Comments Add Comment

ढलमा बगेर बाँचेकी सत्याले मेयरसा’बलाई भनिन्-मोनोरेल अघि सडक बनाउनुस् !

२ साउन, काठमाडौं । शुक्रबार सडकमा बगेको भेलसँगै ढलमा बगेकी बाँचेकी स्कुले विद्यार्थी सत्या सापकोटालाई भेट्न काठमाडौंका मेयर विद्यासुन्दर शाक्य  र उपमेयर हरिप्रभा खड्गी उनको घरमा पुगे ।

सामाखुसीस्थित आफ्नै निवासमा आइपुगेका मेयर उपमेयरलाई सत्याले सडकको अवस्था सुधार गर्न सुझाव दिइन् । ‘तपाईंहरुले मानोरेल चलाउँछु भन्नुभएको छ, त्योभन्दा पहिला भताभुंग सडक बनाउनुस्,’ सापकोटाले मेयर शाक्यलाई भनिन्, ‘हामी सधैं हिँड्ने बाटोमै मर्नुपर्ने भयो ।’

काठमाडौं महानगरका मेयर शाक्यले सडक र ढलको निर्माण र मर्मतमा विशेष ध्यान दिने बताए । ‘विकासका लागि मोनोरेल पनि चलाउनै पर्छ । प्राथमिकतामा सडकलाई राख्छौं,’ शाक्यले सत्यालाई जवाफ दिए ।

उनले सत्यालाई एक लाख रुपैयाँ बराबरको जीवन बीमा महानगरपालिकाले गर्ने घोषणा पनि गरेका छन् ।

सत्याको घरमा जम्ममा भएका अन्य बालबालिकाले पनि सडकमा निस्कनै डर लाग्ने अवस्था आएको गुनासो सुनाए । उनीहरुले आफूले भोट नहालेपनि अभिभावकले नै भोट हालेर जिताएकाले जनप्रतिनिधिले बालबालिकालाई ध्यानमा राखेर काम गर्नुपर्ने बताएका थिए ।

काठमाडौं महानगरपालिकाले महाराजगञ्जदेखि बालाजुसम्मको ढल ब्यवस्थापनबारे अध्ययन गर्न २ जना इञ्जिनियर खटाएको छ । पानी जम्ने कारण पत्ता लगाएर समाधानका लागि काम गर्ने महानगरको योजना छ ।

मेयर शाक्यले सोमबार नै ढलमा बगेर मृत्यु भएकी तारकेश्वर नगरपालिकाकी बालिका विनिता फुयाँलको परिवारसँग पनि भेट गरेका छन् ।

भेटका क्रममा विनिताका बाबुले छोरीको मृत्युको जिम्मेवारी कसले लिने हो भन्ने प्रश्न गरेका थिए । तारकेश्वर नगरपालिकाका मेयरसँगै त्यहाँ पुगेका मेयर शाक्यले घटना दुःखद भन्दै महानगरले तत्कालका लागि विनिताको परिवारलाई २५ हजार रुपैयाँ राहत उपलब्ध गराइने बताए ।

तारकेश्वर नगरपालिकाले पनि विनिताको परिवारलाई राहतस्वरुप ५० हजार रुपैयाँ उपलब्ध गराएको छ ।

यो पनि पढ्नुहोस् 

राजधानीको ज्यानमारा सडकः विनिताको ज्यानै गयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment