Comments Add Comment

कोरोना संक्रमणबाट एकै दिनमा १३९ जनाको मृत्यु

२७ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट देशभर एकैदिन १३९ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमण देखिएयता एक दिनमा मृत्यु भएको यो नै उच्च संख्या हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो एक सातामा कोरोनाबाट मृत्यु हुनेको संख्या ह्वातै बढेको देखिन्छ । वैशाखको पहिलो साता दैनिक मृत्यु हुनेको संख्या १० भन्दामुनि थियो । वैशाख २१ बाट ५० माथि लाग्यो । त्यस दिन ५५ जना संक्रमितको मृत्यु भएको छ । २२ गते ५८, २३ गते ५४ र २४ गते ५० जनाको मृत्यु हुँदा २५ गते ५३ जनाले ज्यान गुमाए । २६ गते ८८ जना मृतक थपिएका थिए र सोमबार एकैदिन (१३९ को मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार वैशाख महिनाको २७ दिनमा ८०१ जनाको मृत्यु भएको छ । उनीहरुमध्ये ४९७ जनाको पछिल्लो एक सातामा मृत्यु भएको हो ।

किन बढ्दै छ मृत्युको संख्या ?

जनस्वास्थ्यविद् शेरबहादुर पुनका अनुसार कोरोनाविरुद्धको लडाईंमा नेपाल रक्षात्मक अवस्थामा पुगिसकेको छ । नेपालमा अहिले युके भेरियन्ट र डबल म्युटेन्ट भेरियन्ट देखिएको छ, जुन पहिलाको भन्दा तीव्र गतिमा फैलिन्छ ।

त्यसमाथि पछिल्लो समय राजनीतिक उतार चढावसँग भएका गतिविधि र जात्रापर्व लगायतमा भएको भीडभाडले संक्रमण झन् फैलियो । नयाँ भाइरसले कस्तो अवस्थासम्म ल्याउनसक्छ भन्ने भारतमा देखिसकिएको थियो । त्यस्तै झिल्को नेपालगञ्जमा देखिएको भन्दै उनले जनघनत्व बढी भएका ठाउँहरुमा त्यसरी नै संक्रमण फैलिने हो भने अनुमान गरेभन्दा कठिन अवस्था आउनसक्ने विश्लेषण सुनाए ।

‘संक्रमण घरघरमा पुगेको हामीले चाल पाएनौं । अब भाइरसले जे गर्नसक्ने हो, त्यो गर्छ’ डा. पुनले अनलाइनखबरसँग भने, ‘हिजो हामी कसरी बच्ने भन्नेमा थियौं । अब कसरी बचाउने भन्ने फेजमा पुगेका छौं ।’

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारी पनि अस्पताल आएका अधिकांश संक्रमितलाई भेन्टिलेटर, आईसीयू जस्ता अक्सिजनसहित उपचार जरुरी देखिएको छ । तर सहज रुपमा उपचार पाउने अवस्था छैन ।

अधिकांश अस्पताल संक्रमितले भरिएका छन् । ‘सुरुमा अस्पताल नआउने तर, सिकिस्त भएपछि मात्र उपचारका लागि आउने प्रवृत्ति अहिले छ,’ डा. राजभण्डारी भन्छन् ।

थप ९२७१ मा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ९,२७१ जना संक्रमित थपिएका छन् । १७ हजार ६२३ जना पीसीआर परीक्षण र ७८८ जनाको एन्टिजेन परीक्षणमा यो संख्यामा संक्रमित भेटिएका हुन् ।

पछिल्लो २४ घण्टामा ४००७ जना संक्रमणमुक्त भएका छन् । सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

तीमध्ये ६७१५ जना संस्थागत आइसोलेसनमा र ५६ हजार ४२६ जना होम आइसोलेसनमा रहेका छन् । हाल आईसीयूमा ९१० जना र २९५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

उपत्यकामा संक्रमित घटे

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ३ हजार ६०७ जना कोरोना संक्रमित थपिएका छन् । जसमा काठमाडौंका २ हजार ७७५, ललितपुरका ५०५ र भक्तपुरका ३२७ जना छन् ।

यसअघि आइतबार उपत्यकाका ३ जिल्लामा ४१९८ जना संक्रमित भेटिएका थिए । जसमा काठमाडौंका ३१६१, ललितपुरका ५३३ र भक्तपुरका ५०४ जना थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा रुपन्देहीमा ५३०, कास्कीमा ४७३, मोरङमा ३९९, कञ्चनपुरमा ३९५, चितवनमा ३९२, कैलालीमा ३४०, बाँकेमा २९५, दाङमा २४६ तथा मकवानपुरमा २३८ जनामा संक्रमण पुष्टि भएको छ । झापामा १५४, पर्सामा १४४, धनुषामा १४४, काभ्रेमा १२७, कपिलवस्तुमा ११५ तथा पाल्पामा १०८ जना संक्रमित थपिएका छन् ।

यसैगरी सुनसरीमा ९४, महोत्तरीमा ८९, रौतहटमा ७७, नवलपरासी पश्चिममा ७६, अछाममा ७३, धादिङमा ७०, गोरखामा ६२ र उदयपुरमा थप ५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८१५, प्रदेश २ मा ५५३, वागमती प्रदेशमा ४ हजार ५२०, गण्डकीमा ७७३, लुम्बिनीमा १ हजार ५५७, कर्णालीमा ५६ र सुदूरपश्चिम प्रदेशमा ८५३ जना कोरोना संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment