Comments Add Comment

कलंकी-कोटेश्वर सडक विस्तार सुस्त, अन्डरपासको काम रोकियो


८ भदाै, काठमाडौं । चक्रपथको कलंकी-कोटेश्वर सडकखण्ड आउँदो असारभित्रै ८ लेनमा विस्तार गर्ने भनिए पनि काम भने सुस्त देखिएको छ । भर्खर ५० प्रतिशत काम सकाएको आयोजनाले अबको ११ महिनामा बाँकी अाधा सक्ने महत्वकांक्षी लक्ष्य लिएको छ ।

कोटेश्वर-एकान्तकुना सडक ८ लेनमा सञ्चालनमा आएपनि अझै ढल तथा सडक पेटी ब्यवस्थापन लगायतका काम गर्न बाँकी नै छ ।

आयोजना अन्तरगत कलंकीमा अण्डरपास-वेको चार महिनादेखि काम रोकेर राख्दा त्यहाँको सवारी व्यवस्थापन लामो समयदेखि प्रभावित छ भने सर्वसाधारणले लामो जाम खेप्नुपर्ने अवस्था अझै लम्बिने देखिएको छ ।

कलंकी-कोटेश्वर सडक विस्तार आयोजनाका प्रवक्ता निरञ्जन शर्माले आगामी असारसम्म कलंकीबाट कोटेश्वरसम्मको सडकखण्डको सबै काम सकिने दावी गरे ।

‘गाह्रो काम जति सबै सकिसक्यौं । अब सहज कामहरु बाँकी छन्’ शर्माले भने ‘ अण्डरपासको एकतर्फको पाइलिङ सकिसक्यौ भने अर्कोतर्फको पाइलिङ वर्षा थामिनासाथ ठेकेदारले सुरु गर्छ ।’

यो सडकखण्डमा चार लेनको प्रमुख सडकसहित दुईतर्फ दुई-दुई लेनका सर्भिस सडक र साइकल ट्रयाक निर्माण हुँदैछ । यस्तै, सडकको दायाँबायाँ फुटपाथ र पब्लिक बस स्टप पनि निर्माण हुनेछ । अब यो सडकखण्ड ३८ दशमलव पाँच मिटर फराकिलो बन्दैछ ।

विस्तारको क्रममा रहेको कोटेश्वर-कलंकी खण्डको पहिलो ५ किलोमिटर सडकखण्डमा ८ लेनमा नै सवारी गुड्न सुरु भइसकेको छ ।

अहिले विस्तारको कामका कारण हिलाम्य बनेको यो खण्ड आगामी असारपछि भने भक्तपुरको ८ लेनभन्दा कम्तिको नहुने दावी चक्रपथ विस्तार आयोजनाको छ ।

विस्तारको काम सकिएपछि चक्रपथको कोटेश्वर-कलंकी सडकखण्ड आकर्षक मात्रै हुने छैन, यसले अब विस्तार हुने चक्रपथको नमुना स्वरुप पाउने शर्माले बताए ।

आगामी असारपछि सो सडकखण्डको क्षेत्रमा अहिले उडिरहेका धुलो निमिट्यान्न हुँदा स्थानीय र यात्रुहरुलाई सहज हुने दावी सरकारको छ ।

अण्डरपासको काम रोकियो

कलंकी-कोटेश्वर सडक विस्तारको काम चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनले गरिरहेको छ । अहिले यो सडकखण्ड अन्तरगत नै कलंकीमा अन्डरपास-वे निर्माणका लागि पनि काम भइरहेको छ । तर, बर्षामा काम गर्न सम्भव नहुने भन्दै काम रोकिएको अवस्था छ ।


कुल ८ सय मिटर लामो अन्डरपासमध्ये अहिले बल्खुतिरको भागमा अन्डरपास छेड्न पाइलिङको काम वैशाख नलाग्दै सकिएको थियो । कलंकी चोकबाट बल्खुतिर ४ सय मिटरमा पाइलिङ सकिएको हो । सांघाईले अन्डरपासको निर्माण सन् २०१८ को जुलाई अगावै सक्ने लक्ष्य लिएको छ ।

