओवादी नेता टोपबहादुर रायमाझीले बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा लगेर गएका थिए । रायमाझीले पौडेलको उपचार र जिविकोपार्जनका लागि एकमुष्ट २० लाख रुपैयाँ सरकारले दिनुपर्ने बताएका थिए ।

प्रचण्डले आफू पनि पूर्वशिक्षक नै भएको भन्दै आवश्यक सहयोग रहने आश्वासन दिएका छन् ।

प्रधानमन्त्री ‘प्रचण्ड’सँगको भेटमा पौडेलले गिनिज बुकमा नाम लेखाउने कार्यमा सहयोग गरिदिन आग्रह गरेका थिए । जवाफमा प्रचण्डले सरकारको तर्फबाट सहयोग रहने बचन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

‘पौडेलको विशेष क्षमता र योगदानको सरकारका तर्फबाट उचित सम्मान र सहयोग हुन्छ भनेर प्रधानमन्त्रीले भन्नुभएको छ,’ आचार्यले भने । आचार्यका अनुसार प्रधानमन्त्री प्रचण्डले पौडेलको जिविकोपार्जनका लागिसमेत सरकारले आवश्यक सहयोग गर्ने बचन दिएका छन् ।

यसअघि पौडेलले गृहमन्त्री विमलेन्द्र निधिलाई पनि भेटेर सहयोगको आग्रह गरेका थिए । उनलाई समाजसेवी शिवदेव पाण्डेले काठमाडौंमा बस्ने र उपचार गर्ने व्यवस्था मिलाउँदै आएका छन् । उनको उपचारमा एक लाखभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment