+
+
Shares

एमाले नेतृत्वमा ११ वर्षपछि विद्या भण्डारीको पुनरागमन

पछिल्लो चुनावमा एमालेले ठूलो धक्का बेहोरेपछि ओलीको विकल्पमाथि बहस चलिरहेकै बेला विद्या भण्डारीको पुनरागमन भएको छ । पार्टी जोगाउने रणनीति अन्तर्गत भण्डारीको फिर्ती भए पनि गणतन्त्रको सर्वोच्च प्रतीक बनिसकेकी पात्र फेरि पार्टी नेतृत्वमा फर्कने विषयलाई आलोचकहरूले निको मानेका छैनन् ।

बसन्त बस्नेत बसन्त बस्नेत
२०८३ असोज ८ गते २१:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताका रूपमा भित्र्याउने प्रस्ताव ललितपुरको रामबागमा जारी केन्द्रीय कमिटी बैठकमा पेश गरेको छ।
  • भण्डारीले पार्टी सदस्यता नवीकरण गरी एमालेमा पुनः जोडिएको बताएकी थिइन्, तर ९ साउन ०८२ मा केपी शर्मा ओलीले उनको सदस्यता खारेज गरिदिएका थिए।
  • एमाले र नेकपाबीच सहकार्यबारे छलफल चलिरहँदा भण्डारीलाई एकीकृत पार्टीको सम्भावित अध्यक्षका रूपमा समेत हेरिएको लेखमा उल्लेख छ।

८ असोज, काठमाडौं । गणतन्त्रकी दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारी यसअघि नै पार्टी राजनीतिमा पुनरागमन गरिसकेकी थिइन् । अब एमालेले उनलाई वरिष्ठ नेताका रुपमा भित्र्याउने भएको छ । याद रहोस्, एमालेको विधानमा यो पद छैन ।

०७२ कात्तिकमा राष्ट्रपति निर्वाचित भएसँगै भण्डारीले पार्टी नेतृत्व छाडेकी थिइन् । उनीअघि राष्ट्रपति भएका रामवरण यादव विगतमा कांग्रेस महामन्त्री भए पनि शीतलनिवासबाट फर्केपछि स्वतन्त्र छविसहित जीवनयापन गरिरहेका छन् ।

अनलाइनखबरसँग तीन वर्षअघि अन्तर्वार्ता दिँदै भण्डारीले आफू एमालेको अध्यक्ष बन्ने सम्भावना टरिनसकेको बताएकी थिइन् ।

सुरुमा उनलाई पार्टी सदस्यता दिने बेला अध्यक्ष केपी शर्मा ओलीले जुन स्वागतको भाव देखाएका थिए, नेतृत्व नै ताक्न थालेपछि उनै ओलीले भण्डारीलाई तत्कालीन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बोलाएर मानमर्दन हुनेगरी कटाक्ष गरेको टिप्पणी पार्टीभित्रै हुने गर्थ्यो ।

पोहोर १३ असारमा मदन भण्डारीको ७४ औं जयन्तीका दिन पनि त्यस्तै भयो । त्यस्तै वचन सार्वजनिक रुपमा लगाएका थिए । समग्र विषय हेर्दा ओली विद्या भण्डारीलाई जसरी पनि पार्टीमा रोक्न चाहन्छन् भन्ने स्पष्ट हुन्थ्यो ।

ओलीले भनेका थिए, ‘मदन भण्डारीको ७४ औँ जन्मजयन्ती भन्नेबित्तिकै यहाँ बम नै पड्किने हो कि भनी मान्छे अत्तालिएका छन् कुदेका छन् । विद्या भण्डारीजीले बम पड्काउनुहुन्छ, भन्ने सपना देखेर पनि यहाँ कोही बसेको छ । कुनै बम, बन्दुक, बारुद, गोला पड्कने आश नगरे हुन्छ ।’

कार्यक्रममा भण्डारीले ओलीको समग्र प्रस्तुतिसँग असन्तोष जनाएकी थिइन् । उनले पार्टीभित्र एकमनावाद हाबी हुँदै गइरहेको र त्यो जनताको बहुदलीय जनवादको भावना अनुकूल नरहेको बताएकी थिइन् ।

‘फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा एमालेमै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु’, भण्डारीले भनिन्, ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु ।’

भण्डारीले यो बोल्ने बेलासम्म ओली उठेर गइसकेका थिए ।

कार्यक्रम सकिएको तीन सातापछि अर्थात् ९ साउन ०८२ मा ओलीले भण्डारीको पार्टी सदस्यता नै खारेज गराइदिएका थिए । त्यसलाई सदस्यता होल्ड नाम दिए पनि वस्तुतः उनी सदस्य नरहेको अवस्था थियो ।

भण्डारीले आक्रोशित हुँदै भनेकी थिइन्, ‘म नेकपा एमालेको पार्टी जीवनमा पुन: आएँ । म ३५ वर्ष पार्टी सदस्य भएपछि राष्ट्रपतिको शपथ खाएको हुँ । मैले पार्टी त्यागेर गएको होइन ।’

उनले आफ्नो सदस्यता कसैले खान नसक्ने भन्दै ओलीप्रति तीव्र रोष प्रकट गरेकी थिइन् ।

कतिसम्म भने पार्टी मुख्यालय च्यासलमा भण्डारी आउँदा उनलाई न्यानो स्वागतभन्दा चिसो व्यवहार नै गरिएको उनी निकट नेताहरूले भन्ने गर्थे ।

पार्टी राजनीतिमा रोक्नकै लागि भण्डारीलाई गणतन्त्र गौरव सम्मान दिलाएर संकेत र सन्देश दुवै प्रवाह गरिएको एमाले पंक्तिको बुझाइ थियो ।

पछिल्लो महाधिवेशनमा भण्डारीका तर्फबाट ईश्वर पोखरेल पार्टी अध्यक्षका रुपमा ओलीसँग प्रतिष्पर्धा नै गरेका थिए ।

अर्थात् एमालेमा धेरै वर्षसम्म ओलीसँग निकट रहेर राजनीति अघि बढाएकी भण्डारीले पछिल्ला वर्षहरूमा जे भोगिन्, आज ललितपुरको रामबाग, भनिमन्डलमा जारी केन्द्रीय कमिटी बैठकले भने फरक रुपमा उनलाई अघि बढाउने निर्णय गरेको छ ।

योसँगै भण्डारीको एमाले नेतृत्वमा आउने ‘टरिनसकेको सम्भावना’ लाई फेरि पुनजागृत गराइदिएको छ ।

ओलीले भण्डारीलाई केही दिनअघि लामो भेटवार्ता गरेको प्रसंग यहाँ उल्लेख्य छ । भण्डारीले महासचिव शंकर पोखरेललाई पनि भेटेकी थिइन् ।

एमालेले जेनजी विद्रोहपछि फागुनमा भएको पछिल्लो चुनावमा ठूलो धक्का खायो । ओलीको विकल्प खोजी भइरहेका बेला महासचिव शंकर पोखरेल लगायतले आफूलाई सम्भावित नेता खडा गरिनसकेको अवस्थामा अब भण्डारीको प्रवेश भएको छ ।

‘गणतन्त्रको सर्वोच्च प्रतीक भइसकेकी पूर्वराष्ट्रपति पार्टी राजनीतिमा फर्कनु नागरिक तथा गणतन्त्रको मान्यताको उपहास हो,’ विश्लेषक सन्जीव पोखरेल भन्छन्, ‘विगतमा उनी राष्ट्रपति अनि ओली प्रधानमन्त्री छँदा गरेका गैरसंवैधानिक संसद् विघटन, नागरिकता विधेयकमा गडबडी लगायत अनेक विषयले नै राष्ट्रप्रमुखका रुपमा उनको नीति र निर्णयमा प्रश्न उठाउने ठाउँ थिए, अब पद छाडिसकेपछि पनि उनले त्यो क्रम कायमै राखेको देखियो ।’

कतिपयले अमेरिकामा राष्ट्रपति भइसकेको व्यक्ति फेरि पार्टीमा आएर चुनाव लड्न सक्ने, नेपालमा किन नहुने भनी टिप्पणी गरेका छन् । तर विश्लेषक पोखरेलले अमेरिकासँग नेपालको राष्ट्रपति संस्थाको तुलना नहुने तर्क गरेका छन् ।

‘त्यहाँ कार्यकारी राष्ट्रपति हो, यहाँ राष्ट्रको सम्मानित सेरमोनियल प्रमुख भएर बस्ने कुरा हो,’ उनले भने, ‘तुलना मिलेन । नयाँ पुस्ता र मतदाताहरूलाई राष्ट्रपति भइसकेको व्यक्ति पार्टीमा फर्कने विषयले खास उत्साहित पार्न सक्दैन ।’

अनेरास्ववियुको राजनीति हुँदै तत्कालीन नेकपा मालेको संगठनमा आबद्ध विद्या भण्डारीको केही समयपछि तत्कालीन नेता मदन भण्डारीसँग बिहे भयो । मदन ०५० जेठमा बितेपछि भण्डारीको राजनीतिक यात्रा फेरि सक्रिय भयो । उनी त्यसयता एमालेका विभिन्न पद, अनेमसंघ आदिमा रहिन् । विज्ञान तथा प्रविधि मन्त्री, जनसंख्यामन्त्री, रक्षामन्त्री हूँदै एमाले उपाध्यक्ष र राष्ट्रपति बनेकी भण्डारी फेरि पार्टी राजनीतिको नेतृत्वदायी पदमा फर्केकी छन् ।

एमाले र नेकपाबीच सहकार्यको बहस चल्दैगर्दा भण्डारीलाई एकीकृत पार्टीको सम्भावित पार्टी अध्यक्षका रुपमा समेत हेर्नेहरू उत्तिकै छन् । एमाले र नेकपाबीच यसबीचमा आधा दर्जनजति भेटवार्ता भइसकेका छन् । ओली, प्रचण्डलगायत नेताहरू तयार रहेका अवस्थामा नयाँ परिस्थिति चाँडै बन्न सक्ने आकलनबीच भण्डारीलाई एमालेले वरिष्ठ नेताका रुपमा स्वागत गर्न प्रस्ताव केन्द्रीय कमिटीमा पेश गरेको हो ।

लेखक
बसन्त बस्नेत

बसन्त बस्नेत अनलाइनखबरका प्रधान सम्पादक हुन् । उनका 'महाभारा' र 'सिमसारा' उपन्यास तथा '७२ को विस्मय : संविधान मधेस र नाकाबन्दी' सामयिक इतिहास गरी तीन किताब प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?