Comments Add Comment

ग्यास सिलिन्डरमा अक्सिजन भर्न सकिन्छ ?

२६ वैशाख, काठमाडौं । कोभिड १९ महामारीको दोस्रो लहर तीव्र रुपमा फैलिएको छ । संक्रमित बिरामीको चाप बढेसँगै अस्पतालहरूमा उपचाररत बिरामीलाई अक्सिजन सपोर्ट अनिवार्य जस्तै भएको छ ।

अस्पताल भर्ना भएका प्राय बिरामीलाई अक्सिजन सपोर्ट आवश्यक भएपछि अक्सिजनको अभाव  चुलिएको छ । पर्याप्त मात्रामा अक्सिजन उत्पादन भए पनि अक्सिजन भर्ने सिलिन्डर भने अभाव भएको छ । सिलिन्डर अभावमा अक्सिजन  वितरणमा समस्या व्यहोर्नुपरेको अक्सिजन उत्पादकहरूको भनाइ छ ।

महामारीले जसरी उच्च रूपमा फैलँदै गएको छ यही अवस्था कायम रहे अहिले उपलब्ध अक्सिजन सिलिन्डरले कुनै हालतमा थेग्न नसक्ने उत्पादकहरूको भनाइ छ ।

सरकारले २० हजार अक्सिजन सिलिन्डर खरिद प्रक्रिया थालेको बताएको छ । छिमेकी मुलुक चीनले २० हजार सिलिन्डर अनुदानमा दिने भनेपछि आज मात्रै चार हजार सिलिन्डर लिन नेपाल एयरलाइन्सको विमान त्यसतर्फ जाँदै छ ।

तर सरकारले खरिद गर्ने भनेको र सबै अनुदनाका सिलिन्डर कहिले नेपाल आइपुग्ने कुनै टुंगो छैन ।

अक्सिजन अभावमा बिरामीको मृत्यु भएकै घटना बाहिरिएपछि यतिबेला बहस चलेको छ, ‘खाना पकाउने रित्तो सिलिन्डरमा अक्सिजन भर्न मिल्छ ?’

ठूलो संख्यामा सिलिन्डर उपलब्ध हुने, देशव्यापी वितरण सञ्जाल भएको र आपूर्तिका लागि सहज भएका कारण मानिसहरूले जिज्ञासा राखिरहेका छन् । मिल्छ भने खाना पकाउने रित्तो सिलिन्डरबाट अक्सिजनको अभाव पूर्ति गरौँ ।

सिमलेस फलामको ५.३ एमएम थिकनेसमा अक्सिजनको सिलिन्डर बनेको हुन्छ । यसमा राख्नसक्ने अक्सिजन १५० बार हुन्छ । त्यो भनेको सात हजार ५० लिटर अक्सिजन अट्नसक्ने भनिएको हो । यदी ६ लिटर प्रतिमिनेट अक्सिजन चाहिने बिरामीलाई यो सिलिन्डरको अक्सिजनले २० घण्टा धान्छ

के एलपीजीको सिलिन्डरमा अक्सिजन भर्न मिल्छ ?

यो आम जिज्ञासाको समाधानका लागि हामीले अक्सिजन क्षेत्रमा झण्डै चार दशक बढी काम गरेका इन्जिनियर सुरेन्द्रभक्त माथेमालाई हामीले यही प्रश्न सोध्यौं, ‘के अक्सिजन अभावको पूर्ति ग्यासको खाली सिलिन्डरमा भरेर सम्भव छ ?’

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सैनिक अस्पताल छाउनीसहितका कयौं अस्पतालको अक्सिजन प्लान्ट निर्माणको काम गरेका माथेमा अहिले बि एण्ड बी अस्पतालको टेक्निकल कन्सल्ट्याण्टको रूपमा कार्यरत छन्।

हाम्रो प्रश्नपछि माथेमाले अक्सिजन सिलिन्डर र ग्यासको सिलिन्डरको भिन्नता बुझाए । जसअनुसार अक्जिनको हाल प्रयोजनमा रहेको जम्बो सिलिन्डर (आइएसओ ९८०९-१) ४८.८ किलोको हुन्छ । र यसको आयतन ४७ लिटर हुन्छ । यो सिलिन्डरमा हामीले पानी भर्ने हो भने ४७ लिटर अट्छ ।

सिमलेस फलामको ५.३ एमएम थिकनेसमा अक्सिजनको सिलिन्डर बनेको हुन्छ । यसमा राख्नसक्ने अक्सिजन १५० बार हुन्छ । त्यो भनेको सात हजार ५० लिटर अक्सिजन अट्नसक्ने भनिएको हो । यदी ६ लिटर प्रतिमिनेट अक्सिजन चाहिने बिरामीलाई यो सिलिन्डरको अक्सिजनले २० घण्टा धान्ने उनी बताउँछन् ।

यदी प्रतिमिनेट दुई लिटर अक्सिजन चाहिन्छ भने ४९ घण्टा उक्त सिलिन्डरले धान्छ । हाल कोभिडको निकै जटिल अवस्थाका बिरामीलाई हाइफ्लो अक्सिजन (सिप्याप) मार्फत उपचार गराउँदा प्रतिमिनेट ६ लिटर अक्सिजन खपत हुने माथेमाको भनाइ छ ।

निकै ढिलागरी अस्पताल पुगेका बिरामीलाई ५० लिटर प्रतिमिनेट अक्सिजन चलाउनुपर्छ र त्यस्तो अवस्थामा ठूलो सिलिन्डरले साढे दुई घण्टा मात्रै धान्छ । यस्तो अवस्थामा एउटै विरामीलाई दिनभरी दिन १० वटा सिलिन्डर समेत चाहिने हुनसक्ने उनको भनाइ छ । यसैको आधारमा अक्सिजनको सिलिन्डर डिजाइन गरिएको हुने माथेमा बताउँछन् ।

अक्सिजनको तुलनामा खाना पकाउने ग्यासको सिलिन्डर कमजोर र निकै सानो हुने उनको भनाइ छ । तथापि एलपी ग्यासको सिलिन्डरका ग्यास भर्नै नमिल्ने भने नहुने उनले बताए ।

इन्जिनियर सुरेन्द्रभक्त माथेमा भन्छन्- खाना पकाउने ग्यास सिलिन्डरमा ६.५ केजी पर सेन्टीमिटर स्वाक्यार (बार) मा अक्सिजन भर्न भने सकिने माथेमा बताउँछन् । उक्त मात्रामा अक्सजिन भर्दा एउटा सिलिन्डरमा जम्मा २१७ लिटर मात्रै अक्सिजन भर्न सकिन्छ ।

नेपालमा पाइने आन्तरिक खपतको सिलिन्डरमा १४.२ किलो ग्यास अट्ने  र त्यसलाई खाली गरेर पानी हाल्ने हो भने एक सिलिन्डरमा ३३.३ लिटर पानी अट्ने उनी बताउँछन् । खाली सिलिन्डर १५.३ र ग्यास १४.२ किलोको हुने उनले बताए । एलपीजी सिलिन्डरको डिजाइन प्रेसर १६.९ मात्रै रहेको उनको भनाइ छ । जुन अक्सजिन सिलिन्डरको तुलनामा निकै कम हो ।

यदी १६ भन्दा बढी प्रेसर सिलिन्डरलाई दिइयो भने पडि्कने उनको भनाइ छ । तर सोही सिलिन्डरमा ६.५ केजी पर सेन्टीमिटर स्वाक्यार (बार) मा अक्सिजन भर्न भने सकिने माथेमा बताउँछन् । उक्त मात्रामा अक्सजिन भर्दा एउटा सिलिन्डरमा जम्मा २१७ लिटर मात्रै अक्सिजन भर्न सकिने उनले बताए । जुन हालको अक्सिजन सिलिन्डरको तुलनामा निकै कम र दुःखको काम मात्रै हुने उनी बताउँछन् ।

यसबाहेक सिलिन्डरमा अक्सिजन भर्ने प्रणाली र त्यसलाई अस्पतालको प्रयोगमा पठाउने भल्ब लगायतका अन्य प्रणाली पनि मेल नखाने भएकाले अक्सिजन भर्न सकिए पनि प्रभावकारी भने नहुने उनको सुझाव छ ।

नेपाल ग्यासले गरेको थियो प्रयास

बजारमा अक्सिजन सिलिन्डरको अभाव भएका समाचारहरू सार्वजनिक भएपछि नेपालमै सिलिन्डरसमेत उत्पादन गर्ने नेपाल ग्यास उद्योगले एलपीजीमा अक्सिजन भर्न सकिनेबारे अध्ययन गरेको उद्योगका एक अधिकारीले बताए ।

‘सिलिन्डर आखिर सिलिन्डर नैत हो मिल्छ भने भरौं भनेर प्राविधिक अध्ययन गराएका थियौं तर नसक्ने निश्कर्षमा पुगियो,’ उद्योगका ती अधिकारीले अनलाईनखबरसँग भने ।

खाना पकाउने ग्यासको सिलिन्डरले धान्ने प्रेसर अक्सिजन सिलिन्डरको तुलनामा निकै कमजोर हुने र दुई प्रकारका सिलिन्डरमा प्रयोग हुने फलामको मोटाईमा निकै अन्तर पाइएको ती अधिकारीको भनाइ छ ।

यता नेपाल अक्सिजन उत्पादक संघले भने एलपीजीमा अक्सिजन भर्छु भन्ने कुरा एक सय प्रतिशत गलत भएको बताएको छ । ‘यो विषयमा मैले पनि बहस भएको सुने, यो निकै लाजमर्दो कुरो हो र सय प्रतिशत गलत हो,’ संघका महासचिव नारायणदत्त तिमिल्सनाले भने, ‘अक्सिजनको एउटा सिलिन्डर २० हजार रुपैयाँमा हामीले खरिद गरिररहेका छौं, तीन हजारमा ग्यासको सिलिन्डर पाइन्छ । यहीबाट थाहा हुन्छ कि यो सिलिन्डर अक्सिजन भर्नका लागि होइन ।’

उनले अक्सिजन सिलन्डरको विकल्प नभएको बताए । अक्सिजन अभाव चुलिदैं गएपछि यसको उत्पादन, आपूर्तिको सम्पूर्ण विवरण उद्योग विभागले संकलन गरेको छ । जसअनुसार निजी क्षेत्रका उद्योगहरूसँग भएको हालसम्मको विवरणअनुसार देशभर एक लाख ८ हजार १६४ वटा अक्सिजन सिलिन्डर  रहेको उद्योग विभागका महानिर्देशक जीवलाल भुसालले बताए ।

निजी अक्सिजन उद्योगहरूले उद्योग विभागमा बुझाएको विवरणअनुसार नेपालभर ६९ हजार ३५० वटा ठूला अक्सिजन सिलिन्डर छन् भने ३८ हजार ८१४ वटा साना सिलिन्डर छन् ।

काठमाडौं उपत्यकामा मात्रै ठूलो सिलिन्डर ४७ हजार र सानो २९ हजार ९१० वटा छन् । यस्तै काठमाडौं बाहिर २२ हजार ३५० वटा ठूलो र  ८ हजार ९०४ वटा साना सिलिन्डर रहेको महानिर्देशक भुसालले बताए ।

अक्सिजनको माग झण्डै ८० प्रशितले बढेका कारण सिलिन्डरहरू होल्ड हुने क्रम बढेको र भएका सिलिन्डर पर्याप्त नरहेको महानिर्देशक भुसालको भनाइ छ ।

नेपालमा ग्यास सिलिन्डर कति ? 

नेपाल एलपी ग्यास उत्पादक संघका अनुसार देशभर एक करोड ५० लाखको संख्यामा एलपी ग्यासका सिलिन्डर छन् । जसमध्ये दैनिक सरदर एक लाख ओटा सिलिन्डर रिक्तो हुने गरेको संघका अध्यक्ष गोकुल भण्डारीले बताए ।

‘सामान्य अवस्थाको खपत हेर्दा दैनिक एक लाख र मासिक ३० लाखभन्दा बढी सिलिन्डर रिफ्यूलिङका लागि जाने गरेको दखिन्छ,’ अध्यक्ष भण्डारीले भने ।

यता नेपाल आयल निगमले हालको सरदर बिक्री हेर्दा दैनिक ८० देखि ८५ हजार गोटा सिलिन्डर बजारमा खाली हुने गरेको बताएको छ ।

‘सातामा दुई दिन बिदा हिसाब गर्दा पाँच दिनमा हुने रिफ्यूलिङले दैनिक औषत एक लाख सिलिन्डर खाली हुनसक्छ,’ निगमका प्रवक्ता विनितमणि उपाध्ययले भने । निषेधाज्ञामा ग्यासको औद्योगिक र व्यापारिक खपत हृवात्तै घटेका कारण एक महिनाको आधि मात्रै सिलिन्डर हिसाब गर्ने हो भने झण्डै १५ लाख सिलिन्डर खाली भएको हुनसक्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment