Comments Add Comment

नेपालकै नमूना बुटवल-बेलहिया सडकमा सोलार बत्तीको झिलिमिली


१० चैत, बुटवल । नेपालकै नमूना बुटवल-बेलहिया २४ किलोमिटर लामो ६ लेन सडकमा सोलार बत्ती जडान कार्य तीव्र पारिएको छ ।

बुटवल-बेलहिया सडक नेपालको राष्ट्रिय गौरवको आयोजना हो । सडक निर्माणको काम अहिले ४५ प्रतिशत पूरा भएको छ । सडक निर्माण पूरा भएपछि करिब १ हजार ५ सय सौर्य बत्ती जडान हुने इन्जिनियर लिलाबहादुर भण्डारीले जानकारी दिए ।

पहिलो चरणमा बुटवल चौराहादेखि तिलोत्तमाको ड्राइभर टोलसम्म दुई करोड रूपैयाँभन्दा बढी लागतमा १ सय ५० सडक सौर्य बत्ती जडान गरिने छ । दोस्रो चरणमा ड्राइभर टोलदेखि मणिग्रामसम्म थप एक सय सोलार जडान गर्ने योजना छ ।

भण्डारी भन्छन्, ‘सडक बत्ती स्वचालित (अटोमेटिक) हुनेछन् । साँझ परेपछि आफै बल्ने र उज्यालो भएपछि आफै निभ्नेछन् ।’

सडकमा सौर्य बत्ती जडानले बिजुलीको खपतसँगै सडकको सुन्दरतालाई बढाउने अपेक्षा गरिएको छ ।

सडक बत्तीमा खपत भइरहेको विद्युतीय ऊर्जालाई घटाउँदै सरकारले विभिन्न शहरहरूमा सौर्य ऊर्जाबाट बत्ती बाल्ने अभियानलाई तीब्रता दिएको छ । सोही अभियान अनुसार बुटवल-बेलहिया ६ लेन सडक सोलार बत्तीले झिलिमिली बनाउन लागिएको हो ।

राष्ट्रिय गौरबको आयोजना अन्तर्गत निर्माण थालिएको सडकलाई झिलिमिली बनाउने जिम्मा नवलपरासीस्थित महेश निर्माण कम्पनीले लिएको छ । अहिले बुटवल-बेलहिया सडक निर्माण कार्य तीब्र रूपमा भइरहेको छ ।

३५-३५ मिटरको दूरीमा सडक बत्ती

अहिले बुटवलको राजमार्ग चौराहादेखि ड्राइभर टोलसम्म ३५-३५ मिटरको दूरीमा सडक बत्ती जडान कार्य तीब्र रूपमा भइरहेको छ ।

करिब ५ महिना अगाडि बुटवल र भैरहवामा गरी ७ वटा सौर्य बत्ती परीक्षणका लागि परियोजनाले जडान गरेको थियो ।

बेलहियादेखि भैरहवाको देवकोटा चोकसम्म ४० वटा सोलार बत्ती जडान कार्य पनि भइरहेको छ । बत्ती जडानको ठेक्का नवलपरासीको महेश निर्माण सेवाले लिएको छ ।

सरकारले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय तथा जनसंख्या तथा वातावरण मन्त्रालयअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत् सौर्य ऊर्जा उत्पादन गरी नेपालका मुख्य-मुख्य शहरहरूमा जडान कार्यलाई तीब्रता दिँदै आएको छ ।

बुटवल बजारमा मात्रै १४० सोलार बत्ती रहने

बुटवलमा सहरमा पनि सौर्य बत्ती जडान गरिएको छ । बुटवल उप-महानगरपालिकाले पनि सूचना प्रकाशित गरी बुटवल ५, ६, ८, ९ र १३ वडाका विभिन्न टोलमा १ सय ४० सौर्य बत्ती जडान गर्ने बताएको छ ।

उप-महानगरपालिकाका वरिष्ठ अधिकृत डोलराज पौडेलले नगरका विभिन्न वडाका सडकहरूमा सौन्दर्यका लागि सौर्य सोलार बत्ती जडान गर्न लागिएको बताए । बुटवल बजारमा मात्रै करिब एक करोड लागतमा १ सय ४० सोलार बत्ती जडान हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment