Comments Add Comment

दक्षिण एशियालाई आर्थिक एकीकरण गर्ने संकल्पसहित सार्क वैठक सम्पन्न

१४ भदौ, कोलम्बो । दक्षिण एशियालाई आर्थिक एकीकरण गर्ने संकल्प गर्दै सार्क अर्थमन्त्रीहरुको छैठौं बैठक श्रीलंकाको कोलम्बोमा सम्पन्न भएको छ । उनीहरुले विश्वले झेल्नु परेको आर्थिक संकटबाट सार्क क्षेत्रलाई जोगाउन मिलेर जाने प्रतिवद्धता समेत दोहोर्याएका छन् । बैठकले बढ्दो डलर मूल्यले स्थानीय मुद्रामा देखिएको अवमूल्यनका विषयमा चिन्ता प्रकट गर्यो । यसैगरी उर्जा संकट र पेटोलियममा चढ्दो मूल्यका विषयमा पनि सहभागीहरुले आवाज उठाएका थिए ।

बैठकले दक्षिण एशियाली स्वतन्त्र व्यापार सम्बन्धी सम्झौता (साफ्टा) कार्यान्वयनलाई तीब्रता दिने निर्णय गरेको छ । जसअनुरुप भौतिक पूर्वाधार सम्बन्धी व्यापारमा रहेका अवरोध हटाउने, भन्सारका प्रक्रिया सरलीकरण गर्ने, पर्यटन, कृषिजस्ता विषयमा आपसी सहयोग बढाउने निर्णय भएको छ ।

DSCN3279

सामाजिक परियोजनामा लगानी गर्दै आएको सार्क लगानी कोषले अब आर्थिक तथा पूर्वाधार विकासमा लगानी बढाउने टुंगो समेत बैठकले लगाएको छ । सार्क विकास कोषको कोलम्बोमा बसेको बैठकले कार्यकारी अधिकृतको रिपोर्ट अनुमोदन गरी लेखापरीक्षक पनि नियुक्त गरेको छ । विगतका निर्णय कार्यान्वयन नभएकाप्रति सहभागीहरुले चासो प्रकट गरेका थिए । सार्कको बडापत्र अनुसार कुनै विषयमा एक राष्टले चित्त नबुझाएमा त्यो विषय अनुमोदन नहुने प्रावधान छ ।

अर्थमन्त्री शंकरप्रसाद कोइरालाले सार्क क्षेत्रको आर्थिक उन्नतिका लागि भौतिक पूर्वाधारको विकास जरुरी रहेको बताउनु भएको छ । सार्क अर्थमन्त्री स्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री कोइरालाले सडक, हवाई, रेल, जल यातायातमा लगानी बढाउन सके जनस्तर र व्यापारिक सम्बन्ध मजबुत हुने विश्वास व्यक्त गर्नुभयो ।

सार्क क्षेत्रमा उर्जाको प्रबल सम्भावना भएर पनि चरम संकट व्यहोर्नु परेको यथार्थ प्रष्ट पार्दै मन्त्री कोइरालाले भन्नुभयो, बढ्दो घरायसी तथा व्यावसायिक मागलाई प्राथमिकता दिएर बृहत र साझा अवधारणासाथ अघि बढ्न जरुरी छ ।

उहा“ले सन् २०२० सम्म सार्क राष्टबीच सीधा सम्बन्ध विस्तार गरी व्यापार बढाउन सामूहिक प्रतिवद्धता आवश्यक रहेको स्पष्ट गर्नुभयो ।

उहा“ले भन्नुभयो, गरिबी निवारण नै हामी सवैको साझा लक्ष्य हो । त्यसैले यसका लागि शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार र महिला सशक्तिकरणमा जोड दिइनुपर्छ । यसका साथै विज्ञान प्रविधिका क्षेत्रमा पनि ठोस लगानी जरुरी छ ।

बैठक शुरु हुनुअघि मन्त्रीहरुबीच सार्क र आपसी हितका विषयमा छुट्टाछुट्टै भेट भएको थियो । सार्क अर्थमन्त्री स्तरीय बैठकमा नेपालका तर्पmबाट अर्थमन्त्री शंकरप्रसाद कोइराला, अफगानिस्तानका डा. हजरत ओमार जाखिलवाल, बंगलादेशका अबुल माल ए मुहिथ भुटानका ल्याम्पो नामग्य दोर्जी, भारतका अर्थ राज्यमन्त्री नमो नारायण मीना, माल्दिभ्सका गभर्नर डा. फाजील नजिव र श्रीलंकाका डा. सरथ अमुनुगामाले प्रतिनिधित्व गर्नुभएको थियो । पाकिस्तानबाट भने सरकारी अधिकारी सहभागी थिए ।

बैठकले सन् २०१४ को अर्थमन्त्री र सचिवहरुको बैठक नेपालमा गर्ने प्रस्ताव अनुमोदन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment