Comments Add Comment

‘पैताला’ को देश यात्रा

पोखरा । गनेस पौडेलद्वारा लिखित उपन्यास ‘पैताला’ देशका प्रमुख शहरमा छलफल तथा परिचर्चा यात्रा गर्ने क्रममा यतिबेला पश्चिम नेपाल पुगेको छ ।

शनिबार काठमाडौंमा लोकार्पित उपन्यास लिएर लेखक पौडेल सोमबार गृहनगर पोखरा र मंगलबार बागलुङमा छलफलका लागि पुगे भने आउँदो शनिबार बुटवल र आइतबार चितवन पुग्दै छन् ।

बुटवल र चितवनपछि कोहलपुर, दाङ, धनगढी, हेटौंडा, धरान, विराटनगर, इटहरी, झापा लगायत ठाउँमा पुस्तक यात्रा हुने प्रकाशक बुक–हिलले जनाएको छ ।

अहिलेसम्म औपचारिक रुपमा तीन जिल्ला र अनौपचारिक रुपमा विभिन्न छलफल र प्रतिक्रियाबाट उत्साही भएको लेखक पौडेलले बताए । ‘परम्परागत लेखनभन्दा फरक रुपमा पैंताला आएकाले सजिलै ग्रहण गर्न धेरैलाई अप्ठ्यारो लाग्न सक्छ’, उनले भने, ‘पाठकबाट आइरहेका फरक–फरक प्रतिक्रियाले उत्साह थपेको छ ।’

पैतालामाथिको परिचर्चामा लेखक पौडेलले उपन्यास लेखनको उद्‌गम र यसले उठाएको विषयमाथि पाठकलाई बुझाउने गरेका छन् । पैंतालाको दर्शनलाई आफूले तन्त्र, मन्त्र र यन्त्रले निर्माण गरेको भन्दै पौडेलले तान्त्रिक उपन्यास लेखेको स्पष्ट पारे ।

‘पूर्वीय दर्शनमा तन्त्र, मन्त्र र यन्त्र छ । तन्त्र भनेको विधि, मन्त्र भनेको शब्द वा ध्वनि र यन्त्र भनेको साधन वा ज्यामिति हो,’ उनले भने, ‘मन्त्रलाई विधिपूर्वक भनियो भने मात्र त्यसले असर देखाउँछ । यी दुईको प्रयोग कसरी गर्ने भन्ने जुन तरिका खोजिन्छ, त्यो तन्त्र हो । कथा लेखन पनि एउटा विधि हो । मैले पैतालाको दर्शनलाई तन्त्र, मन्त्र र यन्त्रले निर्माण गरेको छु ।’

देशका विभिन्न ठाउँमा पुगेर कथाका पात्र तयार पारेको र कथा बुनोट गरेको पौडेलले बताए ।

पुस्तक परिचर्चामा सहभागी लेखक कुमार नगरकोटीले परम्परागत नेपाली उपन्याससँग पाठकको सम्बन्ध विच्छेद हुने क्रम बढ्दै गएका बेला पौडेलले नयाँ कथा लेखेको बताए ।

उनले भने, ‘नयाँ लेखन शैली, कथा, पात्रलाई पढ्दै जाँदा छुट्टै संसारमा पुगेको अनुभूति हुन्छ ।’

पोखराका पौडेलले देशका प्रमुख पत्रिकाहरुमा विविध विषयमा लेखहरु लेख्दै आएका थिए । फरक चिन्तन राख्ने सर्जकका रुपमा चिनिएका पौडेलले पहिलो कृतिका रुपमा ‘पैताला’ उपन्यास ल्याएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment