Comments Add Comment

चौरपाटीको अध्यक्षमा हर्कबहादुर नै

८ साउन, डोटी । उच्च अदालत दिपायलले अछामको चौरपाटी गाउँपालिकाको अध्यक्षमा एमाले नेता हर्कबहादुर साउँदलाई विजयी घोषणा गरेको छ ।

चौरपाटी गाउँपालिका-२ निवासी नेपाली कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार भिमबहादुर साउदले आफ्नो गाउँपालिकाको पुनः मतगणना गरी पाउँ भनी उच्च अदालत दिपायलमा निवेदन दर्ता गरेका थिए ।

रिट निवेदनमाथि प्रारम्भिक सुनुवाईमा गत असार २३ गते उच्च अदालत दिपायलले निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ४१ (२), ४२, ४३ र ४४ तथा उच्च अदालत नियमावली २०७३ को नियम ४१ (१)-क) बमोजिम एमाले उम्मेदवार हर्कबहादुर साउँदलाई अध्यक्षको हैसियतले काम नगर्न/नगराउन अन्तरीम आदेश जारी गरेको थियो ।

न्यायाधिशद्वय चित्रदेव जोशी र शेखरचन्द्र आचार्यको संयुक्त ईजलासले आइतवार रिट निवेदकको दावी नपुग्ने भन्दै रिट निवेदन खारेज गरेको छ । न्यायालयको उक्त निर्णयसंगै अछाम चौरपाटीमा एमाले नेता साउँद नै अध्यक्ष हुने भएका छन् ।

आइतबारको बहसमा रिट निवेदकको तर्फबाट पूर्वमहान्याधिवक्ता बाबुराम कुँवर र बिपक्षीका तर्फबाट अधिवक्ताहरु टिकाराम भट्टराई, प्रबल शर्मा समेतले बहस गरेका थिए । निर्वाचन आयोगको तर्फबाट सहन्यायाधिवक्ता टेकबहादुर घिमिरे र उपन्यायाधिबक्ता दमन सिं बिष्टले बहस गरेका थिए ।

चौरपाटी गाउँपालिककाको मतगणनामा एमालेका उम्मेदवार साउदले ३ हजार १३८ मत प्राप्त गरेका थिए । उनलाई निर्वाचन अधिकृतको कार्यालयले बिजयी घोषणा गरेको थियो । उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका उम्मेदवार भिमबहादुर साउदले ३ हजार १३७ मत प्राप्त गरेका थिए । मतगणनाको परिणाम अनुसार दुई उम्मेद्वारबीच एक मतको मात्रै फरक रहेको थियो ।

कांग्रेसका साउदले मतगणक तथा निर्वाचन अधिकृतको मिलेमतोमा आफूले पाएको मत घटाई एमाले उम्मेदवारलाई विजयी गराएको आरोप पुनः मतगणनाको आदेश गरिपाउन उच्च अदालतमा रिट निबेदन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment