Comments Add Comment

ट्रम्प र पुटिनवीच गोप्य भेटवार्ता भएको ह्वाइट हाउसको स्वीकारोक्ति

४ साउन, वासिङटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच जर्मनीमा भएको जी २० बैठकमा एक्लाएक्लै भेटवार्ता भएको भनी आएका समाचार ह्वाइट हाउसले स्वीकार गरेको छ ।

यो महिनाको शुरुतिर जर्मनीको ह्याम्बर्गमा भएको जि २० बैठकका क्रममा उहाँहरुबीच पहिला घोषित रुपमा नै भेटवार्ता भएको समाचार आएको थियो ।

तर, पछि भएको दोश्रो बैठकको समाचारलाई भने अहिलेसम्म पनि गोप्य राखिएको थियो । उक्त भेटवार्ताको समाचार अमेरिकी पत्रिकाले सार्वजनिक गरेका छन् ।

उहाँहरुबीच सुरुमा भएको घोषित वा औपचारिक बैठकको घण्टौं पछि एकजना रुसी दोभाषे मात्रको उपस्थितिमा राष्ट्रपतिद्वयको वार्ता भएको ती समाचारमा जनाइएको छ ।

तर, दुईजनाबीच केकस्ता विषयमा छलफल भएको थियो भन्ने बारेमा भने केही बताइएको छैन । यस वार्ताको औपचारिक रेकर्ड पनि नराखिएको पाइएको छ ।

अमेरिकी छापामा यो समाचार आएपछि यस विषयमा अमेरिकामा व्यापक विवाद थपिएको छ । रुस र ट्रम्पको चुनाव अभियानसँग जोडिएर आएका पछिल्ला समाचारहरुपछिको यो अर्को खुलासाले अमेरिकी राजनीतिलाई फेरि एकपटक तताइदिएको छ ।

सुरुमा होइन भनिएको सो भेटघाटको समाचार आएपछि मङ्गलबार ह्वाइटहाउसले स्वीकार्न बाध्य भएको बताइएको छ ।

ह्वाइटहाउसले सो वार्तालाप सञ्चारमा आएजस्तो व्यापक र लामो समयको नभएर बेलुकाको खाना खानेबेलामा उहाँहरुबीच मात्र, तर छोटो वार्ता भएको बताएको छ ।

तर, अमेरिकी पत्रिकाले सो भेटमा अरु कोही नभई दोभासेमात्र राखिएको र एक घन्टासम्म यो भेटवार्ता भएको बताएका छन् । दोभासे पनि रुसी नागरिक रहेको सो समाचारमा उल्लेख गरिएको छ ।

अमेरिकी गुप्तचर निकायले गत वर्षको राष्ट्रपतीय चुनाव अभियानमा रुसले ट्रम्पलाई राष्ट्रपति बन्नका लागि सघाएको आरोप लगाउँदै आएको छ । तर, राष्ट्रपति ट्रम्पले उक्त साँठगाँठको अस्वीकार गर्दै आएका छन् ।

चुनावका बेला राष्ट्रपति ट्रम्पका जेठा छोराले रुसी वकिलसँग गरेको कुराकानीको खुलासा पनि गत हप्ता भएको थियो । उनले सो समाचारको स्वीकार गरेका छन् ।

ह्यामबर्गको जी २० बैठकका समयमा राष्ट्रप्रमुखहरुको निजी रात्रिभोजका बेला दोश्रो बैठक भएको थियो । भेटमा अमेरिकी राष्ट्रपति एक्लै र रुसी राष्ट्रपतिसँग आफ्ना दोभाषे रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment