Comments Add Comment

वीरगञ्जमा एकै दिन १० जना कोरोना संक्रमितको मृत्यु

२७ वैशाख, वीरगञ्ज । पछिल्लो २४ घण्टामा वीरगञ्जमा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । आइतबार बेलुका ७ बजेदेखि सोमबार बेलुका ७ बजेसम्ममा १० जनाको मृत्यु भएको हो ।

नारायणी अस्पतालमा ५ जना, नेशनल मेडिकल कलेजले बाबा होटलमा सञ्चालन गरेको कोरोना अस्पतालमा ३, एडभान्स अस्पताल र वीरगञ्ज हेल्थ केयर अस्पतालमा १÷१ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

नारायणी अस्पतालमा मात्रै सोमबार पर्साका ३ र बाराका २ जना गरी ५ जनाको मृत्यु भएको कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए ।

वीरगञ्ज महानगरपालिका–१० कि ६९ वर्षीया महिलाको आइतबार अपरान्ह ४ः२० बजे मृत्यु भएको छ । नारायणीमै वीरगञ्ज–४ कि ४० वर्षीया महिलाको आइतबार साँझ साढे ६ बजे मृत्यु भएको छ । उनीहरु दुवैलाई वैशाख २३ गते भर्ना गरिएको र सोही दिन गरिएको एन्टिजेन परीक्षण पोजेटिभ आएको थियो ।

पर्साको बहुदरमाई नगरपालिका–२ सिसयारी बैरियाका ६५ वर्षीय पुरुषको नारायणी अस्पतालमै उपचारको क्रममा मृत्यु भएको छ । वैशाख २३ गते नारायणी अस्पतालमा भर्ना भएका उनमा सोही दिन गरिएको एन्टिजेन परीक्षण विधिबाट कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारको क्रममा सोमबार बिहान ९ बजे उनको मृत्यु भएको थियो । उनी हृदय रोगबाट पनि पीडित थिए ।

वैशाख २६ गते बाराको जीतपुर सिमरा उपमहानगरपालिका– १४ बेहरी बस्ने ७० वर्षीय पुरुषलाई बैशाख २६ गते नारायणी अस्पताल वीरगञ्जमा उपचारका लागि ल्याइएको थियो । सोही दिन गरिएको एन्टिजेन परीक्षण पछि उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारकै क्रममा सोमबार बिहान पौने ११ बजे उनको मृत्यु भएको अस्पताललाई उधृत गर्दै जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

बाराको निजगढ नगरपालिका– ७ निजगढ टोल बस्ने ६० वर्षीय पुरुषलाई ज्वरो तथा श्वास प्रश्वासको समस्या देखिएपछि वैशाख १७ गते उपचारका लागि नारायणी अस्पताल लगिएको थियो । वैशाख १८ गते गरिएको एन्टिजेन परीक्षण पोजटिभ आएपछि आइसोलेसनमा राखेर उपचार चलिरहेको थियो । उपचारको क्रममा सोमबार बिहान २ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

नेशनल मेडिकलको कोरोना अस्पतालमा बाराका १ जना र पर्साका २ जनाको मृत्यु भएकोे इन्चार्ज डा. ओमप्रकाश कुशवाहाले जानकारी दिए ।

यहाँ वीरगञ्ज– २ छपकैयाका ६५ वर्षीय पुरुषको उपचारको क्रममा सोमबार बिहान साढे १० बजे उनको मृत्यु भएको छ । वैशाख १८ गते अस्पताल भर्ना भएका उनको २० गते गरिएको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

वीरगञ्ज– १३ मुर्ली का ६५ वर्षीय पुरुषको सोमबार बिहान साढे २ बजे मृत्यु भएको छ । वैशाख १८ गते भर्ना भएका उनको २० गते गरिएको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । एक डोज भ्याक्सिनसमेत लगाइसकेका उनमा कडा कोभिड निमोनिया देखिएको थियो । उनी उच्च रक्तचापका बिरामी थिए ।

मिर्गौलाको समस्या भएका बाराको कलैया उपमहानगरपालिका– ५ का ५२ वर्षीय पुरुषको पनि सोमबार मृत्यु भएको छ । बिहान ११ः२० बजे उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । नेशनलको कोरोना अस्पतालमा १८ जना महिलासहित ६४ जना अक्सिजन चाहिने संक्रमित उपचाररत छन् । १० जना संक्रमित भेन्टिलेटरमा छन् । अस्पतालमा २० बेड आईसीयु, १६ बेडको एचडीयु र बाँकी जनरल वार्ड छ । शंकास्पद संक्रमित ७२ जनाको उपचार भइरहेको अस्पतालले जनाएको छ ।

वीरगञ्ज हेल्थ केयर अस्पतालका वीरगञ्ज १० आदर्शनगरकी ६० वर्षीया महिलाको मृत्यु भएको छ । वैशाख २३ गते भर्ना भएकी उनको सोही दिन गरिएको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । उपचारकै क्रममा सोमबार बिहान साढे १२ बजे उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए ।

कोरोना संक्रमणबाटै वीरगञ्जको एडभान्स अस्पतालमा पर्साको धोविनी गाउँपालिकाकी ७० वर्षीया महिलाको मृत्यु भएको छ । वैशाख २५ गते एडभान्स अस्पतालमा भर्ना भएकी उनको पीसीआर परीक्षणका लागि आइतबार स्वाब नमुना संकलन गरिएको थियो । तर पीसीआर रिपोर्ट आउनुअघि सोमबार बिहान ५ बजे उनको मृत्यु भएको थियो । नेपाली सेनाले शव व्यवसथापन गरिसकेपछि साँझ रिपोर्ट पोजेटिभ आएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment