Comments Add Comment

संसदले दिएन विश्वासको मत, प्रधानमन्त्री ओली पदमुक्त

२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्ताव सोमबार प्रतिनिधिसभामा बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् ।

आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भनी प्रधानमन्त्री ओलीले राखेको प्रस्तावको पक्षमा ९३ मत पर्‍यो भने प्रस्तावको विपक्षमा १२४ मत परेको छ । बैठकमा उपस्थित २३२ सांसदमध्ये १५ जना तटस्थ बसे ।

प्रस्तावको पक्षमा परेको ९३ मत प्रतिनिधिसभामा कायम रहेको सदस्य संख्याको बहुमत कायम नभएकाले अस्वीकृत भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरे ।

प्रधानमन्त्रीले पाएनन् आफ्नै दलको मत

संसदको सबभन्दा ठूलो दल एमालेका १२१ सांसद छन् । तर प्रधानमन्त्री ओलीले आफ्नै दलको सबै मत पाउन सकेनन् । एमालेमा समानान्तर संरचना बनाएको माधवकुमार नेपाल पक्षका २८ सांसद बैठकमा अनुपस्थित भएका थिए ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाले विपक्षमा मत दिएका छन् । यस्तै जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका १५ सांसद तटस्थ बसेका छन् ।

बहुमतको सरकार बनाउँछौं

प्रधानमन्त्री ओली पदमुक्त भएसँगै कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गर्दै संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया सुरु गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् ।

तीनै दलका नेताहरुले पनि बहुमत जुटाएर नयाँ सरकार बनाउने दाबी गरेका छन् । संसद बैठकपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेका छन्, ‘अब ७६(२) अनुसार दुई वा दुईभन्दा बढी दलको सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गर्नुपर्छ, हामी बहुमत पुर्‍याएर सरकारमा जान्छौं ।’

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले पनि वैकल्पिक सरकार बनाउन प्रयत्न गर्ने बताए । सोमबार संसदको बैठकमा उपस्थित बहुमत सदस्यले केपी ओली प्रधानमन्त्री नरहनु भन्ने मत प्रकट गरेको भन्दै उनले भने, ‘हाम्रो प्रत्यत्न अनुसार नयाँ प्रधानमन्त्री बन्नु हुनेछ भन्ने हाम्रो विश्वास छ ।’

सरकार गठनका लागि चाहिने १३६ मत कसरी पुर्‍याउनु हुन्छ भन्ने प्रश्नमा माओवादी केन्द्रका नेता वर्षमान पुनले भने, ‘जनता समाजवादी पार्टी नै निर्णायक छ । १५ मत विपक्षमा परेको छ भने १७ मतले तटस्थता व्यक्त गरेको छ । उहाँहरुले प्रधानमन्त्रीलाई समर्थन छैन भने पनि वैकल्पिक गठबन्धनलाई समर्थन हुने सम्भावनालाई हेरेका छौं, अरु थुप्रै सम्भावना छन् ।’

जसपा अध्यक्ष उपेन्द्र यादवले पनि नयाँ सरकार गठनबारे पार्टीमा छलफल हुने बताए । सोमबार भएको मतदानमा जसपाका ३२ सांसद महन्थ ठाकुर–राजेन्द्र महतो र बाबुराम भट्टराई–उपेन्द्र यादवको पक्षमा आधा–आधा देखिएका छन् ।

बैठकमा उपस्थित ३० मध्ये १५ जनाले अविश्वासको प्रस्तावको पक्षमा मत दिएका थिए भने १५ जना तटस्थ बसे । बैठकमा अनुपस्थित दुई जनामध्ये एक/एक जना दुबै पक्षमा रहेको जसपाका नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment