+
+

राष्ट्रियसभा उपनिर्वाचन : एमालेविरुद्ध एमाले

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७८ वैशाख २४ गते २१:०२

२३ वैशाख, काठमाडौं । वाग्मती प्रदेशको अन्य समूहतर्फ रिक्त भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि रामबहादुर थापा ‘बादल’ र खिमलाल देवकोटा भिड्ने भएका छन् ।

हेटौंडास्थित निर्वाचन आयोगको कार्यालयका अनुसार बादल र देवकोटासँगै नेपाल मजदूर किसान पार्टीका कृष्णबहादुर तामाङको उम्मेदवारी दर्ता भएको छ । मुख्य प्रतिस्पर्धी भने बादल र देवकोटा हुन् र, दुवै नेकपा एमाले हुन् ।

बादल एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका उम्मेदवार हुन् भने देवकोटा एमालेकै माधव नेपाल पक्षका । बादलको उम्मेदवारी प्रस्तावकमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत छन् । देवकोटाको प्रस्तावकमा माओवादी केन्द्रका प्रदेशसभा संसदीय दलका नेता शालिकराम जम्मकट्टेल छन् भने समर्थक कांग्रेस सांसद राधा घले छिन् ।

२०७४ सालको निर्वाचनमा माओवादी केन्द्रका तर्फबाट नेता रामबहादुर थापा ‘बादल’ यही ठाउँबाट निर्वाचित भएका थिए । पार्टी परित्याग गरी एमालेमा गएपछि माओवादी केन्द्रले बादललाई राष्ट्रियसभा सदस्यबाट पद मुक्त गरेको थियो ।

गृहमन्त्री समेत रहेका बादलको सांसद पद गुमेकाले खाली भएको ठाउँमा जेठ ६ गते उपनिर्वाचन हुन लागेको हो । माओवादी केन्द्र छाडेर एमालेमा आएका कारण केपी ओली पक्षले बादललाई नै पुनः उम्मेदवार बनाएको छ ।

डा. देवकोटा एमाले निकट बुद्धिजीवी हुन् । उनी एमालेकै कोटाबाट वाग्मती प्रदेश योजना आयोगको उपाध्यक्ष भएका थिए । तर मुख्यमन्त्री डोरमणि पौडेल तथा मन्त्रीहरु सिष्टममा नचलेको भन्दै देवकोटाले एक वर्ष काम गरेर २०७६ असारमा पदबाट राजीनामा दिएका थिए । विकास अर्थशास्त्रमा विद्यावारिधि गरेका देवकोटा वित्तीय संघीयता व्यवस्थापनका विज्ञ मानिन्छन् ।

‘२७ गतेपछि थाहा हुन्छ’

सत्तारुढ एमालेमा चर्किएको विवाद राष्ट्रिय सभा उपचुनावमा एकअर्काविरुद्ध चुनाव लड्ने तहमा पुगेको छ ।

पार्टी केन्द्रमा विवाद कायम रहँदा यस्तो देखिनु स्वाभाविक रहेको बताउँछन् एमाले ओली पक्षीय मकवानपुरका नेता कृष्ण दाहाल । ‘माथि कुरा मिल्यो भने केही पनि हुँदैन । एउटाको उम्मेदवारी फिर्ता हुन्छ । कुरा मिलेन भने यस्तै हो, हामीहरुले माथि नै कुरा मिलाउनुस् भनेका छौं’ दाहालले अनलाइनखबरसँग भने ।

वागमती प्रदेशमा देखिएको एमाले भर्सेस एमालेको अवस्था कायम रहने कि नरहने भन्ने यही वैशाख २७ गतेपछि थाहा हुने पनि नेता दाहालको बुझाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा २७ गते विश्वासको मत लिंदै छन् । यही प्रयोजनका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान भएको छ । यसतर्फ संकेत गर्दै प्रतिनिधिसभा सदस्य समेत रहेका नेता दाहालले भने, ‘२७ गतेको रिजल्टले बताउँछ वागमती प्रदेशमा एमाले भर्सेस एमाले हुन्छ कि हुँदैन भनेर ।’

‘जति तल गयो त्यति पार्टी एक हुनुपर्छ भन्ने छ । हुन त गोप्य मतदान हुने हो तै पनि के हुन्छ हेर्दै जाउँ’ दाहालले भने ।

६ गते मतदान

राष्ट्रियसभा सदस्य पदमा जेठ ६ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । हेटौंडाको भुटनदेवी माध्यमिक विद्यालयलाई मतदानस्थल तोकिएको छ ।

उपनिर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् ।

वाग्मती प्रदेशसभा सदस्य ११० जना र प्रदेशका १३ जिल्लाका ११९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३८ गरी ३४८ मतदाता रहेका छन् ।

प्रदेशसभाका एक जना सदस्यको ४८ र स्थानीय तहका प्रतिनिधिको १८ मत भार गणना गरिन्छ ।

११० सदस्यीय प्रदेशसभामा एमालेका ५७, माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, विवेकशील साझा पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदूर किसान पार्टीका २/२ जना छन् । जनता समाजवादी पार्टीबाट निर्वाचित १ जना छन् ।

एमालेका ५७ जनामा केपी शर्मा ओली पक्षमा ३२ र माधव नेपाल पक्षमा २२ जना सांसद प्रदेश सभा सदस्य छन् ।

स्थानीय तहका २३८ मतदातामध्ये एमालेको १३३ जना, कांग्रेसको ६७, माओवादी केन्द्रको ३३, राप्रपाको २, नेमकिपा २ र जसपाका १ जना छन् । एमालेको १३३ मा ओली पक्ष र माधव नेपाल पक्षमा विभाजित छन् ।

मतभारका हिसाबले एमालेको प्रदेश सभामा २६८८ र स्थानीय तहका प्रमुख र उपप्रमुखमा २३९४ गरी कुल ५०८२ मत भार छ ।

कांग्रेस र माओवादी केन्द्र र जसपाको गठबन्धनसँग ५४ प्रदेश सभा सदस्य छन् । जसको मतभार २५९२ हुन्छ । विपक्षी गठबन्धनको स्थानीय तहका प्रमुख र उपप्रमुखतर्फ १०५ जनप्रतिनिधि छन्, यसको मतभार १८९० हुन आउँछ । यसरी विपक्षी गठबन्धनसँग कुल ४४८२ मतभार छ ।

उपनिर्वाचनका सबै कार्यक्रम निर्वाचन आयोगले हेटौंडामा स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयबाट सञ्चालन हुनेछ ।

आज दर्ता भएका उम्मेदवारको विरोधमा वैशाख २५ गते उजुरी दिने २६ र २७ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, २७ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, २८ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिन दिने र २९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्युरोमा आबद्ध बजगाईं मुलतः संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?