Comments Add Comment

बार्सिलोना हमलाका प्रत्यक्षदर्शी नेपाली भन्छन् – एकछिन रक्ताम्य संसार देखियो

नेपाली कोही नपरेको एनआरएनको भनाइ

२ भदौबार्सिलोना । युरोपमा आतंककारी हमलाका घटनाहरु बढिरहेका बेला स्पेनको पर्यटकीय गन्तब्य बार्सिलोना पनि अछुतो रहेन। पछिल्लो क्रममा मान्छेहरुको भिड माँझ लोरी, भ्यान वा गाडी जोताएर हमला गर्ने क्रम बढिरहँदा,त्यसको पछिल्लो शिकार सुन्दर शहर बार्सिलोना बनेको छ।

बिहीबार अपरान्ह कातोलोनियाको मुटु राम्बलासमा हिँडिरहेका सयौं मानिसहरुमाथि एउटा सेतो भ्यान लगेर जोताइँदा हालसम्म १३ जनाको ज्यान गएको सरकारी अधिकारीहरुले बताएका छन्। घटनामा परी अन्य ५० बढी घाईते भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्।

घटनामा प्रयोग भएको भ्यान भाडामा प्रयोग गरिएको स्पेनी मिडियाहरुले जनाएका छन्। हमलामा प्रयोग गरिएको भ्यान भाडामा लिने पुरुषको तस्वीर पनि प्रहरीले सार्वजनिक गरेका छन्। ती ब्यक्ति मोरक्कोमा जन्मिएका द्रिस उकाबीर भएको बताइन्छ।  हमलाको चौतर्फी निन्दा गरिएको छ।

घटनाका प्रत्यक्षदर्शी एक नेपाली यसो भन्छन्:

झन्डै एक दशकदेखि स्पेन बस्दै आएका बाग्लुंग गल्कोट स्थायी घर भएका रामु चालीसे घटनास्थल नजिकै रहेको एक रेष्टुरेन्टमा  काम गर्दै आएका छन्। बिहीबार अपरान्ह अर्डर गरेको खाना ग्राहक समक्ष पुर्याएर रेष्टुरेन्ट फर्कंदै गर्दा यस्तो भएको भन्दै घटना बारे चालीसे यसो भन्छन्।

‘ म राम्बलासमा कोलम्बसतिर बाटो कातोलोनियातर्फ जाँदै थिएँ। अर्डर भएको खाना छोडेर फर्कंदै, काइया सान्ट पाउ नजिकै, एउटा सेतो भ्यान सडकतिर गुड्न छोडेर, मान्छे हिँड्ने फराकिलो बाटोतिर बढेको देखें। किन यसो गरेको होला भनेर एकछिन वाल्ल परें । तर, कतैतिर मोड्ने होला भन्ने ठानेर चासो नराखी अगाडि बढे। तर, त्यसको केही सेकेण्डमा नै ठूलो हल्लाखल्ला सुनियो। मान्छेहरु चिच्याउन थालेरुवाबासी चल्यो। मैले फर्केर हेर्दा मान्छेहरु सबै लडेका थिए, कोही भागाभाग गर्दै थिए। डोजर लगाएजस्तै गरी सयौं मान्छेहरुलाई कुल्चेर गाडी निस्किसकेछ।

आफैंले चलाएको स्कुटर रोकेर घटनास्थल नजिकै आईहालें। उठ्न सक्ने मान्छेहरू भागाभाग गर्दै थिए। उठ्ने नसक्नेहरु रक्ताम्य बन्दै लडेका थिए। त्यसमध्ये भर्खरका युवतीहरु टाउकोबाट रगत बगिरहेका अवस्थामा पल्टिएका थिए। लाग्छ, उनीहरू स्कुल वा कलेज भ्याकेसनमा बार्सिलोना घुम्नका लागि आएको हुनु पर्छ। कतिपय रगतले पोतिएका आफन्त एवं परिवारलाई अंकमाल गर्दै सहयोग मागिरहेका थिए।

राम्बलासमा दुईतिर गाडी हिँड्ने साना सडकहरु, तर बिचमा मान्छे हिड्ने खुल्ला फराकिलो बाटो छ। त्यही भएकाले पनि आतंककारीले ठूलो भीडमा भ्यान जोताएर ठूलो नोक्सान पुर्याउने योजना बनाएको प्रष्ट देखिन्छ। दैनिक हजारौं मान्छे ओहोर दोहोर गर्ने राम्बलासमा हिँड्ने बाटोमा नै थुप्रै फूल दोकान र साना- साना स्टलहरु पनि छन्। त्यहाँ प्राय: स्थानीयहरुले काम गर्ने हुँदा केही स्पेनिसहरु पनि शिकार बनेको जस्तो लाग्छ। तर, धेरैको संख्यामा स्पेन बाहिरका विदेशी पर्यटकहरु नै परे कि बन्ने मेरो अनुमान छ।

घटनास्थल नजिकै गस्तीमा केही पुलिसहरु पनि थिए। केही मिनेटमा त जता हेरे पनि पुलिस नै पुलिस देखिन थाले। एम्न्बुलेन्सका आबाजहरु सुनिए। सुरक्षाकर्मीले घटनापछि वरपरका पसल, क्याफे, रेष्टुरेन्टहरु सबै बन्द गराए। सबैलाई सुरक्षित गन्तव्यमा पुर्याउने र घाइतेहरुलाई अस्पताल लैजान थाले।

मेरो काम गर्ने रेष्टुरेन्ट घटनास्थलबाट नजिकै रहेकाले त्यतैतिर लागे। आफ्नो चिनजानका रहेका ५-७ जना नेपालीहरु पनि त्यतै काम गर्ने हुनाले सम्पर्क गर्न थाले। कतिपयको साँझपख काम रहेछ, त्यसैले पनि घटनाबाट जोगिए। सुने अनुसार अन्य नेपालीहरुले त्यतै वरपर काम गर्छन् । तर, हालसम्म त्यस्तो हताहतको खबर भने सुनिएको छैन। अमूल्य संसारबाट धेरै

सर्वसाधारणले विदाइ लिइरहेको आफ्नै आँखाले देख्नुपर्यो, धेरै ठूलो दुख र पीडा भइरहेको छ।

सबै नेपालीहरु सुरक्षित छन् : एनआरएनए स्पेन

बार्सिलोनामा आतंककारी हमला हुँदा गर्दागैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको बैठक चलिरहेको थियो। देशमा बाढीपीडितहरुका लागि संकलित रकम कसरी पठाउने बारे छलफल भइरहेका बेला यस्तो घटना भएको छ ।

घटनापछि तत्कालै एनआरएन स्पेनको कार्यलयबाट नै त्यस वरपर रहेका नेपालीहरुसँग सम्पर्कको प्रयास भएको संघले जनाएको छ। लगत्तै संघका अध्यक्ष चिन्तामणि सापकोटाले घटनाप्रति दुख व्यक्त गर्दै सबै नेपालीहरु सुरक्षित रहेको सूचना जारी गरेका छन्।

बार्सिलोनामा मात्रै  झन्डै ४ हजार नेपालीहरुको रहेको अनुमान छ। प्रमुख पर्यटकीय क्षेत्र भएकाले पनि यहाँस्थित नेपालीहरु सानासाना पसलदेखि रेष्टुराहरुका काममा समेत व्यस्त हुने गरेका छन्। उनीहरूमध्ये कोही हताहत भए नभएको बारे बुझ्ने प्रयासलाई भने संघ संस्थाहरुले जारी राखेका छन्।

राम्बलास किन पर्यो निशानीमा ?

राम्बलास बार्सिलोनाको एक प्रमुख सडक हो। दुवैतिर वृक्ष रोपेर वीचमा मान्छे हिँड्ने पैदल स्थल बनाएकाले पनि पर्यटकहरुका लागि यो ठाउँ नौलो र लोकप्रिय मानिन्छ। कातालोनिया सेन्टरदेखि कोलोम्बस स्मारकसम्म १\२ किलोमिटरको दुरीसम्मको यो पैदल सडकमा हजारौं मानिसहरु ओहोर दोहोर गर्ने गर्छन्।

ठूलो भिडभाड भएकाले पनि लाम्बलासलाई आतंककारीले निशाना बनाएको सोझै अनुमान गर्न सकिन्छ। बिशेष गरी जुलाई र अगष्टको महिनामा बार्सिलोनामा पर्यटकहरु ठूलो संख्यामा आउने हुँदा पनि राम्बलासमा अहिले ठूलो भिड बढेको छ।

के छ राम्बलासको इतिहास ?

स्पेनिस एक प्रसिद्ध कवि फेडेरीको गार्सियाले एक पटक भनेका थिए, “लाम्बलास दुनियाँको एउटा मात्र यस्तो सडक हो, जसलाई म कहिल्यै टुंगाउन चाहान्न।” तर, आतंककारी हमलाबाट त्यही ऎतिहासिक महत्व बोकेको राम्बलासलाई सिध्याउने दुष्प्रयास गरिएको छ।

सन् १३७७ ताका नै यसको निर्माण सुरुवात मानिए पनि सन् १४४० मा आएर मात्र यो बिस्तारै सडकको रुपमा परिणत भएको थियो। त्यसको केही शताब्दीमा नै राम्बलास बार्सिलोनाको केन्द्रको रूपमा स्थापित बन्यो। त्यसताकादेखि नै यहाँ बिभिन्न चाडहरु मनाउन तथा बजारका लागि प्रयोग गरिएको इतिहास छ।

सचेत रहौं, घटना पुन: दोहोरिन सक्छ

फ्रान्स, जर्मनी, र बेलायतको लण्डनमा भएका आतंककारी हमलाहरु मध्ये केही ठाउँहरुमा भने लगत्तै सोही प्रकारका घटनाहरु दोहोरिएका थिए। बार्सिलोनामा पर्यटक आगामनको समय भएकाले पनि भिडभाड हुने स्थानहरुमा निकै सजक हुन जरुरी छ।

विशेष गरी बिमानस्थल, भूमिगत रेलवे स्टेशन, फुटबल रंगशालामा तथा समुन्द्री किनारामा मानिसहरुको ठूलो भीड लाग्ने हुँदा यस्ता ठाउँहरुमा पुग्दा बेलैमा सजक हुन जरूरी छ।

घटनास्थलको तस्वीर सौजन्य:रामु चालिसे 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment