Comments Add Comment

स्थानीय चुनावमा बाबुराम र उपेन्द्रको मोर्चाबन्दी, चुनाव चिह्न मसाल

साना दलसँग पनि मोर्चाबन्दीको प्रयास

१२ बैशाख, काठमाडौं । स्थानीय तहको निर्वाचनमा नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालबीच मोर्चाबन्दी हुने भएको छ । यससँगै डा. बाबुराम भट्टराईको पार्टीले फोरमको चुनाव चिह्नमा लड्नेछ ।

नयाँ शक्तिले दलीय चुनाव चिन्ह पाउनु पर्ने माग गर्दै आन्दोलन गरेको थियो । तर, मतपत्र छापिसकेको भन्दै निर्वाचन आयोगले ऐन संशोधन गर्दा पनि माग सम्बोधन नहुने बताएपछि नयाँ शक्तिले फोरमसँग मोर्चाबन्दी गरेको हो ।

उसो त डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच पार्टी एकताकै प्रयास पनि भएको थियो । तर, चुनाव अघि पार्टी एकताको सम्भावना भने टरेको छ ।

नयाँ शक्ति र संघीय समाजवादी फोरमले एकल चुनाव चिह्न लिई चुनाव लड्न निर्वाचन आयोगमा निवेदन समेत दिएका छन् । फोरमको नाममा दर्ता भएको एक हातले समातेको मसाल चुनाव चिह्नमा निर्वाचनमा सहभागी हुन दुबै दल मञ्जुर भएको निवेदनमा उल्लेख छ ।

राजनीतिक दलसम्वन्धी ऐनको दफा ४९ मा दुई वा दुई भन्दा बढी दलले कुनै दलले पाएको चुनाव चिहृन लिएर संयुक्त रुपमा चुनाव लड्न सक्ने व्यवस्ता छ ।

साना दलसँग पनि मोर्चाबन्दीको प्रयास

नयाँ शक्ति र संघीय फोरमले केही साना दलसँग पनि चुनावी मोर्चाबन्दीको प्रयास थालेको छ ।

पछिल्लो पटक नेपाल परिवार दल र नेकपा संयुक्तसँग छलफल भएको थियो । दुबै दल मोर्चाबन्दी गर्न तयार भएपनि चुनाव चिह्नबारे सहमति हुन सकेन ।

फोरम र नयाँ शक्तिले मोर्चाबन्दीपछि चारै दलका उम्मेदवारले मसाल चुनाव चिह्न लिनु पर्ने प्रस्ताव गरेका छन् । तर, परिवार दल र संयुक्तले मानेनन् ।

संयुक्तका अध्यक्ष गणेश साहले भने, मोर्चाबन्दी गर्न तयार छौं । तर, सहमति अनुसार हाम्रो भागमा परेको ठाउँको उम्मेदवारले हाम्रै चुनाव चिह्न लिनुपर्छ ।

संघीय समाजवादी फोरम सअहध्यक्ष राजेन्द्र श्रेष्ठले पनि चुनावी मोर्चाबन्दीमा अन्य दललाई पनि सामेल गर्ने प्रयास भइरहेको तर, सहमति हुन बाँकी रहेको स्वीकार गरे । उनले भने, ‘नयाँ शक्ति र हाम्रो कन्र्फम भइसक्यो । अरु ५/६ वटा दलसँग पनि कुराकानी भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment