Comments Add Comment

नयाँ सरकार गठनमा राष्ट्रपतिको भूमिकाको प्रतीक्षा

२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत नपाएर पदमुक्त भएपछि अब नयाँ सरकार गठनको प्रक्रिया कसरी सुरु हुन्छ भन्ने चासो छ ।

विपक्षी दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको डा.बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा दुई भन्दा बढी दलको सहभागितामा बहुमतको सरकार गठनको प्रक्रिया सुरु गर्नुपर्ने बताएका छन् । सत्तारुढ नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली पक्षले नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्ने अधिकार राष्ट्रपतिमा रहेको प्रतिक्रिया दिएको छ ।

संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसंग कुरा गर्दै एमालेका उपनेता सुवास नेम्वाङले बहुमतको सरकार गठन हुने कि सबैभन्दा ठूलो दलको हैसियतमा पुनः केपी शर्मा ओली नै प्रधानमन्त्री नियुक्त हुने भन्ने विषयका लागि केही समय कुर्न आग्रह गरे ।

राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार बहुमतकै सरकार गठनका लागि आह्वान गर्नुहुन्छ कि के गर्नुहुन्छ ? भन्ने पत्रकारहरुको प्रश्नमा उपनेता नेम्वाङले भने, ‘राष्ट्रपतिले त्यो के गर्नुहुन्छ पर्खौं न एकछिन ।’

संविधानअनुसार प्रधानमन्त्री ओली पदमुक्त भएकाले संविधान अनुसार नै नयाँ सरकार गठन हुने उनको प्रतिक्रिया छ ।

तर, विपक्षी दलहरु राष्ट्रपतिले धारा ७६ (२) अनुसार बुहमतको सरकार गठनको प्रक्रिया नै सुरु नगरी सिधै धारा ७६(३) अनुसार सबैभन्दा ठूलो दलको नेतालाई प्रधानमन्त्री नियुक्ति गर्ने सम्भावना रहेको पनि बताउँछन् ।

राष्ट्रपतिले बहुमतको सरकार गठनको आह्वान नै नगरेर ठूलो दलको नेतालाई प्रधानमन्त्री नियुक्त गरे त्यो संविधान विपरीत हुने विपक्षी दलहरुको भनाइ छ ।

संसद भवनमा पत्रकारसंग कुरा गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब बहुमतकै सरकार बन्ने बताए । ‘हामीले तीन दलको तर्फबाट शेरबहादुर देउवा, मैले र उपेन्द्र यादवले हस्ताक्षर गरेर एउटा संयुक्त वक्तव्य राष्ट्रपतिलाई तुरुन्तै संविधानको धारा ७६ को उपधारा २ अनुसारको सरकार गठनको निम्ति आह्वान गरेका छौं र अब संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुई भन्दा बढी दलको सरकार गठनको निम्ति राष्ट्रपतिले आह्वान गर्नुपर्छ’ प्रचण्डले भने ।

माओवादी केन्द्रकै प्रमुख सचेतक देव गुरुङले भने बहुमतको सरकार गठनको प्रक्रिया सुरु नगरी ठूलो दलको हैसियतमा ओलीलाई नै पुनः प्रधानमन्त्री नियुक्त गर्ने षड्यन्त्र भइरहेको बताएका छन् ।

प्रमुख विपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक वालकृष्ण खाँडले पनि संविधानको धारा ७६ को उपधारा २ अनुसार नै नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्नुपर्ने बताए ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिको भूमिकाअनुसार आफूहरु अगाडि बढ्ने बताए ।

‘अहिलेको सन्दर्भमा राष्ट्रपति कसरी मुभ गर्छन् । कुन दिशामा अगाडि बढ्छ त्यसपछि यो विषयमा सल्लाह गर्छौं’ अध्यक्ष यादवले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment