Comments Add Comment

राजा महेन्द्रले पनि खाए हाम्रा पाउरोटी !

नवीन अर्याल

१३ भदौ, काठमाडौं । राजधानीका बासिन्दाले ‘कृष्ण पाउरोटी’ को नाम धेरै पहिलेदेखि सुन्दै आएका छन् । नाममात्रै होइन, कमलपोखरीमा अवस्थित कृष्ण पाउरोटीको स्वादसमेत धेरैले चाख्दै आएका छन् । काठमाडौंमा पाउरोटी उद्योगहरु नभएका बेला आजभन्दा ६५ वर्ष पहिल्यै स्थापना भएको यो उद्योग र पाउरोटीको कथा भने निकै रोचक र आरोह-अवरोहपूर्ण छ । जसका नाममा पाउरोटी चिनियो, उनले विदा लिइसकेका छन् र छोरा, नाति, नातिनाले अहिले कृष्णबहादुरको बिँडो थामिरहेका छन् ।पाउरोटी नै नदेखेका नेपालीलाई पाउरोटी खान सिकाउने र पाउरोटी संस्कार बसाल्ने स्व. कृष्णबहादुर राजकणिर्कारले वि.सं २००५ सालमा कमलपोखरीस्थित आफ्नै घरमा पाउरोटी उद्योग स्थापना गर्नुभएको हो । ghanashyam-karnikar

 बुबा कृष्णबहादुरले स्थापना गरेको हुनाले उद्योगको नाम कृष्ण पाउरोटी भण्डार बन्न पुगेको कृष्ण पाउरोटी प्रालिका अध्यक्ष घनश्याम राजकणिर्कार बताउनुहुन्छ । घनश्याम कृष्णबहादुरका कान्छा छोरा हुनुहुन्छ, जसले आफ्ना बुबाको पेशालाई निरन्तरता दिइरहनुभएको छ । अहिले राजधानीमा बस्ने अधिकांशको जिब्रोमा ‘कृष्ण पाउरोटी’ झुण्डिएको छ ।

लालदरबारदेखि कोलकाताको अंग्रेजी ब्रेकरीसम्म

krishnaraj-karnikar
स्वर्गीय कृष्णवहादुर राजकर्णिकार

जिजु बाजेका पालादेखि नै कृष्ण बहादुरको परिवार जिलेवी, स्वारी, हलुवा लगायतका मिठाइ बनाउने काममा संलग्न थियो । थापाथली दरबारमा जंगबहादुरलाई जिजुबाजे गजराजले मिठाई बनाई खुवाउने गर्थे । ‘गजराजको निधनपछि उहाँको जेठो छोरा अर्थात मेरा बाजे हीरामान सिंहले वीरशमशेरलाई मिठाई बनाएर खुवाउने काम गर्नुभयो’ कम्पनीका अध्यक्ष घनश्यामले अनलाइनखबरसँग भन्नुभयो ।

हिरामानको मृत्युपछि कृष्णबहादुर पनि वीरशमशेरको लालदरबारमै काम गर्न थाल्नुभयो । त्यसबेला लालदरबारका स्वामी इन्दु शमशेर थिए । ‘जुद्ध शमशेरले सी क्लासका राणाहरुलाई बाहिर धपाउने क्रममा इन्दु शमशेरलाई बडाहाकिम बनाइ २००० सालतिर इलाम धपाएपछि बुबा कृष्णबहादुर हामीलाई छाडेर उनीसँगै इलामतिर लाग्नुभयो ।’- घनश्याम भन्नुहुन्छ ।

घरपरिवार सबै त्यागेर इलामतिर लागेका कृष्णबहादुरलाई इन्दु शमशेरले नराम्रोसँग झुक्याएपछि उहाँ भारतको कोलकातातिर हानिनुभयो । घनश्यामका अनुसार कृष्णबहादुरको इमान्दारिताको प्रशंसा गर्दै इन्दु शमशेरले तराईको रौतहटतिरका ५० बिगाहा जग्गा बकस दिने भने पनि पछि ज्वाइँ तपेन्द्रबहादुर शाहलाई दिएपछि खिन्न भएर उहाँ कोलकाता हानिनुभएको हो ।

२००२/२००३ सालमा कोलकाता हानिएपछि कृष्णबहादुरको जीवनले नयाँ मोड लियो । कोलकातामा बुवा कृष्णबहादुरले त्यतिबेलाको प्रख्यात अंग्रेजी बेकरी कम्पनी फर्पुजमा पाउरोटी बनाउन सिक्नुभयो । इन्दु शमशेरले चित्त दुखाएकै कारण बुवा कृष्णबहादुरले पाउरोटी बनाउन सिक्ने अवसर पाएको घनश्यामको भनाई छ । यही कारण नेपालीहरुले पहिलोपटक पाउरोटी खाने मौका पाए ।

विदेशको सीप आफ्नै घरमा

वि.सं. २००४ सालतिर पाउरोटी बनाउने सीप लिएर कोलकाताबाट नेपाल फर्किएका कृष्णबहादुरले विसं २००५ सालमा कमलपोखरीमा रहेको आफ्नै घरमा पाउरोटी उद्योग खोल्नुभयो । घनश्यामका अनुसार त्यसबेला पाउरोटी फुलाउने ‘इष्ट’ नभएकाले  कृष्णबहादुरले ‘हब्स’ बाट पाउरोटी फुलाउने काम गर्नुहुन्थ्यो । ‘हब्स’ एक किसिमको झारपातलाई पानीमा उमालेर बोतलमा राखिन्थ्यो । यो हेर्दा सेतो झोल हुँदा त्यसबेलाका कट्टर बाहुनहरुले पाउरोटीमा जाँड मिसाउँदो रहेछ भनि हल्ला फिजाउँथे । त्यसैले, ‘७ जना छोराछोरीका बुबा कृष्णबहादुरले त्यतिबेला ‘चोखो, शुद्ध, ताजा पाउरोटी’ नाम लेखेर साइनबोर्ड राख्नुभएको थियो’ घनश्यामले बताउनुभयो ।

कृष्णबहादुरले पाउरोटी पसलमै चिया नास्ताको समेत व्यवस्था गरेका थिए । जहाँ चिया र पाउरोटी खाँदै वी.पी. कोइरालाले राजनीतिका कुरा गर्ने गरेको घनश्याम बताउनुहुन्छ । वी.पी र कृष्णबहादुरको राम्रो हेमचेम भएको हुँदा वी.पी. पसलमा आइरहनुहुन्थ्यो । त्यतिबेला दाउरा प्रयोग गरिएको परम्परागत भट्टीबाट पाउरोटी बनाउने काम हुन्थ्यो । परम्परागत भट्टीबाट पाउरोटी बनाउँदा धेरै बनाउन पनि नसकिने हुँदा बुवाले २०१४/०१५ सालमा बेलायतबाट मिक्सर र ओभन मगाउनुभयो । ‘दुर्भाग्य मेसिन नेपाल पनि भित्रिने बुवाको मृत्यु पनि हुने सँगसँगै भयो । बुवाले मेसिन देख्नुभयो, तर फिटफाट गरेको देख्नुभएन’- घनश्यामले भावुक हुँदै बताउनुभयो ।

महेन्द्रले पनि खाए कृष्ण पाउरोटी

‘बुवाको निधनपछि ४ दाजुभाइ मिलेर साझेदारीमा ‘कृष्ण पाउरोटी भन्डार’ दर्ता गरी चलाउन थाल्यौं,’ घनश्याम भन्नुहुन्छ, ‘त्यतिबेला राजा महेन्द्रले पनि हाम्रो पाउरोटी किनेर खानुहुन्थ्यो, राजाले पनि हाम्रो पाउरोटी खान्छन् भन्ने सुन्दा निकै गर्व महशुस हुन्थ्यो ।’ ‘घनश्याम पुरानो कुरा स्मरण गर्दै भन्नुहुन्छ,- एकपटक राजाको जन्मोत्सवमा हामीले केक बनाएर पठाका थियौं, हाम्रो काम देखेर राजाले खुशी हुँदै हामीलाई धन्यवाद दिनुभयो ।’krishna-pauroti

कृष्ण पाउरोटीको थप कथा सुनाउँदै उहाँले अनलाइनखबरसँग भन्नुभयो- ‘०२८ सालतिर एनआइडीसीबाट २०/२१ लाख ऋण लिएर उद्योगलाई थप विस्तार गरियो । त्यतिबेला घनश्याम पाउरोटी बनाउने तालिम लिन जर्मनी जानुभएको थियो । उहाँले त्यहिँबाट पाउरोटी बनाउने मेसिन छानेर ल्याउनुभएको थियो । उहाँका अनुसार त्यतिबेला मेसिनलाई मात्र १६ लाख रुपैयाँ परेको थियो ।

उहाँ भन्नुहुन्छ- ‘त्यतिबेलासम्म नेपालमा कृष्ण पाउरोटीको एकाधिकार थियो । त्यसपछिका वर्षहरुमा अन्य पाउरोटी उद्योग खुल्न थाले । ०३० सालमा दाजुभाई छुटि्टसके पछि कृष्ण पाउरोटीलाई प्रालिमा रुपान्तरण गरियो । त्यतिबेला सबै पाउरोटी राजधानीमै खपत हुन्थ्यो । गाडी नभएका कारण बाहिर लैजान सक्दैनथ्यौं । त्यतिबेला दिनमै ३०/३५ हजारको बिक्री हुन्थ्यो ।’

अर्थशास्त्रमा ०२४ सालमा स्नातकोत्तर गरेका घनश्याम त्यसपछि पुरै समय पाउरोटी उद्योगमै संलग्न हुनुभयो । ‘दाजुहरु पढेलेखेका थिएनन्, त्यही भएर बुवाको बिँडो थाम्न पनि म पाउरोटी उद्योगमै लागेको हुँ ।’ उहाँले भन्नुभयो । ‘प्रालि दर्ता गर्दा २६/२७ लाख रुपैयाँ पुँजी थियो । हाल २०६५ सालमा पार्टनरका रुपमा काम गरिरहेका भतिजासँग कुरा नमिलेको हुँदा कृष्ण पाउरोटी पनि खस्कँदै गयो ।

घनश्यामका अनुसार अहिले त्यो बेलामा जस्तो कारोबार हुँदैन । विदेशबाट ल्याएका मेसिन पनि पुराना भइसकेका छन् । ‘हाल अन्य कम्पनी थपिदै गएपछि प्रतिस्पर्धा बढ्न थाल्यो । कृष्ण पाउरोटी आन्तरिक कलहमा रुमलिन थालेपछि अन्य पाउरोटीसँग हाम्रो पाउरोटीले प्रतिस्पर्धामा गर्न सकेन । धेरै पछि खुलेका अन्य पाउरोटी उद्योगले ठूलो प्रगति गरिसके, तर नेपालीलाई पाउरोटी खान सिकाउने कृष्ण पाउरोटीले व्यवसाय विस्तार गर्ला भन्दा झन खस्कँदै गइरहेको छ’ घनश्याम दुखेसो पोख्नुुभयो । बिक्री खस्कँदै गएपनि कृष्ण पाउरोटीको गुणस्तर भने कहिल्लै नखस्किएको उहाँको दाबि छ ।

घनश्यामलाई यतिबेला उहाँकी छोरीहरु प्रज्ञा र सृष्टिले सघाउनुहुन्छ । छोरीहरुले बैंकमा अफिसर लेभलको काम छाडेर बाउ बाजेको बिँडो थाम्न पाउरोटी कारोबारमा संलग्न भएकोमा घनश्याम सन्तुष्ट हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘अहिले पनि कृष्ण पाउरोटी चर्चामै छ । कतिपय व्यवसायीहरु हाम्रो ब्राण्डमा काम गछौर्ं भन्छन्, तर मैले मानेको छैन ।’

हाल उहाँले पाउरोटीको अलावा विभिन्न थरिका केक, कुकिज, पेष्ट्रिज, डोनट, मफिन आदि बेकरी परिकारहरु बनाउने गर्नुहुन्छ ।

व्यवसाय सँगसँगै साहित्य रचना

घनश्याम व्यवसायीमात्र नभएर चर्चित नियात्रा साहित्यकार समेत हुनुहन्छ । उहाँले १२/१५ वटा देशहरुको भ्रमण गरिसक्नुभएको छ भने १० वटा कृति प्रकाशित गरिसक्नुभएको छ । थुप्रै सम्मान र पुरस्कार पाउनुभएका उहाँ विभिन्न संघसंस्थामा आवद्ध हुनुहुन्छ । जीवनमा जे जति गरियो त्यसमा चित्त बुझाएर हाँसी हाँसी जीवन विताउने प्रयत्नमा लागेको सुनाउनुभयो । ghanashyam-karnikar-2उहाँले भन्नुभयो- ‘ईश्वरले जे जति दिनुभएको छ, त्यसैमा पूर्ण सन्तोष लिने गरेको छु, धेरै महत्वकांक्षी हुनबाट बच्न आफैले आफैलाई ब्रेक लगाउने गर्छु, जीवनमा धनको आवश्यकता भएपनि यसैलाई सबै थोक हो भनेर कहिल्यै पछि लागिन र अब पनि लाग्दिन ।’ उहाँले समाज र राष्ट्रबाट पाएको मायालाई धनभन्दा उपल्लो दर्जामा राख्ने गरेको बताउनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment