Comments Add Comment

वाईसीएललाई गृहमन्त्रीको आह्वान-गुण्डागर्दीविरुद्ध हातेमालो गरौं

अपराध र अनियमितताको सूचना दिएर सहयोग गर्न आग्रह

३ भदौ, काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले गुण्डागर्दी र अपराध नियन्त्रण गर्ने गृह प्रशासनको अभियानमा हातेमालो गर्न युवाहरुलाई आह्वान गरेका छन् । आफू देशमा निःस्वार्थ शान्ति सुरक्षा कायम गर्न क्रियाशील रहेको भन्दै उनले गुण्डागर्दी, अनियमितता र अपराधको सूचना दिएर सहयोग गर्न युवाहरुलाई आग्रह गरे ।

वाईसीएल नेपालको एकताको दोस्रो राष्ट्रिय सम्मेलनलाई शनिबार कोटेश्वरमा सम्बोधन गर्दै मन्त्री शर्माले गुण्डागर्दी र अपराधविरुद्ध आफूले ल्याउन लागेको ‘क्लिन काठमाडौं’को अभियानमा युवाहरुको साथ पाउने विश्वास व्यक्त गरे ।

‘के तपाईंहरु क्लिन काठमाडौं बनाउन कुचो समात्न तयार हुनुहुन्छ ?’ मन्त्री शर्माले प्रश्न गर्दै भने, ‘यदि कुचो समात्न तयार हुनुहुन्छ भने तपाईंहरुले युवा खोज्ने होइन, युवाहरु तपाईको संगठन खोज्दै आउनेछन् । वाईसीएलको संगठनमा उभार आउनेछ ।’

अहिले विकृति र विसंगति हटाउने अवसर आएको भन्दै उनले भने, ‘मलाई अनियमितताको सूचना दिनुस् म नियन्त्रण गर्छु । त्यसलाई ठीक पार्ने सरकार र संयन्त्र हामीसँग छ । तपाईं युवाहरुले साथ दिनुस् । हामी मिलेर जनताको अझै धेरै सेवा गरौं ।’

वाईसीएललाई वैकल्पिक शक्ति बन्न सुझाव

उनले वाईसीएल वैकल्पिक शक्तिको रुपमा आउनुपर्ने धारणा पनि राखे । त्यसका लागि संगठनको नयाँ फर्मेसन बनाउन र जुझारु नेतृत्व चयन गर्न मन्त्री शर्माले सुझाव दिए ।

आर्थिक समृद्धि र विकासको एजेण्डा बिनाको संगठनको अब काम नहुने भन्दै उनले त्यसैअनुसारको योजना र कार्यक्रम बनाउन वाईसीएललाई सुझाव दिए । ‘पार्टीले दुई चार पैसा दिएर कार्यकर्ताको संरक्षण हुँदैन । योजना र कामले पार्टीपंक्तिको संरक्षण गर्न सकिन्छ,’ मन्त्री शर्माले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment