Comments Add Comment

प्रेम गरेको भन्दै युवतीमाथि कुटपिट, जनप्रतिनिधिले युवकलाई तिराए एक लाख (भिडियोसहित)

५ साउन, भैरहवा । कथित तल्लो जातको युवकसँग प्रेम सम्वन्ध राखेको भन्दै एक युवती निर्घात कुटिएकी छन् । साथै स्थानीय जनप्रतिनिधि र गाउँलेहरु मिलेर युवकबाट ‘प्रेमिका’को परिवारलाई एक लाख रुपैयाँ जरिवाना समेत तिराएका छन् ।

घटना हो, सम्मरीमाई गाउँपालिका वडा नम्बर ६ (साविकको असुरैना गाविस) डिहुली गाउँको ।

गत असार १९ गते हो । तर, भिडियो सार्वजनिक भएसँगै घटना बाहिर आएको हो । परिवारका सदस्यले घेरा हालेर युवतीमाथि कुटपिट गर्दा  स्थानीय रमिते बनेर बसेका छन् ।

मीना यादव र दिनेश लोध एकअर्कालाई प्रेम गर्थे ।  मीनाको बाल्यकालमा नै अर्को युवकसँग बालविवाह भइसकेको भए पनि गौना हुन बाँकी थियो ।

युवक पनि विवाहित भएको बताइएको छ ।

दुईको प्रेम सम्वन्ध रहेको थाहा भएपछि परिवारले भेट्न आएको समयमा दिनेशलाई नियन्त्रणमा लिए । उनलाई कुटपिट गर्न थालेपछि युवती बचाउन गइन् । त्यही झोंकमा परिवारका सदस्यहरु मिलेर लछार पछार गर्नुका साथै लाठीमुग्रा गरे ।

कुटपिट हुँदा छिमेकीहरुले वरिपरि बसेर हेरिरहे । कसैले पनि कुटपिटमा उत्रिएकाहरुलाई रोकेनन् । घटना पश्चात प्रहरीले कुटपिट गर्ने युवतीका बुबा इन्नर अहिरलाई पक्राउ गरेर थुनामा राख्यो ।

तर, भोलिपल्टै मर्चवार गाउँपालिकाका अध्यक्ष केशवनन्द बनियाँ, सम्मरीमाई गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष सत्यनारायण बनियाँ र स्थानीय जर्नादन यादव लगायतले अहिरलाई छुटाएका थिए ।

विगतमा मानसिक रोगको औषधि खाएका अहिरले आफूलाई देउता चढेको भन्दै तोडफोड गर्न थालेकाले पनि थुन्न गाह्रो भएको मर्चवार निमित्त प्रमुख प्रहरी नायब निरीक्षक नरीश्रवर अर्यालले बताए ।

यद्यपि मेडिकल रिपोर्टमा युवतीमाथि निर्घात कुटपिट भएको देखिएको उनले स्वीकार गरेका छन् ।

अझ अनौठो त के छ भने युवतीलाई चरम याताना दिने युवती पक्षले नै एक लाख रुपैयाँ नगद समेत पाएको छ । दिनेशको परिवारले एक लाख रुपैयाँ कुट्ने पक्षलार्इ  बुझाएका छन् ।

प्रेम सम्बन्धका कारण युवती बदनाम भएको र उनको विवाह गर्नुपर्ने भएको भन्दै दिनेश लोधका बुबालाई कारवाही स्वरुप एक लाख रुपैयाँ युवतीका बुबालाई तिर्न लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment