Comments Add Comment

बिराटनगरमा कसको शक्ति कति ? यस्तो छ १९ वडाको विश्लेषण

६ असार, बिराटनगर । चुनावको नतिजा नआउँदै वा मतदान नै नहुँदै कसले जित्छ भनेर पूर्वानुमान लगाउन कठीन काम हो । तथापि मतदाताको रुझान, विगतको नतिजा र चुनाव प्रचार- प्रसारमा देखिएको ‘ट्रेन्ड’ लाई आधार मानेर भावी नतिजाको विश्लेषण गर्ने प्रचलन विश्वभरि नै पाइन्छ ।

चुनाव लडेका दलहरु र तिनका कार्यकर्ताले आफूले जित्ने निश्चित भइसकेको उनीहरुमा ‘भ्रम’ हुन्छ । जित्ने अवस्था नदेखे पनि प्रतिस्पर्धीहरुले ‘म जित्छु’ भन्नु उनीहरुको बाध्यता पनि हो ।

तर, चुनावको पूर्वसन्ध्यामा विभिन्न तथ्यहरुलाई हेरेर विश्लेषण गर्ने काम प्रोफेसनल विश्लेषण एवं पत्रकारहरुको हो ।

अब बिराटनगर महानगरपालिकाको मेयरको कुर्सीमा को बिराजमान होला ? मतदानको दिन नजिकिँदै गर्दा यसबारे विभिन्नखाले टिप्पणी र विश्लेषण हुन थालेका छन् ।
हामीले यहाँ बिराटनगर महानगरपालिकाका १९ वटै वडामा कुन-कुन दलको प्रभाव कस्तो छ भन्नेबारे सामान्य विश्लेषण गर्ने प्रयास गरेका छौं ।

कुन वडामा कुन पार्टीको स्थिति के छ भनेर ठ्याक्कै विश्लेषण गर्ने पर्याप्त आधारहरु छैनन् । र, भविश्यको विषयमा यसरी ठोकुवा नै गर्न पनि सकिँदैन । तर, बिराटनगरको विगतको अवस्था र हालको सामान्य स्थितिमा टेकेर सामान्य विश्लेषण गर्ने प्रयास गरिएको छ ।

बिराटनगर महानगरपालिकामा कुल १९ वडा छन् । यहाँ कुल १ लाख १३ हजार ७ सय ६१ मतदाता छन् । फरक-फरक वडामा फरक-फरक दलहरुको प्रभाव छ । र, ती वडाहरुको मतदाता संख्या पनि फरक- फरक छ ।

कुन वडाको स्थिति के छ ?

अघिल्लो संविधान सभाको चुनावको मतपरिणाम र हालको राजनीतिक गतिविधि समेतलाई हेर्दा १ नम्वर वडामा एमालेको होल्ड देखिन्छ । यो वडामा ६ हजार ४ सय ४२ मतदाता छन् ।

वडा नम्बर २ मा ५ हजार ६ सय ६६ मतदाता छन् । यो वडामा एमाले र कांग्रेसको प्रतिस्पर्धा छ ।

वडा नं ३ मा पनि कांग्रेस र एमालेको लगभग समानान्तर प्रतिस्पर्धा देखिन्छ । यो वडामा ९ हजार २ सय ४५ मतदाता छन् ।

बिराटनगरको ४, ५ र ६ नम्वर वडालाई भने कांग्रेसको ‘पकेड क्षेत्र’ का रुपमा हेर्ने गरिएको छ । यी तीनवटा वडाको कुल मतदाता संख्या २० हजार ३ सय ६ छ । वडा नम्बर ७ मा एमाले, काग्रेस र मधेसकेन्दि्रत दलको मिश्रति प्रभाव छ । यो वडामा १० हजार ५ सय ६९ मतदाता छन् ।

मुख्य व्यापारिक क्षेत्रअन्तर्गत पर्ने वडा नम्बर ८, ९ र १० मा कांग्रेसप्रति बढी झुकाव देखिन्छ । यहाँको कुल मतदाता संख्या १७ हजार ९ सय ९२ छ । यी वडाहरुमा विषेश गरी माडवारी समुदाय र पहाडे समुदायका ‘एलिट’ वर्गको वसोबास छ ।

वडा नम्बर ११ र १२ लाई कांग्रेस प्रभावित क्षेत्र मानिन्छ । यी दुई वडामा कुल मतदाता १३ हजार ४ सय ४० छन् ।

बिराटनगरको रोडशेष चोक, दक्षिणी क्षेत्रलगायत आसपासको क्षेत्र अन्तर्गत पर्ने १३ नम्वर वडामा भने एमालेको पकड राम्रो रहेको पाइन्छ । यो वडामा ३ हजार ६ सय ८६ मतदाता छन् ।

वडा नम्वर १४ मा एमाले र कांग्रेसवीच प्रतिस्पर्धा देखिन्छ । यो वडामा ५ हजार १ सय ५१ मतदाता रहेका छन् । महानगरको वडा नम्बर १५ मा एमालेको प्रभाव छ । यो वडामा ६ हजार २ सय ९५ मतदाता छन् । यी बाहेकका अन्य वडाहरु १६ ,१७ ,१८ र १९ मा मुख्यतः मधेस केन्दि्रत दल र त्यसपछि नेपाली कांगे्रसको प्रभाव देखिन्छ । यी चार वडामा कुल १५ हजार ९ सय ३ मतदाता छन् ।

मतदाताको रुझान

गत संविधानसभा चुनावको परिणामका आधारमा मूल्याङन गर्दा महानगरमा विषेशतः कांग्रेस, मधेस केन्द्रित दलहरु, माओवादी र एमालेको प्रभाव देखिन्छ ।

एमालेको मत बिराटनगरको उत्तरी बेल्टमा बढी देखिन्छ । कांग्रेसको मत बजारको मध्यक्षेत्रका साथै दक्षिणी भेगमा देखन्छि । साथै बजार क्षेत्रमा पनि कांग्रेसको प्रभाव देखिँदै आएको छ ।

मधेस केन्द्रित दल संघीय समाजवादी फोरम र लोकतान्त्रिक फोरमले रोडशेष चौकबाट दक्षिणी क्षेत्रमा प्रभाव राखेको पाइन्छ ।

संविधानसभाको तथ्यांक

महानगरपालिकाभित्र पर्ने निर्वाचन क्षेत्र नम्बर ६ र ७ मा दोस्रो संविधानसभामा फोरम लोकतान्त्रिकका उम्मेदवार नेपाली कांग्रेससँग थोरै मतले पराजित भएका थिए । यस आधारमा लोकतान्त्रिक फोरम नेपाली कांग्रेसपछिको दोस्रो शक्ति हो ।

तर, दोस्रो संविधानसभाको मत परिणामलाई आधार मान्ने हो भने माओवादी तेस्रो र एमाले चौथो स्थानमा थियो । अहिले दोस्रो शक्ति लोकतान्त्रिक फोरमसँग एमालेले तालमेल गरेको छ ।

दोस्रो संविधानसभा निर्वाचनको समानुपातिक मत परिणाम हेर्दा कांग्रेस पहिलो, राप्रपा दोस्रो, फोरम नेपाल तेस्रो, फोरम लोकतान्त्रिक चौथो, माओवादी पाँचौं र एमाले छैठौं स्थानमा थिए ।

दोस्रो संविधानसभामा कांग्रेसले २९ हजार, राप्रपाले २३ हजार, फोरम नेपालले १८ हजार, फोरम लोकतान्त्रिकले १५ हजार, माओवादीले १२ हजार र एमालेले ११ हजार मत पाएका थिए

पाँच दलवीच त्रिपक्षीय भीडन्त

बिराटनगर महानगरको मेयरमा नेपाली कांग्रेसका तर्फबाट भीम पराजुली एक्लै भिड्दैछन् । कांग्रेसबाट उपमेयरमा इन्दिरा कार्की पनि कसैसँग तालमेल नगरी मैदानमा छिन् ।

त्यसैगरी नेकपा एमालेबाट मेयरमा विनोद ढकाल उठेका छन् । एमालेले विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमसँग तालमेल गरेको छ । उपमेयरमा एमालेसँगको तालमेलका आधारमा लोकतान्त्रिक फोरमबाट विजय गच्छदारकी भतिजी बुहारी सुची चौधरी उठेकी छिन् ।

संघीय समाजवादी फोरमबाट उमेश यादव मेयरमा उठेका छन् । यादवलाई माओवादी केन्द्रले साथ दिएको छ । फोरमसँगको तालमेलका आधारमा माओवादीबाट उपमेयरमा नमिता न्यौपाने उठेकी छिन् ।

यो पनि पढ्नुस्

बिराटनगरका मेयर उम्मेदवार उमेश यादवः मधेसको छोरो, पहाडको ज्वाइँ !

बिराटनगरका ३ बुहारीः जो उपमेयरमा भिड्दैछन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment