बैदेशिक रोजगारीका लागि कोरियामा रहेका नेपाली युवाहरुको समूह ‘स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकता अभियान’ले महोत्तरीमा मुसहर बस्ती बनाइरहेको धुर्मुस सुन्तली फाउण्डेसनलाई करिव १२ लाग सहयोग गरेको छ ।
कोरियामा रोजगारी गरिरहेका नेपालीहरुबाट संकनल गरिएको ११ लाख ८४ हजार ८६३ रुपैयाँ संस्थाका संयोजक सर्वजित शाहले धुर्मुस सुन्तली फाण्डेसनका अध्यक्ष सिताराम कट्टेललाई हस्तान्तरण गरे ।
संयोजक शाहले आश्वान गरिएको छोटो समयमै रकम संकलन भएको र परोपकारी संस्थालाई सहयोग गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए ।
समूहले बर्दिवास-२ महोत्तरीमा निर्माण भइरहेको एकीकृत नमुना मुसहर बस्तीमा पुगेर एक दिनको श्रमदान गर्दै आर्थिक सहयोग हस्तान्तरण गरेको हो । कोरियामा रहेका करिव ४ सय भन्दा बढी सहयोगीहरु बाट सहयोग रकम संकलन गरिएको थियो ।
यम श्रेष्ठको अगुवाईमा अभियान्ता एलवी श्रेष्ठको संयोजन र समूहमा रहेका अन्य अभियानका अभियन्ताहरुको रोहबरमा सहयोग संकलन गरिएको संयोजक शाहले बताए ।
सहयोग संकलन अभियान्ता द्वय रामदत्त जोशी र अरुण श्रेष्ठले सबैले मिलेर राष्ट्र निर्माणमा आ-आˆनो तर्फबाट सहयोग र सद्भाव देखाउनुको बिकल्प नभएको धारणा राखे ।
सहयोग हस्तान्तरण कार्यक्रममा फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले सहयोग संकलन र खुलेर सहयोग गर्ने सम्पूर्णमा धन्यवाद दिँदै राष्ट्र निर्माणमा आफूहरुलाई थप उर्जा मिलेको बताए ।