Comments Add Comment

वर्षमा ५४ लाख मेट्रिकटन धान फलाउने सरकारको लक्ष्य

१५ औ राष्ट्रिय धान दिवस

१५ असार, काठमाडैं । सरकारले आगामी आर्थिक वर्षमा ५४ लाख मेट्रिकटन धान फलाउने लक्ष्य राखेको छ । १४ औं राष्ट्रिय धान दिवसको अवसरमा सरकारले यस्तो जानकारी गराएको हो ।

कृषि बिकास मन्त्रालयका सह प्रवक्ता शंकर सापकोटाले आगामी आर्थिक बर्षमा ५४ लाख मेट्रिक टन धान फलाउने लक्ष्य सरकारले राखेको जानकारी दिए । उनकाअनुसार आगामी तीन बर्षमा धानमा नेपाललाई आत्मनिर्भर बनाउन सरकारले विभिन्न प्रकारका बिशेष प्राथमिकताका सञ्चालनमा ल्याइएको जानकारी दिए ।

उनकाअनुसार धानमा नेपाललाई आत्मनिर्भर बनाउन गत् आर्थिक बर्ष २०७१/७२ देखि २० जिल्लामा मसिना तथा बास्नादार धान उत्पादन प्रवद्र्धन कार्यक्रम ल्याइएको छ । यस्तै २०७२/७३ देखि तराईका विभिन्न १५ जिल्लामा बृहत्तर धान उत्पादन कार्यक्रम सञ्चालनमा ल्याइएको छ । यो कार्यक्रम अहिले ३५ जिल्लामा बिस्तार गरिएको छ । हाल यो कार्यक्रम आगामी आर्थिक बर्ष २०७४।७५ देखि स्थानीय तहलाई जिम्मा लगाइएको छ ।

धानमा मुलुकलाई आत्मनिर्भर बनाउन सरकारले चालु आर्थिक बर्ष २०७३/७४ देखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनासमेत सञ्चालन गरेको छ । यो परियोजनाअन्तर्गत  २४ ब्लक, ५ जोन र एक सुपरजोनमा धानवालीलाई समावेश गरिएको छ ।

यसैगरी चैते धानलाई प्रवद्र्धन गर्न करिब ५० जिल्लामा चैते धानको क्षेत्रफल विस्तार गरी अहिले एक लाख १८ हजार  हेक्टरबाट विस्तार गरी तीन लाख हेक्टरमा पुरयाउने योजना अघि बढाइएको छ । मन्त्रालयकाअनुसार चालू आर्थिक वर्ष २०७३/७४ मा भने हालसम्मका सबै ‘रेकर्ड’ तोड्दै ईतिहासमै पहिलो पटक ५२ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार चालू आर्थिक वर्ष २०७३/७४ को १० महिनामा २० अर्ब २६ करोड ३६ लाख १५ हजार मूल्य बरारबको धान भारत, इटली, बहराइन, चीन, थाइल्यान्ड, कोरिया, जापान, मलेसिया, बंगलादेश अमेरिका, सिंगापुर र भियतनामबाट तीन लाख ५९ हजार नौं सय ९१ मेट्रिक टन विभिन्न प्रकारका चामल आयात भएको थियो ।

अघिल्लो आर्थिक वर्ष २०७२/७३ मा भने २२ अर्ब ८० करोड ३० लाख ६५ हजार मूल्य बराबरको पाँच लाख ३९ हजार ६ सय मेट्रिक टन चामल आयात भएको थियो । आयात हुने अधिकांश चामलको परिमाणमध्ये मसिनादार र वास्नादार चामल छन् ।

हाल नेपालमा १५ लाख ५२ हजार हेक्टरमा धानको खेती हुँदै आएको छ । नेपालको कुल खेती हुने क्षेत्रफलमध्ये ५०.२ प्रतिशत जग्गामा धानको खेती हुन्छ ।  यसमध्ये तराईमा ६९.१ प्रतिशत, पहाडमा २६.८ प्रतिशतमा र उच्च पहाडमा ४.१ प्रतिशत हेक्टरमा धानको खेती हुन्छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका बरिष्ठ योजना अधिकृत तिलक चौलागाईकाअनुसार यो परियोजनाअन्तर्गत एक अर्ब एक अर्ब रुपैयाँ लगानी भइरहेको छ । धानमा मुलुकलाई आत्मनिर्भर गराउने प्रमुख लक्ष्य राखिएको चौलागाईले जानकारी दिए । नेपाल कृषि अनुसन्धान परिषद(नार्क) ले विकास गरेको ६३ प्रकारका सूचित धानको जातको बीउ प्रयोग गरी किसानले धान उत्पादन गर्दै आएका छन् ।

अन्तर्राष्ट्रिय धान अनुसन्धान संस्था(इरी) का नेपाल  प्रमुख डा. भव त्रिपाठीले नेपालमा सुख्खा सहन सक्ने र डुबान सहन सक्ने धानको जात पनि विकास भइसकेको जानकारी दिए । डा. त्रिपाठीले नेपालमा उन्नत जातको धानको विकास भएपनि किसानको घरदैलोसम्म पुग्न नसक्दा किसानहरुले देखासिकी गरी प्रयोग गरेका कारण किसानहरुले ठूलो क्षति व्यहोर्नुपरेको बताए ।

यस वर्षको आर्थिक सर्वेक्षणअनुसार यो वर्ष कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा कृषिको योगदान २८.९ प्रतिशतमा सीमित रहने उल्लेख छ । अघिल्लो आर्थिक वर्ष जीडीपीमा कृषिको योगदान ३१ प्रतिशत थियो ।

अघिल्लो आर्थिक वर्षको भूकम्प र त्यसपछिको नाकाबन्दीका कारण जीडीपीमा कृषि क्षेत्रको हिस्सा घट्दै गएको हो । कृषिमा धानको योगदान करिब २१ प्रतिशत छ । कुल खाद्यान्न मध्ये धानले ५० प्रतिशत हिस्सा ओगटेको छ ।

कार्यक्रममा नेपाल, भारत, बंगलादेशको धानवाली हेर्ने इरीका धान बैज्ञानिक डा. कृष्ण देवकोटाले नेपालमा उपलब्ध क्षेत्रफलमै उत्पादन बृद्धि गर्नुपर्ने सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment