Comments Add Comment

अस्पतालमा अक्सिजन सकिएपछि….

आईसीयूमा उपचाररत दुई संक्रिमतको मृत्यु, १२ लाई अन्यत्र सारियो

२४ वैशाख, काठमाडौं । कौशलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पतालमा १४ जना कोरोनाभाइरस (कोभिड–१९) का संक्रमित आईसीयूमा उपचाररत थिए । बिहीबार राति ९ बजेतिर चिकित्सकले बिरामीका आफन्तलाई बोलाए र आफ्ना बिरामीलाई जतिसक्दो छिटो अर्को अस्पतालमा लैजान आग्रह गरे ।

एकाएक उपचाररत सबै बिरामीलाई अन्यत्र लैजानू भनेपछि आफन्त तथा कुरुवाहरु अलमलमा परे । अस्पताल प्रशासनले अक्सिजन सकिएकाले केही गर्न नसक्ने बताएपछि उनीहरु आत्तिए । अस्पतालहरुमा बेड नपाएको खबर पढिरहेका उनीहरु आफैंलाई त्यही समस्या आएपछि अत्तालिनु स्वाभाविक नै थियो । कतिपय फोन गर्दै बेड खोज्न लागे भने कतिपय सहयोग माग्दै अस्पतालमै भक्कानिए ।

एक बिरामीका आफन्तका अनुसार अस्पताल परिसरको माहाेल कारुणिक थियो ।

दुई जनाको ज्यान गयो

कतिपयले तुरुन्तै अरु अस्पतालमा बेड पाए, आफ्ना बिरामीलाई एम्बुलेन्समा हालेर दौडाए । अर्को अस्पतालमा लैजान भेन्टिलेटरबाट निकाल्न नपाउँदै एकजना संक्रमितको आईसीयू कक्षमै ज्यान गयो । उनी भक्तपुर नगरपालिका–९ बस्ने ४५ वर्षका पुरुष हुन् । एक हप्तादेखि अस्पतालमा रहेका उनी बिहीबार दिउँसोसम्म आफैं खाना खान सक्ने अवस्थामा थिए । तर, साँझ साढे ७ बजे भेन्टिलेटरमा राखिएका उनले अक्सिजन नपाएर मृत्युवरण गर्नुपर्‍यो ।

उनकी २९ वर्षकी छोरीको चार दिनअघि त्यही अस्पतालमा कोभिड–१९ कै कारण ज्यान गएको थियो । ‘अस्पतालले समयमै अक्सिजन सकिन लागेको खबर गरेको भए हामी आफैं हाम्रो बिरामीको अक्सिजन व्यवस्था गर्न सक्थ्यौं’ मृतकका भदा भन्छन्, ‘अक्सिजन सकिने बेलामा मात्र खबर गर्दा फुपाजुलाई गुमाउनुपर्‍यो ।’

पोखरा घर भएका ६० वर्षका संक्रमितका आफन्तले अल्का अस्पताल, जावलाखेलमा भेन्टिलेटर पाएका थिए । तर आईसीयूमा गम्भीर अवस्थामा रहेका उनलाई जावलाखेल लैजाने क्रममा बाटैमा मृत्यु भयो ।

अक्सिजन नपाएपछिको सकस

अस्पतालका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठका अनुसार अस्पतालले नियमित रुपमा पनौतीको एक उद्योगबाट अक्सिजन ल्याउने गरेको थियो । ‘अपरेटरलाई कोभिड देखिएको भन्दै उद्योगले बिहीबार प्लान्ट चल्दैन भन्यो’ अध्यक्ष श्रेष्ठ भन्छन्, ‘हामीले अन्यत्रबाट अक्सिजन जुटाउन प्रयास गर्‍यौं, तर साँझसम्म पनि सकेनौं ।’

अक्सिजन आपूर्ति नभएपछि अस्पताल प्रशासनले बिहीबार साँझ मात्र बिरामीका आफन्तलाई जानकारी गरायो । स्थिति नियन्त्रणबाहिर जाने देखेपछि बिरामीलाई छिटो अन्य अस्पतालमा लैजान आग्रह गरेको अध्यक्ष श्रेष्ठले बताए । ‘हामीलाई मात्र होइन, अरु अस्पताललाई पनि यस्तो समस्या पर्न थालिसकेको छ’ उनले भने, ‘हाम्रो केही उपाय नलागेपछि राति सिडिओ साहेबले प्रहरी पठाएर पनौतीबाट २५ सिलिन्डर अक्सिजन भराइदिनुभयो ।’

अक्सिजन आइपुग्दासम्म दुई संक्रमितको मृत्यु भइसकेको थियो भने अरु अन्य अस्पताल पुगेका थिए ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई समयमै अक्सिजनको आपूर्ति हुन नसक्दा भक्तपुर इन्टरनेसनल अस्पतालमा दुःखद् घटना भएको बताउँछन् ।

यो अस्पताललाई सञ्चालन अनुमति दिएको मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ भने अक्सिजनको आपूर्तिमा गम्भीर बन्नुपर्ने बेला आएको बताउँछन् । ‘समयमै अक्सिजन आपूर्ति हुन नसकेर दुःखद् घटना हुन पुग्यो’ मेयर श्रेष्ठले भने, ‘हिजो भक्तपुरका धेरैजसो अस्पतालले यो समस्या भोगे । नेपाल–कोरिया मैत्री अस्पतालमा पनि राति २ बजे बल्ल–तल्ल अक्सिजन ल्याउन सक्यौं ।’

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजार अन्य अस्पताललाई पनि अक्सिजन जोहो गर्न सकस परिरहेको बताउँछन् । ‘आज पनि एक–दुई वटा अस्पतालबाट अक्सिजन व्यवस्था गरिदिन भन्दै फोन आयो’ उनी भन्छन्, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएका अक्सिजन उद्योगीका नम्बर दिएका छौं ।’

उनका अनुसार अस्पतालहरुले अक्सिजन नपाएको गुनासो गर्ने क्रम बढेको छ । अक्सिजन व्यवस्थापनमा थप ध्यान दिनुपर्ने देखिएको भन्दै उनले अघि भने, ‘कतिपय उद्योगले खाली ल्याएमा अक्सिजन भरिदिन सक्ने, तर सिलिन्डर नभएको भनिरहेका रहेछन् । यसले अप्ठ्यारो अवस्था नजिक आएको देखिन्छ ।’

प्रजिअ भट्टराईका अनुसार अहिलेको संकट टार्न अक्सिजन खपत गर्ने अन्य उद्योग र कारखानामा बिक्री बन्द गरिएको छ । उनले भने, ‘आज विभिन्न अस्पताललाई ८३ वटा सिलिन्डर दियौं, तर थप सक्रिय भएर व्यवस्थापनमा लाग्नुपर्ने देखिएको छ ।’

अस्पतालको वैधानिकतामा प्रश्न

भक्तपुर इन्टरनेसनल अस्पतालले मध्यपुर थिमी नगरपालिकाबाट १५ शय्याको अनुमति लिएको छ ।

अहिले ३० शय्यामा सेवा दिइरहेको अस्पतालका अध्यक्ष श्रेष्ठले स्वीकार गरेका छन् । प्रदेश सरकारबाट थप शय्याको अनुमति लिन प्रक्रिया अघि बढाएको भन्दै उनले भने, ‘अहिले ढोकामा आएका बिरामीलाई फर्काउन सकिने अवस्था नै छैन ।’

यसबारे शुक्रबार सर्वपक्षीय छलफल भएको छ, जहाँ मृतकको उपचार गर्दा लागेको खर्च मिनाहा गर्ने र आगामी दिनमा यस्तो कमजोरी नगर्ने सहमति भएको छ ।

भक्तपुर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वाले अस्पतालको व्यवस्थापकीय कमजोरीले बिरामीको मृत्यु भएको बताए । यद्यपि महामारीको बेला खटिएका फ्रन्टलाइनरको मनोबल गिराउने गरी दोषारोपण गर्न नहुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
रवीन्द्र घिमिरे

ट्रेन्डिङ

Advertisment