अब सितापाइलातिर ४ सय मिटर पाइलिङको काम सुरु गर्नुपर्नेमा त्यो रोकेर राखिएको छ। कलंकी क्षेत्रमा गाडीको अत्यधिक चाप हुने भएकाले त्यसलाई व्यवस्थित गर्न भूमिगत मार्ग पनि बनाइँदैछ ।

बल्खुबाट सीतापाइलातिर जाने गाडीहरु अन्डरपास बनेपछि भूमिगत रुपमा सिधै जान्छन्, जसबाट अहिले कलंकीमा लामो समय रोकिनुपर्ने बाध्यता हट्ने छ ।

त्यस्तै थानकोटबाट सोल्टीमोड चोकतिर जाने गाडीहरु पनि अब कलंकीको जाममा फस्नु पर्दैन । यद्यपी यो अन्डरपासको उपयोग भने चक्रपथ विस्तार पूर्ण भएसँगै हुनेछ । काम सुस्त हुँदा यसको काम समयमै सकिनेमा अाशंका छ ।

बल्ल आधा काम

भूकम्प र नाकाबन्दीका कारण यो सडक विस्तार काम सम्पन्न हुनुपर्ने अवधि १ वर्ष लम्बिएको थियो । सुरुवातको सम्झौतामा २०१७ जनवरीसम्म काम सम्पन्न गर्ने भनिए पनि अहिले सडक विस्तार काम सक्नुपर्ने अवधि एक वर्ष लम्बिएको छ ।


२७ किलोमिटर चक्रपथमध्ये १० दशमलव ३९ किलोमिटर अन्तर्गतको यो सडकखण्ड विस्तारपछि ८ लेनको हुनेछ । ०७० साल भदौदेखि विस्तार कार्य थालिएको यो सडकखण्डमा समग्रमा अहिलेसम्म आधा मात्रै काम सकिएको छ ।

अर्को असारसम्म म्याद थपिएको आयोजनालेय ही गतिमा काम गरे निर्धारित समयमा काम नसक्ने देखिएको छ ।

यसमा चीन सरकारले झण्डै ५ अर्ब रुपैयाँ खर्च गर्दैछ । सडक सुधारका लागि नेपाल सरकारको १ अर्ब रुपैयाँ खर्च भएको छ ।

आकाशे पुल बन्दै

अहिले यो खण्डमा विभिन्न स्थानमा पैदलयात्रुलाई बाटो काट्न चिनियाँ ठेकेदारले बनाउने आकाशे पुल निर्माणको पनि सकिएको छ । चिनियाँ ठकेदारले ३ वटा पुल बनाएको छ ।

कोटेश्वर, ग्वार्को र बागडोलमा आयोजनाले नै आकासे पुल बनाएको हो । अब थप कुसुन्ती र बल्खुमा पनि पुल बनाउन काम गर्न लागिएको उनले बताए ।

सडक विभागले पनि महालक्ष्मीस्थान, एकान्तकुना र खसीबजारमा आकोशपुल बनाउन लागेको छ ।

पुलको काम सकियो

कलंकी-कोटेश्वर खण्डमा ४ वटा मोटरेबल पुलको निर्माण सकिएको छ । पुरानो पुलमा लेन थपेर पुललाई सडकको चौंडाइअनुसार विस्तार गरिएको छ । पुरानो पुलको पनि मर्मत गरिएको छ ।

कंलकी खसीबजार, बागमती पुल, बल्खु खोला र बालकुमारीस्थित मनोहरामा मोटरेबल पुल निर्माण सम्पन्न भएको छ ।’ पुलको काम १०० प्रतिशत सकिसक्यो,’ प्रवक्ता शर्माले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment